विमान दुर्घटना, ७१ जनाको मृत्यु



मस्को, (एजेन्सी)
७१ यात्रु बोकेको एक रुसी यात्रुवाहक विमान आइतबार अपरान्ह रुसको राजधानी मस्कोनजिकै दुर्घटनाग्रस्त भएको छ। उक्त विमान एउटा नगरको विमानस्थलवाट उडान भरेको केही समयपछि नै दुर्घटना भएको र त्यसमा रहेका कुनै पनि यात्रु जीवित रहेको तत्काल समाचार नआएको सञ्चार माध्यमहरूले जनाएका छन्।

क्षेत्रीय जेट एएन–१४८ विमान मस्कोबाट १ हजार ५ सय किलोमिटर दक्षिणपूर्वमा डोमोडेडोवो विमानस्थलबाट ओस्र्क शहरका लागि प्रस्थान गर्ने क्रममा उडान भरेको केही मिनेटमै राडार स्क्रिनबाट हराएको थियो। उक्त विमान रुसी ब्यावसायिक वायुसेवा राराटोव एयरलाइन्सको भएको बताइएको छ।

विमानको भग्नावशेष विमानस्थलबाट करिब ४० किलोमिटर दूरीमा रामेन्स्कोयमा फेला परेको छ। सरकारी टेलिभिजनले देखाएको फुटेजमा ती भग्नावशेषवरपर हिँउले छोपेको र नजिकै कुनै भवन नभएको देखिएको छ। हताहत हुनेहरूमा दुर्घटना स्थलका कुनै व्यक्ति पनि परेका छन् वा छैनन् भन्ने विषयमा प्रष्ट हुन हुन सकेको छैन।

विमान दुर्घटनाग्रस्त हुनुका सबै सम्भावित कारणहरू गहण रूपमा हेरिने रुसको इन्भेस्टिगेटिव कमिटीले जनाएको छ। सन् १९९१ मा सोभियत संघको विघटनपछि वर्षौसम्म पनि रुसी नागरिक उद्देयनमा पुराना उपकरण तथा खराब सुपरिवेक्षण प्रणाली कायम थियो। तर हालैका वर्षहरूमा सुरक्षाको रिकर्डमा सुधार भएको देखिएका छन्।
यसअघि रुसमा भएको ठूलो दुर्घटना सन् २०१६ डिसेम्बर २५ भएको थियो। रुसी रक्षा मन्त्रालयको सञ्चालनमा रहेको टीयु–१५४ विमान रुसी दक्षिणी शहर सोचीबाट उडान भरेको केही मिनेटमै ब्ल्याक सागरमा दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा ९२ जना यात्रुको मृत्यु भएको थियो।

सन् २०१६ मार्चमा फ्लाई दुबईको बोइङ ७३७–८०० रोस्टोवोनडोनमा अवतरणका क्रममा दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको थियो।
सन् २०१५ अक्टोबरमा रुसियन मेट्रोजेट एयरलाइनको एउटा विमानलाई इजिप्टको सार्म अल सेख रिसोर्टबाट उडान भरहेको केही समयमै बम विस्फोट गराई ध्वस्त पार्दा त्यसमा रहेका २ सय ४४ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्