आज सेना दिवस पनि शिवरात्रि पनि



नेपाल समाचारपत्र
काठमाडौं
नेपाली सेनाले शिवरात्रिका अवसरमा मंगलबार देशभर सेना दिवस मनाउने भएको छ। यस अवसरमा सैनिक मञ्च टँुडिखेलमा बढाइँ तथा सैनिक कला प्रदर्शनी हुने बताइएको छ। सेनाका परमाधिपतिसमेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी सो अवसरमा उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ।

अपराह्न ५ बजे साँझ ७ बजेसम्म जारी रहने सो समारोहमा सैनिक सामग्री प्रदर्शनी, परेड, प्यारा जम्प, कवाज तथा तोप बढाइँ गरिनेछ।

नेपाल एकीकरणको २ सय ५० वर्षगाँठका सन्दर्भमा हुन लागेको यस वर्षको सेना दिवस समारोहमा नेपाली सेनाको ब्यान्डले भारतीय र बेलायती सेनाको गोर्खा ब्यान्डसँग मिलेर गीति नाट्य प्रस्तुत गर्नेछ भने कार्यक्रम अन्त्यमा आतशवादी गरिनेछ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेना दिवसका अवसरमा सैनिक मुख्यालय जंगीअड्डा मातहतका पृतना, बाहिनी, गण, गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना हुनेछ भने बुधबार साँझ सांस्कृतिक कार्यक्रम गरिनेछ।

भारतीय सेनाध्यक्ष काठमाडौंमा
प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीको निमन्त्रणामा भारतीय सेनाध्यक्ष जनरल विपिन राउत सोमबार काठमाडौं आउनुभएको छ।

नेपाली सेनाका मानार्थ महारथी समेत रहनुभएका राउत नेपालको ३ दिने औपचारिक भ्रमणका क्रममा आउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

उहाँलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो।

नेपाल एकीकरणको २५० वर्षगाँठ मनाउने क्रममा मंगलबार आयोजना गरिने सेना दिवस २०७४ को कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी हुन उहाँ नेपाल भ्रमणमा आउनुभएको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाल भ्रमणमा रहँदा उहाँले राष्ट्रपति र प्रधानमन्त्री तथा प्रधानसेनापति महारथी क्षत्रीसँग भेट्नुका साथै नेपालका केही महत्त्वपूर्ण धार्मिकस्थलको भ्रमण गर्नुहुनेछ।
निर्देशनालयद्वारा जारी विज्ञप्तिमा यस भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सैनिक कुटनीतिको माध्यमबाट थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ। सेनाध्यक्ष जनरल राउत फागुन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

यसैबीच नेपाल भ्रमणमा रहनुभएका बेलायतका राज्यमन्त्री मार्क लेनकास्टरले प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीसँग सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्