मिस नेपाल प्रधानमन्त्री कपको सद्भावना दूत



नेपालगन्ज, (नेस)
नेपाली खेलकुदको प्रतिष्ठित प्रतियोगिता प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलले मिस नेपाललाई सद्भावना दूत अनुबन्धित गरेको छ।

मिस नेपाल वल्र्ड निकिता चन्दक प्रधानमन्त्री कपको पाँचौं संस्करणमा सद्भावना दूत नियुक्त भएकी हुन्। प्रधानमन्त्री कप आयोजक बाँके जिल्ला भलिबल संघले मिस नेपाल आयोजक हिडेन ट्रेजरसँग सहकार्य गर्ने सिलसिलामा सद्भावना दूत सम्बन्धी सम्झौता गरेको छ। बाँके भलिबल संघका अध्यक्ष टीएस ठकुरी र हिडेन ट्रेजरका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। संघका अध्यक्ष टीएस ठकुरीले भने– ‘महिला सशक्तीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको हिडेन ट्रेजर र प्रधानमन्त्री कपले पनि महिला सशक्तिकरणमा काम गर्दै आएकोमा हाम्रो उद्देश्य मिल्न गयो, र सहकार्य साझेदारी गर्दै अघि बढ्ने सोच बनाएका हौं।’

अबदेखि प्रधानमन्त्री कपका हरेक संस्करणमा मिस नेपाल नै सद्भावना दूत हुने बाँके जिल्ला भलिबल संघले जनाएको छ। सद्भावना दूत नियुक्त भइसकेपछि मिस नेपालले राष्ट्रिय खेल तथा प्रधानमन्त्री कपको प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ। खेल प्रतियोगितामा सद्भावना दूत नियुक्त गर्ने संस्कार प्रधानमन्त्री कपले नै थालेको हो। संघले पहिलोपटक दुई वर्षअघि चर्चित अभिनेत्री रेखा थापा र गत वर्ष राष्ट्रिय क्रिकेटर महेश क्षेत्रीलाई अनुबन्धित गरेको थियो।

प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल फागुन पहिलो साता नेपालगन्जमा सञ्चालन हुँदै छ। पाँचौ संस्करणमा ३ देशका टिमले प्रतिस्पर्धा गर्ने भएका छन्। लिगकम नकआउटका आधारमा फागुन ३ देखि ७ गतेसम्म हुने प्रतियोगितामा आयोजक टिमसँगै नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, न्यु डायमन्ड एकेडेमी, पश्चिमाञ्चल टिम पोखरा, देहरादुन (भारत) र बंगलादेशी क्लबले खेल्नेछन्। प्रतियोगिताको विजेताले २ लाख रुपियाँ, उपविजेताले १ लाख र तेस्रोले ५० हजार रुपियाँ पुरस्कार पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्