आर्मी सिमरा गोल्डकपको सेमिफाइनलमा



गोकुल घोरसाइने, बारा

सशस्त्र प्रहरी वलको एपीएफ क्लबलाई ४–० ले स्तव्ध पार्दै त्रिभुवन आर्मी क्लब बाराको सिमरा रंगशालामा जारी नवौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिभुवन आर्मीको सेमिफाइनल यात्रामा म्यान अफ दि म्याच जर्जप्रिन्स कार्कीले २, नवयुग श्रेष्ठ र दिनेश हेम्जनले समान १ गोल गरे। सशस्त्र प्रहरी विरुद्ध आर्मीका जर्जप्रिन्स कार्कीले खेलको ३६औं मिनटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। पेनाल्टी एरियामै तेस्रो प्रयासमा कार्कीले गोल गरेका हुन्। शुरुमा कार्कीकै प्रहार एपीएफका रक्षकले बचाउ गर्दा रिवाउन्ड बललाई कार्कीले फेरि प्रहार गर्ने मौका पाए पनि एपीएफका डिफेन्डरले गोललाइनबाट क्लियर गरे। डिफेन्डरले क्लियर गरेको बल कव्जामा लिन सफल कार्कीको तेस्रो प्रहार गोलमा परिणत भयो। पेनाल्टी एरियामै ३ पटकसम्म प्रयास गर्ने मौका पाएका कार्कीले आर्मीलाई अग्रता दिलाउन सफल भए।

पहिलो हाफमा १–० ले पछि परेको एपिएफ विरुद्ध आर्मीले दोस्रो हाफमा ३ गोल गर्यो। दोस्रो हाफको शुरुआतमै नवयुग श्रेष्ठले अग्रता दोब्बर पारे। खेलको ४७ औं मिनटमा नवयुगले डी एरियामा पाएको पासलाई गोलमा परिणत गरे। टंक बस्नेतको पासमा नवयुगको शानदार गोलपछि सशस्त्र थप दबाबमा पर्यो।

खेलको ७१औं मिनटमा अन्डर १९ राष्ट्रिय फुटबल टिमका स्ट्राइकर दिनेश हेम्जनले आर्मीका लागि तेस्रो गोल गरे। नवयुग श्रेष्ठको पासमा दिनेश हेम्जनले डी बक्स भित्रबाट गरेको प्रहार एपीएफका गोलरक्षक अमृत चौधरीले गोललाइन भित्र नियन्त्रणमा लिएका थिए। फस्ट असिस्टेन्ट रेफ्री रोजन श्रेष्ठले गोलको संकेत गरेपछि एपीएफका समर्थक थप उदास बने।

खेलको उत्तराद्र्धमा ३–० को फराकिलो अन्तर झेलेको एपीएफ खेलको ७५औं मिनटमा ९ खेलाडीमा सीमित भयो भने आर्मी १० खेलाडीमा सीमित भयो। एपीएफका रञ्जन विष्टले आर्मीका विमल पाण्डेलाई आर्मीको डी बक्समा लडाएपछि केहीबेर दुवै टिमबीच तनाव सिर्जना भयो। फाउलपछि पहेंलो कार्ड पाएका रञ्जन आर्मीका खेलाडीसंग झगडा गर्न गएपछि दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिए। रञ्जनसंगै उनका भाइ एवं एपीएफका स्ट्राइकर अञ्जन पनि दोहोरो पहेंलो कार्ड खाँदै बाहिरए भने आर्मीका चर्चित स्ट्राइकर नवयुग श्रेष्ठ रातो कार्ड पाएर मैदानबाट बाहिर निस्के। सशस्त्र र आर्मीका खेलाडीबीच मैदानमै हात हालाहालसमेत भयो।

९ खेलाडीमा सीमित एपीएफ विरुद्ध आर्मीले खेलको अन्तिम समयमा चौथो गोल गर्यो। खेलको ८२औं मिनटमा आर्मीका जर्ज प्रिन्स कार्कीले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४–०को शानदार जित दिलाए। डी बक्सभित्र दिनेश हेम्जनले दिएको पास सदुपयोग गर्दै कार्कीले आर्मीको सेमी फाइनल यात्रा स्मरणीय बनाए।

प्रतियोगिताको छैठौं संस्करणको उपाधि विजेता तथा साविक उपविजेता आर्मीले अब साविक विजेता संकटा र वीरगन्ज युनाइटेड क्लबबीच मंगलबार हुने अन्तिम क्वाटरफाइनलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ।

प्रतियोगितामा सोमबार रुस्लान थ्रिस्टार क्लब र सुदूरपश्चिम ११ स्पोर्टस क्लब धनगढीबीच खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्