सात नम्बर प्रदेशको पहिलो र ठूलो जलविद्युत् आयोजना चल्यो



राजु श्रेष्ठ, दार्चुला ।

प्रदेश नम्बर सात तथा साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा ठूलो जलविद्युत् आयोजना सञ्चालनमा आएको छ। सरकारी क्षेत्रबाट निर्माण भएको ३० मेगावाट उत्पादन क्षमता रहेको चमेलिया जलविद्युत् आयोजना शनिबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो।

शनिबार एक कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवाले चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन गर्नुभएको हो। प्रधानमन्त्री देउवाले आयोजना निर्माणसँगै आर्थिक सामाजिक विकासमा पनि सकारात्मक प्रभाव देखिएको बताउनुभयो। निर्माणका क्रममा समय र लागत बढे पनि यस आयोजना सम्पन्न भएसँगै त्यस क्षेत्रमा अन्य विद्युत् आयोजना निर्माणका लागि समेत ढोका खुलेको छ। आयोजना शुरू गर्ने तथा सञ्चालनमा ल्याउने अवसर आफूले पाएको भन्दै प्रधानमन्त्री देउवाले समग्र सात नम्बर प्रदेशको विकासका लागि चमेलिया कोशेढुंगा सावित हुने बताउनुभयो।

निर्माणका क्रममा समय र लागत बढे पनि चमेलिया जलविद्युत् आयोजना सम्पन्न भएसँगै त्यस क्षेत्रमा अन्य विद्युत् आयोजना निर्माणका लागिसमेत ढोका खुलेको छ।

ऊर्जामन्त्री कमल थापाले चमेलिया जलविद्युत् आयोजना निर्माणसँगै सुदूरपश्चिममा अन्य आयोजना निर्माणका लागि वातावरण सृजना भएको बताउनुभयो। आयोजनामार्फत स्थानीयस्तरमा विद्युत् पहुँच र विस्तारलाई प्राथमिकतामा राखिनुपर्नेे बताउँनुहुँदै मन्त्री थापाले त्यस क्षेत्रको पूर्वाधार विकास, औद्योगिकरणलगायत समग्र आर्थिक विकासका लागि ठूलो सहयोग पुग्ने धारणा राख्नुभयो।

ऊर्जा सचिव अनुपकुमार उपाध्यायले विभिन्न प्राविधिक कठिनाइ र नीति निर्मातालाई पनि समयमा निर्णय लिन नसकेका कारण उब्जिएका कठिनाइका बाबजुद आयोजना सम्पन्न भएको बताउनुभयो।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आयोजना निर्माणमा १५ अर्ब रुपियाँभन्दा बढी लागत लागेको र जसमध्ये ६ अर्ब १५ करोड रुपियाँ अत्तरिया–बलाँच १ सय ३१ किलोमिटर राष्ट्रिय प्रसारणलाइन, सबस्टेसन र विभिन्न सडक खण्ड निर्माणमा खर्च भएको जानकारी दिनुभयो। आयोजना लागत बढ्नुमा अमेरिकी डलरको विनिमयमा देखिएको वृद्धि पनि महवपूर्ण कारणका रूपमा देखिएको छ।

चमेलिया जलविद्युत् आयोजना निर्माणसँगै त्यस क्षेत्रका निर्माण भएका पूर्वाधारले अन्य आयोजना निर्माणका लागि सहयोग पुग्ने उहाँको भनाइ छ। त्यस क्षेत्रमा अहिले ९१ मेगावाट उत्पादन क्षमता बराबरका विद्युत् आयोजनाहरू निर्माणको क्रममा रहेका छन् भने २ सय ५० मेगावाट उत्पादन क्ष्ँमताका आधा दर्जन बढी आयोजनाको पीपीए सम्पन्न भइसकेको छ। घिसिङले चमेलिया निर्माणसँगै निजीक्षेत्रबाट पनि विभिन्न आयोजनामा लगानी गर्न आकर्षण देखिएको बताउनुभयो।

दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकामा निर्माण भएको चमेलिया जलविद्युत् आयोजना आर्थिक वर्ष २०६२/६३ मा राज्यको सन्तुलित विकासको अवधारणा अनुरूप अगाडि सारिएको थियो। आयोजना सञ्चालनमा आएसँगै यस क्षेत्रको विद्युत्को गुणस्तरीयता र प्रणाली सञ्चालनका लागि यसको महवपूर्ण भूमिका रहने ठानिएको छ। साथै यस आयोजनाको निर्माणले यस क्षेत्रमा भौतिक पूर्वाधारको पहुँचमा विस्तारका साथै हाल निर्माणाधीन र भविष्यमा निर्माण हुने अन्य धेरै आयोजनाका निर्माणका लागि ढोका खोलेको छ।

