वीरगन्जमा उपेन्द्र यादवको पुत्ला जलाइयो



कृष्णउदास खनाल, वीरगन्ज ।
प्रदेश नम्बर २ को मुख्यमंत्रीमा मुस्लिम समुदायका ब्यक्तिलाई बनाएको भन्दै हिन्दुवादी संगठनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरेका छन् ।

हिन्दुवादी संगठनले सोमबार वीरगन्जमा फोरमका अध्यक्ष यादवको पुत्ला जलाएका हुन् । विश्व हिन्दु परिषद अंकित ब्यानर र झण्डा सहित सोमवार बिहान घण्टाघर चोकमा पुगेका करिब ३०र३५ जना हिन्दुवादीहरूले धर्मको नारा लगाउँदै फोरम नेपालका अध्यक्ष यादवको पुत्ला जलाएका हुन् ।

प्रदर्शनकारीहरूले हिन्दुविरोधी उपेन्द्र यादव मुर्दावाद, मुस्लिमलाई मुख्यमन्त्री बनाउन पाइँदैन जस्ता नारा लगाएर प्रदर्शन गरेका थिए । फोरम नेपाल र उसका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नम्बर २ को मुख्यमन्त्री मुस्लिम धर्मका व्यक्तिलाई बनाउन लागेको भन्दै विश्व हिन्दु परिषदले यादवको पुत्ला जलाएको प्रदर्शनमा सहभागी अजय कुमार कानुले बताए ।

फोरम नेपालले प्रदेश नम्बर २ को संसदीय दलको नेतामा पार्टीका राष्ट्रिय उपाध्यक्ष एवम् प्रदेश सांसद लालबाबु राउत गद्धीलाई चयन गरिसकेको छ । लालबाबु वीरगन्जकै स्थायीबासिन्दा हुन् । उनी, पर्साको क्षेत्र नम्बर १ ख बाट प्रदेशसभा सांसदमा निर्वा्चित भएका थिए । पुत्ला दहनको अगुवाइ गरेका विश्व हिन्दु परिषदको प्रदेश नम्बर २ का अगुवा ज्योतिलाल कलवारले प्रदेश नम्बर २ मा बहुसंख्यक हिन्दुमाथि कुठाराघात गर्दै फोरम नेपाल र यादवले मुस्लिम धर्मका मानिसलाई मुख्यमन्त्री बनाउने निर्णय गरेकाले विरोध प्रदर्शन गरिएको बताए ।

‘प्रदेश नम्बर २ हिन्दुहरूको बाहुल्य क्षेत्र हो, यहाँ मुख्यमन्त्री चलाउन सक्ने थुप्रै हिन्दुवादी नेता हुँदाहुँदै गैर–हिन्दुलाई ल्याएर हिन्दुमाथि शासन गराउने कुरा हामी मान्न सक्दैनौं’, कलवारले भने, ‘मधेस आन्दोलनमा एकजना मुस्लिम बाहेक बाँकी सबै ९५ जना हिन्दुहरूकै छोराहरू सहीद भएका छन् तर अहिले यादवले हिन्दुमाथि अन्याय गर्दैछन्, यदि यादवले हिन्दु विरोधी गतिविधी सच्याएनन् भने उनी र उनको पार्टी्बिरूद्ध हामी सशक्त आन्दोलनमा गर्छाैँ । फागुन २ गते मुख्यमन्त्रीको नियुक्ति हुन्छ भन्ने सुनेका छौँ, त्यो दिन वीरगन्जमा प्रदर्शन गर्छाै ।’

फोरम नेपाल पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मीले पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लालबाबु राउत गद्दीलाई मुख्यमन्त्री बनाउन गरेको निर्णय सामाजिक सदभाव र मेलमिलापलाई बलियो बनाउने कदम भएको भन्दै उक्त निर्णयको प्रशंसा भइरहेका बेला वीरगन्जमा हिन्दुवादीको नाममा धर्मवारे गरिएको प्रदर्शन निन्दनीय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्