निर्वाचनपछिको राष्ट्रिय परिस्थिति



गणतन्त्रान्त्रिक संसदीय निर्वाचन सम्पन्न भएको २ महिना बितिसकेको छ। यद्यपि मुलुकले नयाँ नेतृत्व पाउन सकेको छैन। राजतन्त्र र साममन्तवादको अन्त्य भएपछि सत्तामा दलाल पुँजीवाद पुगेको छ। अहिले प्रतिक्रान्तिले एक प्रकारले पूर्णता पाएको छ। नेपाली जनताका अहिलेसम्मका क्रान्तिका बलिदानी उपलब्धि उल्टाइएको छ। हिजो जसले जनगणतन्त्रको मुद्दा उठाएर जनयुद्धको नेतृत्व गरेका थिए। आज तिनै व्यक्ति दलाल पुँजीवादी संसदीय गणतन्त्रको संस्थागत विकास गर्न रणनीतिक रूपमा लागेका छन्। यो ज्यादै दुःखको कुरा हो।

नेपाली राजनीति अहिले क्रान्ति र प्रतिक्रान्ति, मालेमावाद र संसदवाद, वैज्ञानिक समाजवाद र दलाल पुँजीवादबीचको केन्द्रिकृत टक्करवादको स्थितिमा छ। भर्खरै सम्पन्न भएको निर्वाचनको परिणामपछि राजनैतिक अन्तरविरोधमा केही परिवर्तन आएको छ। दलाल पुँजीवादी राज्य सत्ताको निर्माण र सञ्चालनमा चारवटा राजनैतिक प्रवृति देखापरेका छन्। पहिलो नेपाली कांग्रेसको नेतृत्वमा दलाल पुँजीवादी धार, दोस्रो एमालेको नेतृत्वमा सञ्चालित माओवादी केन्द्रसहितको कम्युनिस्ट नामधारी संशोधनवादी दक्षिणपन्थी धार र तेस्रो राप्रपाको नेतृत्वमा सञ्चालित राजावादी पुँजीवादी धार, चौथो दक्षिणतर्फको छिमेकी राष्ट्रको इशारामा पूर्णरूपले चल्ने मधेसवादी क्षेत्रीयतावादी पुँजीवादी धार। सैद्धान्तिक र आधारभूतरूपले अहिले पनि दलाल पुँजीवादी राज्य र श्रमिक जनताबीचको अन्तरविरोध नै प्रमुख रहेको छ। परन्तु चुनावी परिणाम र सरकार वनोटका दृष्टिकोणले राजनीतिक र व्यावहारिक संघर्ष एमाले–माकेको कथित गठबन्धन र जनताको बीचमा अगाडि आएको छ। अर्कोतिर दलाल पुँजीवादलाई अस्वीकार गर्ने क्रान्तिकारी शक्ति छ। संसदवादी धारले संसदीय सत्तालाई सुदृढ गर्न चाहन्छ भने क्रान्तिकारी धारले नौलो जनवादी र वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्न चाहन्छ।

 

चुनावी हारपछि कांग्रेसको मथिङ्गल रन्थनिन पुगेको छ। उसभित्रका नयाँ र पुराना मनोविकृति पोखिएका छन्। कांग्रेस स्वार्थ केन्द्रित गुट–उपगुटका कारण कमजोर बन्दै गएको छ। प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा तेस्रो स्थानमा धकेलिए पनि सुधारिने अवस्था अझै देखिएको छैन।

 

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी परिणामले नेपाली राजनीतिको वैचारिक राजनैतिक एवं सांगठनिक क्षेत्रमा नयाँ धु्रवीकरणको सम्भावना बढेको छ। आफूलाई प्रजातन्त्र÷लोकतन्त्रको हिमायती सम्झने नेपाली कांग्रेस वरिपरि दलाल पुँजीवादी प्रवृतिको धु्रवीकरण जसमा सम्पूर्ण दलाल पुँजीपति वर्ग, विदेशी एजेन्ट, सत्ता सञ्चालनमा बसेको पुँजीपतिवर्ग रहेको छ।

चुनावी हारपछि कांग्रेसको मथिङ्गल रन्थनिन पुगेको छ। उसभित्रका नयाँ र पुराना मनोविकृति पोखिएका छन्। कांग्रेस स्वार्थ केन्द्रित गुट–उपगुटका कारण कमजोर बन्दै गएको छ। प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा तेस्रो स्थानमा धकेलिए पनि सुधारिने अवस्था अझै देखिएको छैन। पार्टी हितको नारा दिने तर व्यक्ति र समूह केन्द्रित स्वार्थ पूरा गर्ने नेताहरू सक्रिय हुँदा कांग्रेस गाउँ तहसम्म गुट–उपगुट, विभिन्न समूहमा विभाजित बन्न पुगेको छ।

