चार गुणा बढी शेयर रकम संकलन



गणेश घिमिरे, इलाम

पञ्चकन्या माई हाइड्रो पावर लिमिटेडमा ५० करोड रुपियाँ बराबरको शेयर रकम संकलन भएको छ। गत माघ ५ गतेदेखि २३ गतेसम्म शेयर आह्वाान गरेको यस जलविद्युत् आयोजनका लागि लक्ष्यभन्दा ३ गुणा बढी शेयर रकम संकलन भएको हो।

हाइड्रोले जम्मा ११ लाख कित्ता अर्थात् ११ करोड रुपियाँ शेयर निष्काशन गरेको थियो। हाइड्रोले अति प्रभावित र प्रभावितका लागि छुट्टाछुट्टै गरेर ११ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

अति प्रभावित भनेर सन्दकपुर गाउँपालिकाका लागि ६ लाख ६० हजार कित्ता (६० प्रतिशत) अर्थात् ६ करोड ६० लाख रुपियाँ र प्रभावित भनेर इलाम नगरपालिकामा ४ लाख ४० हजार कित्ता (४० प्रतिशत) अर्थात् ४ करोड ४० लाख रुपियाँ निष्कासन गरेको थियो। हाइड्रोका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानका अनुसार सन्दकपुर गाउँपालिकामा चाहिएभन्दा साढे दुईगुणा बढी शेयर रकम संकलन भएको छ। सो गाउँपालिकामा ६ लाख ६० हजार कित्ता शेयर निष्कासन गरेकामा १७ करोड रुपियाँ शेयर रकम संकलन भएको छ। यस्तै इलाम नगरपालिकामा ४ लाख ४० हजार कित्ता शेयर निष्कासन गरेकोमा ३३ करोड रुपियाँ शेयर रकम संकलन भएको छ। हाइड्रोले जिल्लाका ३ वटा बैंक सनराइज, प्रभु र लक्ष्मी बैंकसहित सन्दकपुर गाउँपालिकाको कार्यालय र माबु हाइड्रोको कार्यालयबाट शेयर रकम संकलन गरेको थियो। शेयरमा न्यूनतम २० कित्तादेखि अधिकतम ५ हजार ५ सय कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था रहेको थियो।

कम्पनीले इलाम सन्दकपुर गाउँपालिकास्थित माबु, माइमझुवा र सुलुबुङमा अप्पर माई जलविद्युत् आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई हाइड्रोपावर आयोजना सञ्चालनमा ल्याएको छ। त्यस्तै ६ दशमलव १ मेगावाटको क्यास्केड आयोजना पनि निर्माण सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्