खडेरीको मुख्य कारण जलवायु परिवर्तन



लामो समयसम्म पनि पानी नपर्नुलाई सामान्यतः खडेरी भन्ने गरिन्छ। खडेरीको अर्थ जमिन सुख्खा हुनु हो। खडेरी एउटा प्राकृतिक प्रकोप हो भनेर भन्दा पनि केही फरक नपर्ला, जुन मौसम र उच्च चाप प्रणालीसँग सम्बन्धित रहेको हुन्छ। खडेरी बिस्तारै प्राकृतिक प्रकोप बन्दै गएको छ। वैज्ञानिकहरुको भनाइबमोजिम वर्षा हुने स्थानमा वर्षा नहुने र सुख्खा समयमा पानी नपर्ने, मौसम परिर्वतन हुने क्रम भंग हुनेजस्ता कामलाई ग्लोबल वार्मिङ असर पनि भन्ने गरिएको छ। त्यसलाई अर्को रुपमा भन्दा मौसमी खडेरी पनि भनिन्छ। अथवा मौसम परिवर्तन पनि।

ग्लोबल वार्मिङ अर्थात् तापक्रम बढ्ने क्रम। यदि तापक्रम बढ्ने प्रवृतिले निरन्तरता पाएमा कृषिजन्य समाजहरुमा कृषिक्षेत्रको उत्पादकत्वले समग्र अर्थतन्त्रलाई नै प्रभावित गर्दछ। पूर्वी अफ्रिका र भारतमा यस वर्ष देखिएजस्तै तापक्रम र वर्षामा आएको परिवर्तनबाट कृषिजन्य उत्पादन कम हुन गई ग्रामीण आम्दानी घट्न जान्छ। त्यस्तो अवस्था र अन्य आर्थिक अवसरहरुको अभावमा समुदायहरु खाद्यान्न र सीमित स्रोतका लागि प्रतिस्पर्धा गर्ने क्रममा हिंसाको सहरा लिन सक्छन्।

जल विज्ञानअनुसार खडेरीले पृथ्वीको सतह र उपसतहमा पानीको आपूर्तिमा कमीलाई जनाउँछ। सतहमा तालतलैया, भूमिगत पानीलगायतको कमीका आधारमा यसको आँकलन गरिन्छ। कृषि खडेरी कुनै निश्चित ठाउँमा खास अनाजका लागि माटोमा हुने चिस्यानमा आधारित हुन्छ। खडेरीलाई जुनसुकै नाम दिए पनि यो जलचक्रलाई प्रभावित पार्ने कारक तत्व हो। जलचक्रका कारण पारिस्थितिक पद्धति प्रभावित हुन्छ। यसले जल र स्थलमा अनेकौं समस्या निमत्याउँछ।

जलवायु परिवर्तनका कारण बाढी, पहिरो, हावाहुरी र चक्रवातको दर, गहनता र समयावधि बढ्न गई व्यक्तिगत जीविकोपार्जन र बृहत् अर्थतन्त्रलाई नै क्षति पुर्याउने काम गर्नेछ। यी जोखिमहरुलाई कम गर्न र विपद् परेको अवस्थामा प्रभावकारीरुपमा प्रतिकार्य गर्न सरकारहरु मिलेर काम गर्नुपर्छ। अन्यथा, त्यसको दुष्परिणाम गरिब र संकटासन्न समुदायहरुमा बढी पर्न गई गरिब र हिंसाको चक्रलाई बल पुर्याउने काम गर्नेछ।

विशेषज्ञहरुका अनुसार जलवायु परिवर्तन नै खडेरीको प्रमुख कारण हो। वन विनाश, विश्वव्यापी तापक्रममा वृद्धि, अत्यधिक हरित ग्यास उत्सर्जन आदि जलवायु परिवर्तनका कारण हुन्। नेपालको जनसंख्या विश्व जनसंख्याको ०.४ प्रतिशतभन्दा पनि कम छ। तर नेपालले विश्व उत्सर्जनको ०.०२५ प्रतिशत मात्र हरितगृह ग्यास उत्सर्जन गर्छ, तर पनि नेपालको तापक्रम वार्षिक ०.०५६ डिग्री सेल्सियसका दरले वृद्धि भइरहेको अनुमान गरिएको छ। जलवायु परिवर्तनका कारण नेपालमा अनावृष्टि, अतिवृष्टि, समयमा पानी नपर्ने, वर्षाका दर र गतिमा परिवर्तन, पानी पर्ने दिनमा कमी आदि घटनाहरु कुनै नौलो होइन। अनावृष्टिलाई नै खडेरी भन्ने गरिन्छ।

खडेरीले गर्दा कृषि उत्पादनमा कमी, खानेपानीको हाहाकार, जैविक विविधतामा ह्रास आदि असरहरु नेपालमा देखा परेका छन्। जसले गर्दा देशको आर्थिक अवस्था खस्किनु मात्रै नभई प्रतिव्यक्ति आयमा गिरावट, कुल गार्हस्थ्य उत्पादनमा समेत कमी आउने गर्दछ।