दोस्रो धु्रवीकरण एमाले वरिपरि दक्षिणपन्थी, संशोधनवादी, आत्मसमर्पणवादी प्रवित्तिहरू देखापरेको छ। माओवादी केन्द्रसहित अन्य साना नामधारी कम्युनिस्टहरू यस धु्रवीकरणमा समाहित भएका छन्। साम्राज्यवादी शक्तिको इशाराका रूपमा तथा वामपन्थी सारमा दलाल संसदीय पार्टी एमाले र माओवादी केन्द्रले एउटै पंक्तिको मोर्चा खडा गरी चुनावी मैदानमा उत्रेका थिए। यो एमाले–माकेको गठबन्धनले सुविधाजनक बहुमत ल्याएर विजय भएको छ। तर, यिनीहरूमा एकखालको अहंकार र दम्भ देखिएको छ। पार्टी एकतासम्मको उद्देश्य लिएको यो गठबन्धन अनेकौं राजनैतिक संगठनात्मक उल्झनमा बाझिँदै गएको छ। यस कथित वाम गठबन्धनले समाजवाद उन्मुख नीति तथा कार्यक्रम ल्याउने नारा पनि दिँदै आएको छ र यसले संसदीय बाटोबाट शान्तिपूर्ण ढंगले समाजवाद आउँछ भन्ने भ्रम फैलाइराखेको छ।

यो नेपाली जनतालाई झुक्याउने कथित नारा मात्रै हो। यो नारा नेपाली कांग्रेसका बीपी कोइरालाले ल्याउने भनेको समाजवाद जस्तै हो। माक्सवादी दर्शन, राजनीतिक, अर्थशास्त्र र समाजवादको दायराभित्र रहेर सैद्धान्तिकीकरण गरिएको समाजवाद ल्याउन खोजेको पटक्कै होइन। यसतर्फ सम्पूर्ण क्रान्तिकारी शक्तिहरूले बुझ्नु जरुरी छ। उनीहरूले दिन खोजेको समाजवाद पूर्वी युरोपका सोसल डेमोक्रेटिक पार्टीहरूले प्रयोगमा ल्याएको भनेको समाजवाद हुन सक्छ। वैज्ञानिक समाजवाद सजिलै अर्थात् शान्ति पूर्ण ढंगबाट दुनियाँमा कहीं पनि आएको छैन। आउँदा पनि आउँदैन। यो वास्तवमा बन्दुकबाट प्राप्त हुने चिज हो। त्यही भएर होला कमरेड माओले पनि ‘राज्यसत्ता बन्दुकको नालबाट जन्मिन्छ’ भनेका होलान्। लेनिनले पनि भनेका थिए– ‘जबसम्म पँुजीवाद हतियारले लैस हुन्छ, तबसम्म क्रान्ति पनि सशस्त्र हुन अनिवार्य छ।’ हाम्रो मुलुकको परिस्थिति ठ्याक्कै यस्तै छ। तेस्रो धारमा हिन्दु धर्म र राजाको आडमा पुनरुत्थानवादी शक्ति छ। तर, यो शक्ति कमजोर स्थितिमा छ। यसपटकको चुनावमा यसको ज्यादै लज्जास्पद हार भएको छ। यो पार्टीले तत्काल के गर्ने भन्ने सोचिरहेको छैन तथापि मौका पार्दा धर्म र राजाको आडमा टाउको उठाउन खोजिरहन्छ। अर्को राजनीतिक धारमा प्रदेश नं २ मा बलियो उपस्थितिका साथ छिमेकी मुलुकको स्वार्थको एजेन्डा अगाडि सारेर आएको क्षेत्रीयतावादी मधेसवादी पुँजीवादी धार देखापरेको छ। यसले जहिल्यै पनि जाति र क्षेत्रको मुद्दा मात्र अघि सारी राजनीति गरेको छ र केही हदसम्म सफल भएको छ।

यी माथिका सबै राजनीतिक धारभन्दा बेग्लै विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको वरिपरि क्रान्तिकारी कम्युस्टीहरूको संगठनात्मक धु्रवीकरण र राजनीतिकरूपले प्रगतिशील, अग्रगामी र देशभक्त शक्ति भनिएकाहरूको धु्रवीकरण रहेको छ। यो शक्तिले दलाल पुँजीवादी सत्ता प्रतिक्रियावादी र संशोधनवादी आत्मसमर्पणवादी तत्वहरूलाई जनताको बीचबाट नङ्ग्याउने, एक्ल्याउने र प्रहार गर्न लागिरहेको छ। उसले लिएको चुनावी खारेजी अभियान यसको महत्वपूर्ण कडी हो। नेपाल कम्युनिस्ट पार्टीले यही माघ १५ गतेदेखि तीनमहिने जनजारण अभियान सञ्चालन गरेको छ। वाम गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेर सरकार बनेमा नेपालमा समाजवाद लागू हुन्छ भन्ने भ्रम फैलाइरहेको सन्दर्भमा उसले राजनीतिक भण्डाफोर अभियान सञ्चालन गरेको जनाएको छ। नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लाई नेकपाले राजनीतिक वैधानिकरूपमा कम्युनिस्ट मात्र नभएर सामान्य वामपन्थी पनि नरहेको निष्कर्ष निकालेको छ। उसले एमाले–माके गठबन्धनलाई सामाजिक दलाल पुँजीवादको संज्ञा दिएको छ।

