पर्ख र हेरको अवस्था छैनः ओली



काठमाडौं, (नेस)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक समृद्धिका लागि ‘पर्ख र हेर’को अवस्था नरहको बताउनुभएको छ। आइतबार नेपाल व्यवस्थापन संघ (म्यान)को ३७औं राष्ट्रिय व्यवस्थापन सम्मेलन तथा वार्षिक साधारणसभा उद्घाटन गर्दै ओलीले राजनीतिक संक्रमणकाल टुंगिएकाले राजनीतिक दलहरू अब विकास र समृद्धिको बाटोमा जाने बताउनुभएको हो।

कार्यक्रममा एमाले अध्यक्ष ओलीले संविधानालाई सबैले स्वीकारेको बताउँदै विकास र समृद्धिका निम्ति स्थायीत्व र स्थिरता आवश्यक पर्ने भएकाले जनताको यो अपेक्षालाई पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘हामी उत्पादन र उत्पादकत्व वितरणमा मात्र ध्यान दिंदैनौ यसको समुचित वितरणमा समेत चनाखो रहन्छौं। अब हाम्रो आकांक्षा, आवश्यकता र योजना विकास र समृद्धि केन्द्रित भएको छ।’ त्यसैले सबैजना राजनीतिक र आर्थिक पाटोलाई देशको अनुकूल तुल्याउँदै अली तीव्र गतिमै हिँड्नुपर्नेमा उहाँको जोड थियो।

संयुक्त राष्ट्र संघले सन् २०३० सम्ममा हासिल हुने गरी राखेका १७ वटा दिगो विकास लक्ष्यलाई पूरा गर्न नेपालले द्रुतत्तर गतिमा दिगो विकास लक्ष्य राख्नुपर्ने ओलीको सुझाव छ। यो लक्ष्य हासिल गर्न गरिबी मुख्य चुनौती रहेको ओलीको भनाइ छ। ओलीले भन्नुभयो– ‘आजको दुनियाको मुख्य चुनौती भनेको गरिबी निवारण भएकाले त्यसको निवारणतर्फ जानु आवश्यक छ।’

व्यवस्थापनको आवश्यकताबारे प्रकाश पार्दै ओलीले नेपालमा स्रोत र साधनको अभाव नभए पनि त्यसको उचित व्यवस्थापन नहुँदा नेपाली गरिब हुनुपरेको बताउनुभयो। समृद्धिका लागि सामाजिक, आर्थिक ,राजनैतिक व्यवस्थापन आवश्यक भएको ओलीको कथन छ। ओलीले भन्नुभयो– ‘नेपाल गरिब हुनै नसक्ने तर व्यवस्थापनको अभावले गरिबी भोगिरहेको छ। तर, अब व्यवस्थापनको अभावमा कुनै पनि कुरा अपूरो हुँदैन।’ आफू लोकतन्त्र, कानुनी शासन, सुशासन र आवधिक निर्वाचन जस्ता कुरामा कहिल्यै सम्झाता नगर्ने ओलीको भनाइ छ।

स्रोतसाधनको व्यवस्थापनले लोकतन्त्रको प्रभावकारिता निर्धारण गर्ने ओलीको भनाइ छ। त्यसकारण, यहाँ लोकन्त्र, राष्ट्रियता, सार्वभौमसत्ता र स्वाभिमानको व्यवस्थापन गर्न जरुरी छ। ओलीले भन्नुभयो– ‘छिमेकीबाट सिकेर हामीले प्रदेश र स्थानीय तहसँग सहकार्य गरी नयाँ संयन्त्रको विकास गर्नु जरुरी छ। उनीहरूको नक्कल गरेर हुन्न, प्रदेशबीच प्रतिस्पर्धा, जनशक्ति तथा स्रोत व्यवस्थापन, परिचालन तथा विकासमा नयाँ सोचको व्यवस्थापन गर्न जरुरी छ।’

कार्यक्रममा पूर्वसचिव कृष्ण ज्ञवाली तथा अर्थविद् जयन्द्र श्रेष्ठले संघीय संरचनामा सामाजिक आर्थिक व्यवस्थापन विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। त्यसक्रममा ज्ञवालीले नेपालको आर्थिक र सामाजिक धरातललाई विश्लेषण गर्दा ज्यादै चिन्तित र निकै उत्साहित हुनुपर्ने अवस्था नरहेको बताउनुभयो। त्यसैगरी, अर्थविद् जयन्द्र श्रेष्ठले विकास र समृद्धिको कुरा धेरै उठे पनि अब त्यसको मूर्तरूप संघीयताबाटै हुन्छ भन्ने जनताको अपेक्षालाई सम्बोधन गर्न सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको राजनीतिक व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरद्वय दीपेन्द्रबहादुर क्षेत्री र डा. युवराज खतिवडा, गरिबी निवारण तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनाली, नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवसीय प्रतिनिधि भ्यालरी जुलियटलगायतले कार्यपत्रमा प्रतिक्रिया दिनुभएको थियो।

कार्यक्रम प्रस्तुत कार्यपत्रमा मुलुकलाई द्रुतगतिमा विकास र समृद्धिको मार्गमा लैजान स्थानीय तहबीच सकारात्मक र रचनात्मक प्रतिस्पर्धा गराउन आवश्यक रहेको उल्लेख थियो। आयोजक संस्था नेपाल व्यवस्थापन संघका अध्यक्ष सुशील भट्ट तथा उपाध्यक्ष राजेन्द्र पण्डितले संघीयता कार्यान्वयनसँगै सबै किसिमको व्यवस्थापन गर्न सहज हुनेमा जोड दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्