प्रेमी–प्रेमिकाको प्रिय फूलः गुलाफ



त्रिचन्द्र श्रेष्ठ

प्रेमी–प्रेमिकाको प्रिय फूलः गुलाफ
प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ हरेक वर्षको १४ फेब्रुअरीका दिन मनाइने गरिन्छ। युवायुवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा केटीलाई रातो गुलाब दिएर प्रेम प्रस्ताव राख्ने गरिन्छ यो दिनमा।

फूलकी रानी, मायाको प्रतीक, सौन्र्दयको विम्ब इत्यादि नाम र उपमाबाट संसारैभरि माया, वाहवाह र तारिफ खाइ्रहेकी सुन्दरी फूल गुलाब अर्थात् ‘गुल–ए–अब’ बाट निर्मित गुलाब शब्दको अर्थ हो, ‘गुल’ अर्थात् फूल र ‘अब’ अर्थात् अब्बल अर्थात् सर्वोत्कृष्ट फूल। तर नाम बिगार्नै पर्ने नेपालीले भनिदिए ‘गुलाफ’। गुलाफ पैंगुवंशको वनस्पति हो। यसलाई अंग्रेजीमा ‘रोज’ भनिन्छ भने संस्कृतमा चारुकेशरा, कर्णिका, महाकुमारी, शतपत्री आदिका नामले चिनिन्छ।

धर्तीमा गुलाफको अस्तित्व कहिलेदेखि आयो भन्ने इतिहास खोतल्दा करिब ३ करोड ५० लाख वर्ष पुरानो गुलाफको अवशेष अमेरिकाको कोलोराडोमा फेला परेको छ। मानिसद्वारा सर्वप्रथम गुलाफको खेती क्यास्पियन समुद्रको नजिक उत्तरी पार्सिया र खाडीको फरिस्तानमा भएको अनुसन्धानकर्ताहरुले तथ्य पत्ता लगाएका छन्।

चिनियाँ बादशाहका पुस्तकालयमा गुलाफ विषयका धेरै पुस्तक थिए भनेर कन्फ्युससले ५५१ बीसीदेखि ४७९ बीसीमा आफ्नो बयानमा उल्लेख गरेको पाइन्छ। यस्तै २८६० बीसीमा मेसोपोटामियाका प्राचीन सुमेरियन्सले गुलाफका बारेमा ढुंगामा आकृति नै बनाएका थिए। यसले के पुष्टि गर्छ भने ५⁄६ हजार वर्षअघि नै मानवसभ्यताले गुलाफलाई उपयोगमा ल्याइसकेको कुरा उजागर गर्दछ।

गुलाफको फूललाई साहित्यकारले आफ्नो साहित्यमा भरपूर प्रयोग गरेको पाइन्छ। गुलाफको नाम लिएर उनीहरु कहिल्यै थाक्दैनन्। चर्चित नाटक ‘प्रेमपिण्ड’मा बालकृष्ण समले गुलाफप्रतिको अगाध आस्था दर्शाएका छन्। उक्त नाटकमा मुख्य पात्रले आफ्नी प्रेमिकालाई मृत्युपछि गुलाफसँग नछुट्टिने इच्छा प्रकट गरेका छन्– ‘प्यारी⁄ गुलाफको चितामा हामी जल्थ्यौं, जहाँ सुवासको धुवाँ मगमगाइरहन्थ्यो।’

ख्यातिप्राप्त लेखक, कवि तथा दार्शनिकका लागि गुलाफ प्रेरणाको स्रोत नै हो। जर्मनीमा रातो गुलाफको महत्व नेपालमा भन्दा बढी नै छ। त्यही भएर चर्चित कवि रोबर्ट बर्नसले आफ्नी प्रेमिकाको सौन्दर्यलाई गुलाफसँग तुलना गर्दौ लेखेका छन्– ‘मेरी प्रेमिका वर्षायाममा फक्रिने ताजा रक्तिम गुलाफजस्तै छिन्, बगैंचालाई ढकमक्क पार्ने त्यो गुलाफको बयान गरिसाध्य छैन।’

अर्का साहित्यकार एलिसन रिचर्डको एउटा उद्गार पनि सुन्दर छ– ‘मेरी मायालुको मुहार एउटा प्राकृतिक विविधता बोकेको बगैंचा हो, जहाँ गुलाफ र कुमुदिनीहरु लहरै फुलेका छन्।’ यस्तै प्रसिद्ध नाटककार सेक्सपियरलाई गुलाफको सौन्दर्यले मज्जाले पगालेको पाइन्छ। १६ औं शताब्दीतिर उनले लेखेका नाटकहरुमा गुलाफको प्रशंसालाई अनगिन्ती ठाउँमा समेटेको पाइन्छ। ‘कसैको फूलबारीमा जाँदा यदि गुलाफ देखिएन भने सारा बगैंचा अधुरो हुन्छ’, सेक्सपियरले अगाडि लेखेका छन्– ‘यदि बगैंचामा गुलाफहरु ढकमक्क फुलेका छन् भने संसार गुलजार लाग्छ।’
विश्वप्रसिद्ध कवि क्रिस्टिना रोजेटीले आफ्नो कविता ‘जब म मर्छु मेरो प्रियतम’ शीर्षकको कवितामा लेखेकी छिन्–
मेरो मृत्युपछि प्रियतम⁄
मेरो चिहानमा गुलाफको बोटहरु नरोप्नु
किनभने,
यिनका सुन्दर फूलले तिमीलाई बाँचुन्जेल मेरो सम्झना गराउनेछन्,
यिनले तड्पाउनेछन् र अनि रुवाउनेछन्।

आजको २१ औं शताब्दीमा गुलाफको फूल प्रणय दिवसमा प्रेम–प्रेमिकाबीच सबैभन्दा धेरै रातो रंगको गुलाफको फूल आदान–प्रदान हुन्छ। यो दिन विश्वभरि करोडौं डलरको गुलाफको फूलको व्यापार हुने गर्दछ। यो वर्षको प्रणय दिवसको लागि नेपालले पनि भारतबाट एक लाखवटा गुलाफको फूल आयात गर्न लागिएको र फूलको मूल्य ३० लाखदेखि ४० लाख रुपियाँ पर्ने फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिएका छन्। अन्य दिन र समयमा भन्दा पनि यस प्रणय दिवसका दिनमा गुलाफको फूलको महत्व प्रेमी–प्रमिकाबीच निकै घनिष्ट भएको आभास मिल्छ।

प्रतिक्रिया दिनुहोस्