भ्रष्टाचार आरोपमा पूर्वप्रधानमन्त्री जिया कारागार चलान



ढाका, (एजेन्सी)
बंगलादेशका पूर्वप्रधानमन्त्री तथा विपक्षी राजनीतिक पार्टीका नेतृ खालिदा जियालाई भ्रष्टाचारको आरोपमा शुक्रबार ५ वर्ष लामो कारवास सजाय तोकिएको छ।

७२ वर्षीया जियाले बालबालिकासम्बन्धी एउटा परोपकारी कोषलाई दिइएको अन्तर्राष्ट्रिय सहयोग हिनामिना गरेको आरोपमा सो सजाय तोकिएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ। जियाले भने उक्त अभियोग अस्वीकार गर्दैै आफूले कुनै रकम हिनामिना नगरेको अडान लिएकी छिन्। प्रहरीले अदालत भवनबाहिर एकत्रित उनका हजारौं समर्थकलाई अश्रुग्यास प्रहार गरेर तितरबितर पारेपछि राजधानी ढाकास्थित विशेष अदालतका न्यायाधीश मोहम्मद अख्तारुज्जमानले ६२ पुष्ठ लामो फैसला पढेर सुनाएका थिए।

यस अदालती कारबाहीका कारण पूर्वप्रधानमन्त्री जियाले यसै वर्षको उत्तरार्धतिर हुने संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने भएकी छिन्। बंगलादेशी प्रधानमन्त्री सेख हसिनाकी लामो समयदेखिकी राजनीतिक प्रतिस्पर्धी रहँदै आएकी जियाविरुद्ध अदालतमा विचाराधीन थुप्रैै मुद्दामध्ये एउटामा भएको फैसलामा उनलाई कारावास सजाए तोकिएको हो।

जियाले आफूविरुद्धका आरोप राजनीतिक पूर्वाग्रहबाट प्रभावित रहेको बताएकी छिन्। अदालतले उक्त सजाय तोकेको केही मिनेटमै जियालाई कारागार चलान गरिएको बिडिन्युज २४ लाई उद्घृत गर्दै बीबीसीले जनाएको छ। अदालतले भ्रष्टाचारकै अभियोगमा बेलायतको राजधानी लन्डनमा बसिरहेका जियाका छोरा तारिक रहमानलाई १० वर्ष र जियाका अन्य चार सहयोगीलाई पनि जनही १० वर्षकै कारावास सजाय सुनाएको छ।

जियाले आफू प्रधानमन्त्री भएका बेला अनाथ बालबालिकाका लागि स्थापना गरेको कोषलार्ई आएको करिब २ लाख ५२ हजार अमेरिकी डलर सहयोग भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहराइएको हो। उनीविरुद्ध लागेका अन्य मुद्दाका कारण उनले सन् २०१४ को निर्वाचनमा पनि भाग लिन पाएकी थिइनन्।

करिब २० वर्षपछि सन् १९९१ मा भएको बंगलादेशको पहिलो प्रजातान्त्रिक निर्वाचनमा बंगलादेशी नेसनालिस्ट पार्टी (बीएनपी)लाई नेतृत्व गर्दै विजयी बनाएर उनी बंगलादेशको प्रथम महिला प्रधानमन्त्री बन्न सफल भएकी थिइन्। त्यसपछि सन् २००१ मा पुनः बंगलादेशको प्रधानमन्त्री बनेकी उनी सन् २००६ मा भएको आम निर्वाचनको अगाडिसम्म पनि प्रधानमन्त्री रहेकी थिइन्। उनी बंगलादेशका पूर्वराष्ट्रपति स्वर्गीय जियाउर रहमानकी पत्नी हुन्। उनको राजनीतिक भविष्य विभिन्न भ्रष्टाचारको आरोप र अवामी लिगकी नेतृ तथा वर्तमान प्रधानमन्त्री सेख हसिनासँगको द्वन्द्वका कारण अप्ठेरोमा पर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्