सन् २००८ मा ठेक्का सम्झौता भई निर्माण शुरू भएको यस आयोजनामा बढी लागत र कार्यान्वयनमा ढिलाइ भएका कारण आलोचना खेप्दै आएको छ। कठिन भौगोलिक अवस्थिति र सम्बद्ध भौर्गभिक संरचनालाई प्रारम्भिक अध्ययनका क्रममा ध्यान दिन नसेकेका कारण पनि आयोजना आलोचित बन्दै आएको थियो। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङका अनुसार निर्माणको क्रममा देखिएका कठिन भौगर्भिक समस्यालाई प्राविधिक जटिलताका रूपमा लिई तत्काल समाधान गरिनुको सट्टा शंकाको दृष्टिकोणले मात्र हेर्दा सिर्जित समस्याले करिब १८ महिना निर्माणाधीन आयोजना पूर्णरूपले बन्द हुनुपर्ने अवस्था आएको हो। सोही कारणले आयोजनाको लागत र समय दुवै बढेको घिसिङको भनाइ छ।

यसअघि पुस महिनाभित्रै आयोजनाबाट विद्युत् उत्पादन शुरू गरी राष्ट्रिय प्रसारणलाइनमा जोड्ने लक्ष्य रहे पनि बाँधमा समस्या देखिएपछि उत्पादन मिति एक महिना पर धकेलिएको थियो। आयोजनाको हालसम्मको खर्च एवम् निर्णय प्रक्रियामा रहेका विभिन्न ठेक्कासँग सम्बन्धित ‘भेरिएसन क्लेम’समेत गरी कुल लागत करिब १५ अर्ब रुपियाँभन्दा बढी अनुमान गरिएको छ। जसमध्ये विद्युत् गृहतर्फको जग्गा खरिद, सिभिल निर्माण र इलेक्ट्रो मेकानिकल तथा हाइड्रोमेकानिकल कार्यका लागि करिब ७ अर्ब ८४ करोड रुपियाँ खर्च भएको देखिन्छ। त्यसैगरी परामर्श सेवातर्फ करिब ६० करोड रुपियाँ गरी कुल ८ अर्ब ४४ करोड खर्च भएको छ।

१ सय ३१ किलोमिटर लम्बाइको बलाँच–अत्तरिया प्रसारण लाइन निर्माणमा २ अर्ब ५४ करोड रुपियाँ खर्च भएको छ। चारवटा सबस्टेशन निर्माण र थप ४४ केभी प्रसारण लाइन निर्माणमा १९ करोड ४८ लाख रुपियाँ लागत देखिन्छ। आयोजनाले सामाजिक विकास एवम् वातावरण संरक्षण कार्यमा ५ करोड रुपियाँ, मूल्य समायोजन, विदेशी मुद्रा सटहीमा भएको नोक्सानी र प्रशासनिक खर्चमा ३ अर्ब गरी ६ अर्ब १८ करोड ४८ लाख रुपियाँ खर्च भएको छ।

चमेलिया जलविद्युत् आयोजनाले तयार पारेका प्रसारण लाइनलगायत भौतिक संरचनाको उपयोग गरी ८ दशमलव ५ मेगावाट अपी हाइड्रो पावर कम्पनी सञ्चालनमा आइसकेको छ। ८५ मेगावाट माथिल्लो चमेलिया, १६ मेगावाट मध्य चमेलिया, ६५ मेगावाट कालिंगा गाड, र २५ मेगावाट छत्तिसगाडलगायत अन्य कतिपय आयोजनाको निर्माण शुरू हुने क्रममा रहेका छन्।

चमेलिया जलविद्युत् आयोजना चालू आर्थिक वर्षमा सरकारी क्षेत्रबाट निर्माण सम्पन्न हुन लागेको सबैभन्दा ठूलो आयोजना हो। आर्थिक विकास साझेदारी कोष (ईडीसीएफ) मार्फत नेपाल सरकार र दक्षिण कोरिया सरकारको संयुक्त लगानी रहेको आयोजना २०६३ साल पुसमा निर्माण कार्य थालिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्