खुसीयालीमा गोली चलाउँदा छिमेकीको मृत्यु



नयाँदिल्ली, (एजेन्सी)
भारतीय प्रहरीले विवाहको सिलसिलामा आयोजित एक रमाइलो पार्टीको दौरान गल्तीवश गोली चलाएर आफ्नो छिमेकीको ज्यान लिएको अभियोगमा एक पुरुषलाई गिरफ्तार गरेको छ। आफ्नी छोरीको आगामी विवाहको सिलसिलामा शनिबार आयोजित पार्टीमा रमाउँदै अशोक खोसलाले हवाई फायर गरेका थिए।

पञ्जाब प्रहरीले आफ्नै घरको बार्दलीमा बसिरहेका २२ वर्षीय छिमेकी साक्षी अरोराको निधारमा उनले चलाएको गोली लागेर घटनास्थलमै मृत्यु भएको बीबीसीलाई जानकारी दिएको छ। केही वर्षयता उत्तरी भारतमा विवाहको खुसीयालीमा यसरी गोली चलाइँदा थुप्रै व्यक्तिको ज्यान गइसकेको छ।

पञ्जाबको होसियारपुरमा आयोजित पार्टीको दौरान आफ्नो पेस्तोलबाट सो गोली चलाएको आरोपमा प्रहरीले दुलहीको पिता खोसलालाई पक्राउ गरेको हो। यसै सिलसिलामा सोही पार्टीमा खुसीले आफ्नो राइफलबाट गोली चलाएको आरोपमा प्रहरीले खोसलका साथी अशोक सेठीलाई पनि गिरफ्तार गरेको छ।

प्रहरी प्रवक्ताले तिनीहरू तालिम प्राप्त सुटर नभएको र तिनीहरूले त्यसरी गोली चलाउँदा जसलाई पनि लाग्नसक्ने कुरा बुझ्नुपर्ने बताएका छन्। सन् २०१६ को नोभेम्बरमा विवाहकै पार्टीमा एक महिलाले अचानक डान्स फ्लोरमा गोली चलाउँदा एक पाहुनाको ज्यान जानुका साथै अन्य तीन जना गम्भीर घाइते भएका थिए। यसैगरी २०१७ को नोभेम्बरमा पनि भारतमा यस्तै घटनामा एक आठ वर्षीय बालक मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्