कालिञ्चोक गाउँपालिका केन्द्रको विवाद कायमै



नेपाल समाचारपत्र
काठमाडौं
स्थानीय निर्वाचन भएको १० महिना पुग्न लाग्दा पनि दोलखाको कालिञ्चोक गाउँपालिकाको केन्द्र निर्धारण हुन सकेको छैन। बिनासोचविचार विगतमा अस्थायी केन्द्र तोकिँदा अहिले विवाद चुलिएको केही पक्षको भनाइ छ। विवाद चुलिँदै गएको कालिञ्चोक गाउँपालिकाको केन्द्रको विषयलाई लिएर सरोकारवालाबीच राजधानी काठमाडौंमा समेत बृहत् छलफल सम्पन्न भएको छ।

दोलखाका प्रतिनिधिसभा सदस्य पार्वत गुरुङको प्रमुख आतिथ्यमा शनिबार भएको छलफलमा कालिञ्चोक गाउँपालिकाका केही वडाध्यक्षसहित दर्जन वक्ताले भूगोल र जनसंख्यालाई आधार मानेर सबैलाई पायक पर्ने स्थानमा वैज्ञानिक ढंगले केन्द्र निर्धारण गर्नुपर्नेमा जोड दिए।

संघीयताको मूल उद्देश्य शक्ति, विधि र संरचनाको विकेन्द्रीकरण हो। यिनै कुरालाई आत्मसात् गरी केन्द्रको निर्धारण हुनुपर्ने माग वक्ताले गरे। विवाद, छलफलले नै उत्कृष्ट नतिजा ल्याउने बताउँदै प्रमुख अतिथिको आसनबाट प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले भन्नुभयो– ‘तर यसले द्वन्द्व निम्त्याउनु हुँदैन।’ सबै वडाका नागरिकलाई पायक पर्ने स्थानमा केन्द्र राख्न आफूले सहयोगी भूमिका निर्वाह गर्ने उहाँले प्रण गर्नुभयो।

अहिले अस्थायीरूपमा केन्द्र सञ्चालन हुँदै आएको सुनखानी भूगोल र जनसंख्याको आधारमा कालिञ्चोक गाउँपालिकाको केन्द्रमा नपर्ने, यो स्थान जिल्ला सदरमुकामको नजिक भएकाले त्यसै पनि विकासमा अग्रणि भएको, यस ठाउँमा वडा नं. १ का नागरिक आइपुग्न दुई वटा विशाल पहाड नै छिचोलेर आउनुपर्ने, त्यसैले कालिञ्चोक गाउँपालिकाको केन्द्र हरेक दृष्टिकोणले वडा नं. ४ र ५ मध्ये कुनै एकमा हुनुपर्ने आवाज अधिकांश वक्ताबाट उठेको थियो।भूगोल, जनसंख्या, सडक सञ्जाल, प्रशस्त सार्वजनिक जग्गा, प्रस्तावित संस्कृत ग्राम आदि धेरै कुरामा वडा नंं. ४ को खुरुले आसपासको क्षेत्र अथवा लापिलाङको ५ नं. वडामा केन्द्र निर्धारण गरिए सबैका लागि उपयोगी हुने धारणा वक्ताहरूको थियो।

प्रा. किरण पान्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष बाबुलाल थामी र वडा नं. ३ का वडाध्यक्ष निशान बुढाथोकीले कालिञ्चोक गाउँपालिकाको केन्द्र वडा नं. ३,४ र ५ मध्ये उपयुक्त स्थान खुरुले आसपासको थलारीमा ल्याउन भरमग्दुर प्रयास भइरहेको र यस कार्यक्रमले थप हौसला मिलेको बताउनुभयो। वडा नं. २ का वडाध्यक्ष नानीबाबु पान्डे र वडा नं. ४ का वडाध्यक्ष केशव ठकुरीले आफू आउन नसके पनि आफूहरूको समर्थन रहेको सन्देश पठाउनुभएको थियो।

कार्यक्रमलाई गाउँपालिकाका अगुवा सन्तोष पान्डे, केदार न्यौपाने, विवेक खड्का, केशव खड्का, पदम पाठक, लीला खतिवडा,पूर्ण पान्डे, पदम श्रेष्ठ, रोदना घिमिरे, चेतबहादुर खड्का, पुरुषोत्तम घिमिरे, हरि खतिवडा, गोपाल घिमिरेलगायतले सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्