स्व. जोशीलाई आदर्श खेलाडी अवार्ड



कविरस शर्मा, काठमाडौं

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले ओलम्पियन, भारोत्तोलनका प्रमुख प्रशिक्षक एवम् साग पदकधारी स्व. सुनीललाल जोशीलाई स्व. गजराज जोशी आदर्श खेलाडी अवार्डबाट सम्मान गरेको छ।

सोमबार काठमाडौंको टोखामा आयोजित एक कार्यक्रमबीच स्व. जोशीलाई मरणोपरान्त सो अवार्डबाट सम्मान गरिएको हो। उक्त अवार्ड स्व. जोशीकी धर्मपत्नी रेखा जोशीले ग्रहण गरेकी थिइन्। सो अवार्डको पुरस्कार राशी २५ हजार रुपियाँ रहेको छ। यसैगरी यो संस्करणदेखि राखिएको ‘एनएनआईपीए पत्रकारिता’ पुरस्कार वरिष्ठ फोटो पत्रकार श्याम चित्रकारलाई प्रदान गरिएको छ। लामो समयदेखि पत्रकारिता पेसामा अनवरत लागि रहेका ७६ वर्षीय चित्रकारलाई अवार्डका साथै १५ हजार नगद पनि प्रदान गरिएको थियो।

टोखा नगरको संस्कृति दर्शाउने झाँकीसहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रमबीच गरिएको एनएनआईपीए स्पोर्ट्स अवार्ड–२०७३ मा विभिन्न ३५ खेलका उत्कृष्ट खेलाडीलाई अवार्डसहित नगद पुरस्कारबाट सम्मान गरिएको थियो। उत्कृष्ट हुने सबै खेलाडीले ट्रफीसहित जनही १० हजार नगद पुरस्कार प्राप्त गरेका थिए। कार्यक्रममा केही खेलाडीहरूले पनि विभिन्न नेपाली तथा नेपाल भाषाको गीत र संगीतमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए।

गतवर्ष पूर्वाञ्चलमा सम्पन्न सातौं बृहत् राष्ट्रिय खेलकुदमा समावेश ३५ खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई उक्त सम्मान गरिएको एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए। सम्बन्धित खेल संघको सिफारिसमा उत्कृष्ट चुनिएका खेलाडीलाई एनएनआईपीए स्पोर्ट्स अवार्ड २०७३ पुरस्कृत गरिएको उनले जानकारी गराएका हुन्। अवार्ड विजेता खेलाडीलाई सम्बन्धित संघका अध्यक्ष तथा पदाधिकारीले अवार्ड प्रदान गरेका थिए।

३५ खेलका उत्कृष्ट खेलाडी
क्रिकेटका पारस खड्का, फुटबलका किरण चेम्जोङ, करातेका पर्शुराम बाँस्तोला, भलिबलकी प्रतिभा माली, टेबलटेनिसका श्यान्टु श्रेष्ठ, सुटिङकी अस्मिता राई, तेक्वान्दोकी रेजिना कार्की, उसुकी निमा घर्ती मगर, जुडोकी फुपु ल्हामु खत्री, आर्चरीका प्रेमप्रसाद पुन, पौडीका शिरीष गुरुङ, एथ्लेटिक्सकी कान्छीमाया कोजु, बक्सिङका सुशील थापा, भारोत्तोलनका दिनेश श्रेष्ठ, कबड्डीका विजयकुमार चन्द, ह्यान्डबलकी उमा राई, हक्कीका प्रदीप राजवंशी, स्क्वासका अरहान्तकेशर सिम्ह, ब्याडमिन्टनका रत्नजित तामाङ, बास्केटबलका सदीश प्रधान, आईटीएफ तेक्वान्दोकी तुलसा राजथला, शारीरिक सुगठनका महेश्वर महर्जन, फेन्सिङका सञ्जीव लामा, गल्फका शुक्रबहादुर राई, जिम्न्यास्टिकका राजु राई, लनटेनिसकी मायांका राणा, सफ्ट टेनिसकाका प्रदीप खत्री, साइक्लिङका राजेश मगर, बुद्धिचालका मदनकृष्ण कायस्थ, फुल कन्ट्याक्ट करातेकी सुस्मी श्रेष्ठ, सेपाकताक्रोका अनिल गुरुङ, खो खोकी दिलकुमारी तामाङ, स्नुकर तथा विलियर्डका दीपक मगर, ट्रायथलनका वसन्त थारू र कुस्तीका सरोज यादव रहेका छन्।

प्रतिक्रिया दिनुहोस्