नेपाली राजनीतिमा देखिएको नयाँ धु्रवीकरणले अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको प्रवेश, हस्तक्षेप र सक्रियता घट्नुको साटो झन् बढेर गएको छ। नेपाललाई सधैंभरि आफ्नो गुलाम बनाउन पल्केको भारत एमाले–माकेको गठबन्धनको बहुमतपछि सतर्कतापूर्वक नयाँ चाल चाल्ने कोशिस गरिरहेको छ। मुलुकमा पहिल्ला दिनहरूमा झन् राष्ट्रघात र जनघात बेहोर्नुपर्ने स्थिति अउने सम्भावना छ। मुलुकमा सरकार गठन भई नसकेको अवस्थामै भारत सरकारका प्रधानमन्त्रीले ओलीलाई भ्रमणको निम्ता गरिसकेको अवस्था छ। यसको अर्थ हो, नेपालमा अबको प्रधानमन्त्री बन्नेछ अर्थात् उसले कसलाई बनाउँदै छ भन्ने प्रस्ट देखिन्छ। औपचारिक निम्ताबिना नै हालै प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा आइपुगेकी सुष्मा स्वराजको भ्रमणले नेपालप्रति भारतको चलखेल अझ प्रस्ट भएको देखिन्छ। स्वराजले मूलतः चुनाव जितेका कम्युनिस्ट गठबन्धन र मधेसी दलका नेताहरूसँग भेटवाता गरिन्। एजेन्डाविहीन भ्रमणमा राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेट औपचारिक मात्र थियो भन्ने सहजै बुझिन्छ। उनले धेरै महत्व प्रतीक्षारत प्रधानमन्त्री नेकपा एमालेका अध्यक्षलाई दिइन्। कम्युनिस्ट गठबन्धनकै अर्को घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र मघेसी दलका नेताहरू उनको दोस्रो प्राथमिकतामा परे भने नेपाली कांग्रेसका नेता तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर सबैभन्दा उपेक्षित भए। उनको यो भ्रमणले नेपालको राजनीतिमा अदृश्य तरंग छाडेको छ। यसतर्फ आम नेपाली सचेत हुनुपर्दछ।

यता भ्रष्टाचार शून्य सहनशीलताको चर्को नारा घन्काएको अवस्थामा केपी ओलीले अवैध धनलाई वैध वनाउनुपर्ने अभिव्यक्ति दिएका छन्। हाई प्रोफाइलको नेतृत्वबाटै किन यस्तो अभिव्यक्ति आयो ? कसको दबाबमा यस्ता अभिव्यक्ति आए ? कतै यस्तो अभिव्यक्तिबाट उनले ठूलो रकम कुम्ल्याउन खोजेका त होइनन् ? प्रश्न सामान्य लागे पनि यसभित्रको अन्तर्य खोज्नु जरुरी छ। भावी प्रधानमन्त्रीसमेत हुने एउटा जिम्मेवार व्यक्तिबाट आएका अभिव्यक्तिलाई सामान्यरूपमा लिन सकिँदैन।
अन्त्यमा देशी–विदेशी प्रतिक्रियावादी तथा कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थी, संशोधनवादी, आत्मसमर्पणवादी तथा अवसरवादी धारले पारेको भ्रम र गोलचक्करलाई चिरेर क्रान्तिको प्रक्रियालाई अगाडि बढ्न जरुरी छ। तसर्थ कम्युनिस्ट क्रान्तिकारी शक्तिहरूबीचको एकता र धु्रवीकरणको आवश्यकताबोध एवं पहलकदमी नेकपाले जुन उचाइ र अग्रगामी सोचका साथ गरेको छ त्यही उचाइमा अन्य क्रान्ति चाहने कम्युनिस्ट तथा वामपन्थी तथा देशभक्ति शक्तिहरूले पनि गर्न जरुरी छ। खुला र छलछामरहित स्पष्टरूपमा बहस अगाडि बढ्नु जरुरी छ। यो नै अहिलेको आवश्यकता हो।

 

प्रतिक्रिया दिनुहोस्