पसल तथा होटलमा अखाद्य वस्तु छ्यापछ्याप्ती



नेपाल समाचारपत्र, भद्रपुर ।
झापाको भद्रपुर नगर क्षेत्रमा सञ्चालित पसल तथा होटलमा अखाद्य उपभोग्य वस्तु तथा फोहोर मैला फेला परेको छ । भद्रपुर नगरपालिका अन्तरर्गत रहेको चन्द्रगढी बजारमा रहेका किराना पसल तथा होटलमा गरेको बजार अनुगमनको क्रममा यस्तो फेला परेको हो ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक दिनेश ढुङ्गनाको नेतृत्वमा घरेलु तथा साना उद्योग शाखा भद्रपुरका उद्योग अधिकृत चन्द्र प्रसाद मिश्र, भद्रपुर नगरपालिका नासु शुसिल कर्ण,पत्रकार उत्तम नेपाल लगायतको टोलिले सोमबार चन्द्रगढीका नौ वटा पसल र पाँचवटा होटलमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा एस.एस स्विट र पशुपती स्टोर्स विना दर्ता सञ्चालनमा रहेको तथा भान्सा फोहोर राखिएकोले तत्काल सफा सुग्घर गरि तिनदिन भित्र दर्ता प्रक्रियामा जान निर्देशन दिइएको खाद्य निरीक्षक ढुङ्गनाले बताए । पशुपतिले स्टोर्सको नाममा होटल सञ्चालन गरिरहेको फेला परेको थियो ।

त्यसैगरि बावा मिष्ठान भण्डार,घोष होटल,शंतोष मिष्ठानमा होटलमा सरसफाइ नदेखिएको साथै खाद्य सामग्री अव्यवस्थित तरिकाले राखिएको अनुगमनको क्रममा फेला परेको उनले जनाए । टोलिले हाम्रो किराना,सुप्रिम स्टोर्स,प्रसाई फुर्टस एण्ड भेराइटिज,शिव स्टोर्स,रियाज स्टोर्स,सोनि स्टोर्स लगायतका पसलहरुवाट म्याद गुज्रिएका खाद्य वस्तु तथा भारतीय उत्पादित अखाद्य वस्तु एकै ठाउँमा राखेर बिक्रि बितरण गरिरहेको मूल्य सुचि नराखेको, पसल अव्यवस्थित रहेको फेला पारेको उद्योग अधिकृत चन्द्रप्रसाद मिश्रले बताए ।

पसलमा राखिएका विभिन्न बा्रण्डका भुजिया, पेय पदार्थ,विस्कुट, चक्लेटलाई समेत जफत गरि नष्ट गरिएको मिश्रको भनाइ छ । व्यापारी र उपभोक्ता सचेत नभएसम्म जतिनै पटक अनुगमन गरेपनि प्रभावकारी नभएको उनले बताए । घरेलु कार्यालयमा कर्मचारि, सवारी साधनको अभाव भइरहेकोले अनुगमनको लागि छुट्टै टोलि बनाएर अभियानकै रुपमा लिएर गएमा दुवै पक्ष सजग हुने उनले जनाए । बजारको क्षेत्र फराकिलो हुदै गएको तर अनुगमन गर्ने निकाय कमजोरी भएकोले व्यवसायीको मनोवल बढ्दै गइरहेको उनले बताए ।

अनुगमनलाइ निरन्तरता दिनु अनिवार्य देखिएको उनको बुझाइ थियो । अन्यको तुलनामा भारतीय सीमा क्षेत्रका बजारमा बढी अखाद्य वस्तु पाइने गरेको टोली संयोजक ढुङ्गनाको भनाई छ । बजार अनुगमन गर्ने भनि अकिार दिएपनि जनशक्ती र भौतिक सुविधा नभएकोले समस्या आउने गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्