सर्वोच्चमा मुद्दाको ताँती: किन हुँदैनन् फस्र्योट ?



प्रशान्त वली, काठमाडौं
सर्वोच्च अदालतले मंसिर १ गतेबाट बिहान १० देखि बेलुकी ५ बजेसम्म इजलास सञ्चालन गरे पनि मुद्दा फस्र्योट दर द्रुत गतिमा अघि बढ्न सकेको छैन। अदालतको कार्य समय शुरू भएको आधा घन्टापछि नै इजलाश सञ्चालन गर्ने सर्वोच्चको फुलकोर्टबाट भएको निर्णयलाई लागू गर्न विहान १० बजेबाट इजलास थालनी गरीएको हो।

आइतबारदेखि बिहीबार ५ बजेसम्मै र शुक्रबार ४ बजेसम्म अदालत खुल्ला रहने सर्वोच्चले वताएको छ। मुद्दाको कार्यबोधलाई ध्यान दिँदै समयावधि बढाउने निर्णय भएको सर्वोच्चले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

न्यायाधीशहरू साढे ९ मा अदालत आउनुपर्ने १० बजे इजलास तोक्ने, १ बजेदेखि २ बजेसम्म खाजा समय र अपराह्न नियमित कार्यालय समयपछि समेत आधा घन्टासम्म इजलाशको काम गर्न सकिने फुलकोर्टको निर्णयमा उल्लेख छ। यसअघि सर्वोच्च अदालतमा साढे १० मा न्यायाधीश उपस्थित हुँदै आएका थिए। ११ बजे इजलास सञ्चालन हुने र ४ बजे समाप्त हुने हुँदा मुद्दाको सुनुवाइ प्रभावित भएको भन्दै सर्वोच्चले यस्तो निर्णय गरेको हो।

सर्वोच्च अदालत नियमावलीअनुसार न्यायालयमा अतिरिक्त समयमा काम गराउन प्रधानन्यायाधीशले तोक्न सक्ने व्यवस्था छ। उक्त व्यवस्थाअनुसार मुद्दाको कार्यबोझ घटाउन अक्तिरिक्त समयमा अदालत सञ्चालन गर्न लागिएको सर्वोच्चले विज्ञप्ति निकालेर जानकारी गराएको हो। झण्डै १९ हजार मुद्दाहरू फैसला हुन बाँकी सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले बताउनुभयो।

मुख्यतः म्याद तामेली प्रक्रिया झन्झटिलो भएकाले मुद्दा फस्र्योट दरमा कमि देखिएको सरोकारवाला बताउँछन्। ३० दिने म्याद तामेली निकै लामो समय अबधी भएकाले पनि यो अबधि छोट्याउनुपर्ने र सुचना प्रबिधीको प्रयोग गर्नुपर्ने अधिवक्ता डा. यज्ञमणी न्यौपानेको भनाई छ। उहाँले भन्नुभयो– ‘मुद्दाका पक्ष, निर्णय गर्ने न्यायाधीश, सम्बन्धित फाँटका कर्मचारी पारदर्शी हुन नसक्दा मुद्दाहरू द्रुत रुपमा फस्र्योट हुन नसकेको हो। त्यस कारण न्यायाधिसहरू जिम्मेवारीबाट पन्छीनु हुँदैन। ’

अदालतमा तोकिएको समयमा पेसी नचढाउने, वकिलले चाहिने भन्दा बढि बहस गर्ने, आफ्नो अनुकुलको बेन्च आयो भने मुद्दा हेर्ने नत्र पन्छाइदिने प्रवृत्तिले पनि पुराना मुद्दाहरूले ठाउँ नपाएको हुन सक्ने अधिवक्ता डा. न्यौपानेको भनाइ छ। मुद्दाका लागि आबश्यक प्रमाण संकलनमा ढिलाइ हुँदा र आदेशबमोजिम कागज उपलब्ध नहुँदा पनि मुद्दा फैसलामा ढिलाइ हुने गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्