अनमोल क्रेज, कृलाई ३ दिनमा ३ करोड ४० लाख



विदुर गिरी

त शुक्रबार अल नेपाल रिलिजमा आएको फिल्म कृले राम्रो क्रेज पाएको छ। राजधानीलगायत रिलिजमा आएका शहरहरुमा यो फिल्मले उत्साहजनक व्यापार गरेको छ।

विशेष गरी पछिल्लो समय युवा पुस्तामाझ चम्किएका अनमोल केसीका कारण कृले राम्रो क्रेजसँगै गतिलो व्यापार गरेको छ। अक्षयकुमार स्टारर बलिउड फिल्म प्याडम्यानसमेत कृका अगाडि कमजोर सावित भएको छ। शनिबार गोपीकृष्ण मुभिजको कृष्ण हलबाट कृले प्याडम्यानलाई विस्थापित गरिदियो। अष्टनारायण हलमा बिहानी शोदेखि रात्रिकालीन शोसम्म ४ वटै थिएटरमा कृ हाउसफुल रह्यो। त्यहाँ पनि प्याडम्यानलाई हटाएर दिनभर कृ प्रदर्शन गरिएको थियो। गोपीकृष्ण मुभिजको बिहानी शो कृले ४ वटा हल हाउफुल गराउन सफल भयो। अपराह्न सोही हलको आधा दर्जन थिएटरमा समेत कृकै दबदबा रह्यो। नेपाली फिल्मले पहिलोपटक एकसाथ आधा दर्जन थिएटर ओगटेको हल सञ्चालकले दाबी गरे।

अनमोलको क्रेज कतिसम्म देखियो भने उनले आफ्नो फिल्म चलेको हलमा पुग्न प्रहरी र निजी सुरक्षाकर्मीको सहयोग लिनुपर्यो। अनमोल शनिबार कृकी नायिका अदिती बुढाथोकीका साथ गोपीकृष्ण मुभिजमा पुग्दा दर्शकको थामिनसक्नु भीडका कारण ६ जना निजी सुरक्षाकर्मीका साथ जानुपरेको थियो भने अगाडि प्रहरीको भ्यानले सुरक्षा दिनुपरेको थियो। उनलाई दर्शकको भीडबाट बाहिर निकाल्न सुरक्षाकर्मीलाई समेत मुस्किल परेको थियो। दर्शक उनी सवार गाडीमै चढेपछि अनमोलले बाहिर निस्किएर अभिभावदन गरेका थिए। दर्शक भीडलाई सम्हाल्दै अनमोलले सबै मिलेर राष्ट्रियताको विषयमा ऐक्यबद्धता जनाउन आग्रह गर्दै राष्ट्रिय गान गाएका थिए। उनलाई दर्शकले पनि राष्ट्रिय गान गाएर साथ दिएका थिए। अनमोलले अष्टनारायण हलमा समेत पुगेर दर्शकप्रति आभार व्यक्त गरेका थिए।

आइतबार राजधानीको कमलपोखरीस्थित कुमारी हलमा आयोजित विशेष शोमा पनि अनमोल फ्यानबाट घेरिए। उनलाई नजिकबाट देख्न चाहने र उनीसँग तस्वीर खिचाउन चाहने युवती तथा किशोरीका कारण अनमोलको धेरै समय फ्यानलाई खुसी पार्नमै बित्यो। केही किशोरी र युवती त उनलाई समाएर निकै बेर रोएका थिए भने हातमा फुलको गुच्छा लिएका युवती र किशोरीहरू ‘अनमोल अनमोल’ भन्दै लामो समयसम्म चिच्याएर हुटिङ गरिरहेका देखिन्थे।

वितरक गोपाल कायस्थका अनुसार कृले शनिबार मात्रै २ करोड रुपियाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ। निर्माता सुवास गिरीका अनुसार फिल्मले शुक्रबारदेखि आइतबारसम्म अर्थात् ३ दिनमा ३ करोड ४० लाख रुपियाँ ग्रस कलेक्सन गरेको छ। सोमबारको रिपोर्ट भने आइसकेको छैन। राजधानीका सिंगल र मल्टिप्लेक्स हलमा फिल्मले शनिबार आक्रामक व्यापार गरेको थियो। हल सञ्चालकहरुले लामो समयपछि हलमा यस्तो क्रेज देखिएको बताए। राजधानीका क्यूएफएक्स, बिग मुभिज, एफक्युब, बीएसआर जस्ता मल्टिप्लेक्स हलमा पनि कृले शनिबार दिनभरि नै शतप्रतिशत व्यापार गर्न सफल भएको निर्मातामध्येका एक भुवन केसीले नेपाल समाचारपत्रलाई जानकारी गराए।

आइतबार आयोजित विशेष शोमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ। कसैले अनमोलको लुक्स र अघिल्ला फिल्मकै राम्रो भएको बताए भने धेरैजसोले उनको एंग्री लुक्सलाई पनि स्वीकार गरे। समग्रमा फिल्मलाई मन पराइएको छ। पटकथा कतैकतै अल्मलिए पनि गति लिएको छ भने केही संवाद प्रभावकारी लाग्छन्। गीत–संगीत सामान्य लागे पनि पुरुषोत्तम प्रधानको छायांकन र चन्द्र पन्तको द्वन्द्व तारिफयोग्य छ। अभिनयको कुरा गर्दा अनमोल आफ्नो भूमिकामा स्वाभाविक लाग्छन् भने अदिती बुढाथोकीले पहिलो फिल्मबाटै सम्भावना देखाएका छन्। अनुपविक्रम शाही नेगेटिभ भूमिकामा जमेका छन्। लक्ष्मी गिरी, सरोज खनाल, रूपा राना, कामेश्वर चौरासिया, सीके सुदाम, अमित गिरी, टीकाभक्त जिरेल जस्ता कलकारले भूमिकामा न्याय गरेका छन्।

फिल्म सम्पादनबाट निर्देशनमा आएका सुरेन्द्र पौडेल निर्देशनमा सफल लाग्छन्, सम्पादनमा धेरै ठाउँमा आँखा चिम्लिएका छन्। समग्रमा फिल्म हेरुञ्जेल पट्यार लाग्दैन, मनोरञ्जन प्रदान गर्छ।

प्रतिक्रिया दिनुहोस्