जलवायु परिवर्तनका कारण नै खडेरी हुने कुरामा हामी दुईमत छैनौं। जलवायु परिवर्तन एउटा प्राकृतिक घटना हो। यो निरन्तर परिवर्तन भइराख्ने चक्र हो। यसलाई हामीले रोकेर राकिन्न। परिवर्तन संसारको नियम हो। परिवर्तनअनुसार हामीले जिउन सक्नुपर्दछ। जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न ज्यादै खर्चिलो, समय बढी लाग्ने, बढी साधन–स्रोतको आवश्यकता हुन्छ। जुन हाम्रो जस्तो विकासोन्मुख गरिब देश नेपालले धान्न सक्दैन। जलवायु परिवर्तनबाट सिर्जित प्रकोप हो खडेरी। यसबाट बढी मार गरिब, किसान, महिला आदि वर्गमा पर्दछ।

नेपाल जलवायु परिवर्तनको असरका हिसाबले जोखिमयुक्त देश भएकोले खडेरी नेपालको लागि अति नै संवेदनशील विषय बन्दै गएको छ। कृषिमा आधारित जीविकोपार्जन, प्रकोपपूर्व सूचना प्रणालीको अभाव, कमजोर आर्थिक स्थिति, सरकारको अस्थिरता, कमजोर वा अपर्याप्त पूर्वाधार आदि कारणले नेपाल अति नै जोखिममा परेको देश हो। त्यसकारण खडेरीबाट बच्न जलवायु परिवर्तन न्यूनीकरण गर्नुभन्दा सोबाट पर्ने असरबाट अनुकूलन हुन जरुरी छ। अनुकूलन स्थानीय स्तरमै गरिन्छ। अनुकूलन कार्यक्रम अत्यन्तै फाइदाजनक, किफायती, जनउपयोगी हुन्छ। यसले सकारात्मक असरलाई बढावा गर्दछ भने नकारात्मक असरलाई न्यूनीकरण गर्दछ। अनुकूलन कार्यक्रमहरुले तीव्रगतिमा प्रभाव पार्ने गर्दछ। यसले स्थानीय समस्याको सम्बोधन गर्ने गर्दछ। अनुकूलन हुनु एउटा कला हो, यसले आफूलाई परिवर्तित समयअनुसार बाँच्न सिकाउँछ, समस्या समाधान गर्न, प्रकोपविरुद्ध लड्न तयार गराउँछ।

अन्त्यमा, नखाई बाँच्न सकिँदैन। त्यसकारण हामीले खडेरीबाट लड्नै पर्दछ। कृषिप्रधान देशको साख बचाउनै पर्छ। कृषियोग्य जमिन बाँझो हुनुबाट बचाउन खडेरीबाट सिर्जित समस्याको समाधान गर्न अनुकूलन कार्ययोजनाअनुसार अगाडि बढ्नु आजको आवश्यकता हो। पानीको मुहान सुक्ने प्रकोपबाट अनुकूलन हुन विभिन्न क्रियाकलापहरु जस्तै– वृक्षरोपण गर्ने, जोगाउने, हुर्काउने, बढ्दो तापक्रम सहन सक्ने बोटबिरुवा तथा बालीनालीको नश्ल तयार गरी खेती गर्ने, कृषि वन लगाउने, पानीको मुहान संरक्षण (इन्टेक, ट्यांकी तथा पाइप लाइन व्यावस्थापन) गर्नु आवश्यक देखिन्छ। साथै माटोको उर्वराशक्ति ह्रासजस्ता प्रकोपबाट अनुकूलन हुन सिंचाइ पोखरी निर्माण, प्लास्टिक पोखरी मर्मत, आकाशे पानी संकलन, उन्नत जातका बीउ बिजन खरिद, गोठेमल सुधार, गोठ सुधार, कम्पोस्ट मल, पशुमूत्र संकलन, स्प्रे ट्यांकी खरिद, अगुवा कृषक विकास, कृषक पाठशाला इत्यादि क्रियाकलाप सञ्चालन गर्न जरुरी देखिन्छ। खडेरीबाट बच्न सिंचाइ पोखरी निर्माण, सिंचाइ कुलो निर्माण, आकाशे पानी संकलन गर्नेजस्ता क्रियाकलाप गर्न जोड दिनुपर्ने देखिन्छ।
यसरी खडेरी र जलवायु परिर्वतनबाट सिर्जित विभिन्न प्रकोप र यसबाट उत्पन्न समस्याबाट बच्नका लागि हाम्रो जस्तो गरिब देशका जनताले अनुकूलनका लागि क्षमता अभिवृद्धि गर्दै अनुकूलन कार्ययोजनाहरु सञ्चालन गर्न अपरिहार्य देखिन्छ। तब मात्र हामी र हाम्रो देशको सामाजिक तथा आर्थिक विकास हुन सक्छ।
– प्रतिमा पौडेल, काठमाडौं

प्रतिक्रिया दिनुहोस्