शेर्पाको एन्फा अध्यक्षमा उम्मेदवारी



नेपाल समाचारपत्र
काठमाडौं
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा शेर्पाको उम्मेदवारीसँगै पहिले नै अध्यक्ष पदमा लड्ने घोषणा गरेकाहरू इन्द्रमान तुलाधर र कृष्ण थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। एन्फाका पूर्व सीईओ तुलाधर शेर्पाका प्रस्तावक भए भने पूर्वराष्ट्रिय खेलाडी र प्रशिक्षक थापाले समर्थन गरेका हुन्। यो यु टर्नसँगै अब एन्फा अध्यक्षका लागि असन्तुष्ट पक्ष र संस्थागत पक्षबीच मात्रै चुनाव हुने पक्का भएको छ।

आगामी चैत १४ गते हुने एन्फा चुनावका लागि संस्थागत पक्षले अहिलेसम्म उम्मेदवारीको घोषणा गरेको छैन। जबकि उम्मेदवारी दिने मिति फागुन ४ गतेसम्म रहेको छ। येलो पेगोडामा भएको पत्रकार सम्मेलनमा शेर्पाका पक्षमा ए, बी र सी डिभिजनले समेत एकता देखाएका थिए।

शेर्पा गत वर्ष भएको एन्फा अध्यक्ष चुनावमा नरेन्द्र श्रेष्ठसँग ५ मतले पराजित भएका थिए। त्यतिबेला शेर्पासँग क्लबहरूको साथ नभएको हुँदा जित्न नसकेको थियो। यसपटक ठूलै दलबलका साथ शेर्पाको पक्षमा आएका छन्। गत चुनावमा साथ दिएकोमा पछुताएकाहरू अहिले शेर्पालाई सहयोग गर्न तयार भएका छन्।

संकटा क्लबका अध्यक्षसमेत रहेका तुलाधरले संस्थागत पक्षलाई त्यतिबेला सहयोग गर्नु कुनै पदका लागि नभएको पनि बताए। उनले नेपाल समाचारपत्रलाई बताए– ‘संस्थागत पक्षलाई धेरै सहयोग गरे। तर केही पनि काम गर्न सकिएन। केही होला नै भनेर कुरेको कुरेकै भयो। यस्तो तरिकाले फेरि सहयोग गर्नुको कुनै औचित्य छैन। यसैले पनि कर्मा दाइको पक्षमा अहिले उभिएको हुँ। वहाँले धेरै राम्रो गर्ने भिजन छ। वहाँलाई नै सहयोग गर्ने हेतुले मैले र कृष्ण दाइले उम्मेदवारी फिर्ता लिएको हुँ। हामी कुनै पदको बार्गेनिङ गर्न समर्थन गरेको पनि होइन। हामी नेपाली फुटबलकै विकास गर्न लागेका हांै।’

यसैगरी एन्फाका मानार्थ अध्यक्ष टाशी घले पनि यसपालि शेर्पाकै पक्षमा आएका छन्। उनले एन्फामा आफ्नो कुनै कुरा पनि नसुनिदिएको पनि गुनासो गरेका थिए। यस्तै एन्फाका उपाध्यक्ष पद छाडेर आएका वीरबहादुर खड्काले पनि शेर्पालाई नै समर्थन गर्ने भएका छन्। पूर्व राष्ट्रिय खेलाडी विज्ञानराज शर्माले पनि शेर्पालाई समर्थन गर्ने भएका छन्।

शेर्पाको यसपटकको भिजन पनि पहिलेकै जस्तै छन्। ग्रासरुटदेखि फुटबलको विकास गर्ने, संस्थामा आर्थिक पारदर्शिता गर्ने, विद्यालयस्तरदेखि नै फुटबल खेलाइने र क्लबहरूलाई स्थापित गर्ने उनको एजेन्डाहरू रहेका छन्। त्यस्तै उनले ७ प्रदेशमा १४ वटा एकेडेमी खोल्ने पनि बताएका छन्।

एन्फाको चुनावमा ४५ जिल्ला फुटबल संघ, १४ ए डिभिजन क्लब, ९ बी डिभिजन क्लब, ५ सी डिभिजन क्लब, ४ समिति (खेलाडी, प्रशिक्षक, महिला फुटबल, रेफ्री) गरी ७७ जना प्रतिनिधिले चुनावमा मतदान गर्ने प्रावधान रहेको छ। जसमध्ये ३ जिल्लामा निर्वाचन हुन बाँकी छ भने रेफ्री समितिको चुनाव पाटनको उच्च अदालतमा विचाराधीन छ।

प्रतिक्रिया दिनुहोस्