समितिको विवादले करोडौको खानेपानी योजना अवरुद्ध



दुर्गाप्रसाद शर्मा, पर्वत ।

उपभोक्ता समिति गठनमा सहमति जुट्न नसकेपछि यहाँको एक विकट गाउँमा संचालन हुन लागेको करोडौको खानेपानी योजना अलपत्र बनेको छ ।

पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा संचालित खानेपानी आयोजनाको काम बिबादका कारण शुरु हुन नसकेको हो । समितिको पदाधिकारीका लागि दलीय टकराव भएपछि उपभोक्ता समितिमा विवाद उत्पन्न भएको छ । नेपाली कांग्रेस गाउँ कार्यसमितिका सचिव शिवप्रसाद तिवारीको अध्यक्षतामा खानेपानी उपभोक्ता समिति गठन भएको थियो । उक्त समितिमा नेकपा एमालेका तर्फबाट भीमप्रसाद भुसाल सचिव, माओवादी केन्द्रका विष्णुवहादुर बि.क. उपाध्यक्ष रहेका थिए ।

तर एमाले र माओवादी केन्द्रले अध्यक्ष आपूmहरुले पाउनुपर्ने दावी गर्दै उक्त समितिलाई नस्वीकार्ने बतापछि बिबादले चर्को रुप लिएको हो । उनीहरुले आमभेला नै नगरी उपभोक्ता समिति निर्माण गरिएको भन्दै विरोध गरेका हुन् । विरोधी पक्षले अर्को आमभेला गरेर समिति गठन गर्न माग गरिरहेका छन् । यता उक्त वडाका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चालगायत दलका प्रतिनिधिसहित दलित, अपाङ्ग र महिलाको सहभागिता समितिको निर्माण भएको दावी गरेका छन् ।

नेपाल सरकार खानेपानी तथा सरसफाई मन्त्रालयको २४ करोड रुपैयाको लागतमा वृहत खानेपानी आयोजना सञ्चालन हुने जिल्ला खानेपानी तथा सरसफाई डिभीजन कार्यालय पर्वतले जनाएको छ । कार्यालयका अनुसार उक्त गाविसका सातसय भन्दा बढी घरधुरी र केही सार्वजनिक धाराहरु समेत निर्माण गर्नेगरी योजना शुरु भएको हो ।

‘उपभोक्ता समिति आमभेलाबाटै निर्माण भएकाले वैधानिकताको प्रश्न उठाएर विरोध गर्नु विकासको काम रोक्नुबाहेक केही होइन ।’ उनले भने, ‘नगरपालिकाले समेत सोही समितिलाई वैधानिकता दिएको छ ।’ नगरपालिकाका प्रमुख पदमपाणी शर्माले समितिमा विवाद गरेर खानेपानी आयोजना काममा अवरोध नगर्न र विवाद नगर्न आग्रह गरेको छन् । ‘बेकारका माग राखेर काम रोक्नुहुन्न भन्नेमा हामी अडिग छौँ ।’ नगर प्रमुख शर्माले भने, ‘सानातिना विवादले काम रोक्नु हुँदैन भनेर हामीले निर्देशन दिएका छौँ ।’

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले विवाद भइरहेकाले काम शुरु गर्न नसक्ने बताउँदै तत्काल विवाद समाधान गरेर काम शुरु गर्न ताकेता गरिरहेको छ । चालु आर्थिक वर्षमा खानेपानी तथा सरसफाई मन्त्रालय मार्फत २४ करोड रुपैयाँको बृहत् खानेपानी आयोजना सञ्चालन गर्न अख्तियारी प्राप्त भएपनि उपभोक्ता समितिमा विवादले नै आयोजना प्रभावित बनेको छ । नियमअनुसार स्थानीय उपभोक्ता समिति नबनी टेण्डर आह्वान गर्न मिल्दैन । वडाभरिका नागरिकलाई खानेपानीको पहुँच पु¥याउन आयोजना शुरु हुन लाग्दा उपभोक्ता समिति निर्माणमा नै विवाद भएपछि स्थानीयवासी भने निरास बनेका छन् ।

जिल्ला खानेपानी तथा सरसफाई डिभीजन कार्यालयका अनुसार उपभोक्ता समितिबीचको बिबादले आयोजनाको निर्माणकार्यमा ढिलाई हुने बताए । उनले आफ्नो गाउँमा बन्ने योजनामा बिबाद नगरी सहमतिमा आउन उपभोक्ताहरुलाई आग्रह गरेको छ । कार्यालय प्रमुख प्रेम डोटेलले उपभोक्ताहरुलाई सहमतिमा ल्याउने प्रयास भैरहेको बताए । उनले योजना संचालनका लागि आवश्यक सहयोग गर्न र उपभोक्ताहरु सहमतिमा आए तोकिएकै समयमा खानेपानी योजना सम्पन्न हुने बताए ।

प्रतिक्रिया दिनुहोस्