धुलिखेललाई पानीमा आत्मनिर्भर बनाईँदै



मोतीराम तिमल्सिना, काभ्रे ।
धुलिखेल नगरपालिकालाई आगामी पाँच वर्ष भित्र पानीमा आत्मनिर्भर बनाउन प्रकृया शुरु भएको छ । भईरहेको खानेपानीको ब्यवस्थापनलाई अझै मित्त ब्यवस्थापन मार्फत जोगाउने र नयाँ नयाँ श्रोतहरु थप गरी पानीमा आत्मनिर्भर नगरपालिका बनाउने तयारी गरिएको छ ।

दिगो पानी ब्यवस्थापनका लागि निजी क्षेत्र सम्वन्धी कार्यशाला गोष्ठीमा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले नगरपालिकाका सबै वडाहरुमा खानेपानीको उपलब्धता गराउन पकृया शुरु गरिएको बताए ।

पुरानो धुलिखेलमा एकिकृत खानेपानीको ब्यवस्थापन गर्ने र वाँकी वडाहरुमा पानीका श्रोतहरुको पहिचान गरी पाँच वर्ष भित्र नगरका सबै वडाबासीहरुलाई पिउन योग्य स्मार्ट पानीको उपलब्ध गराउने गरी कार्य शुरु गरिएको नगर प्रमुख ब्याञ्जुले बताए । सोहि अभियानका लागि धुलिखेलमा पानी सम्मेलन हुँदैछ ।

पानी सम्मेलनमा हिजोको धुलिखेलमा पानीको अवस्था, आजको अवस्था र आगामी पचास वर्षमा धुलिखेलको अवस्थामा पानीको ब्यवस्थापनका बारेमा कार्यपत्र सहितको योजना बनाईनेछ ।

धुलिखेलमा साना ठुृला गरी ५० भन्दा धेरै होटलहरु संचालनमा छन् । फाईभ स्टार देखि साना साना होटलहरु रहेको धुलिखेललाई पर्यटकहरुको आर्कषण गर्न, भएका पर्यटकहरुको बसाई लम्ब्याउन, धुलिखेल अस्पताल, विश्वविद्यालय जस्ता संस्थाहरुमा भएको जनशक्तिलाई गुणस्तरीय र पर्याप्त पानी उपलब्ध गराउँदै नागरिकहरुलाई समेत गुणस्तरीय खानेपानी उपलब्ध गराउने नगरपालिकाले शुरु गरेको अभियानमा धुलिखेल उद्योग बाणिज्य संघ, क्षेत्रीय होटल संघ, साउथ एशिया इन्ष्टिच्युट अफ एडभान्सड स्डडिजले सहयोग गरिरहेका छन् ।

धुलिखेलमा आयोजित गोष्ठीमा नीजि क्षेत्रबाट पानीको ब्यवस्थापन कसरी गर्न सकिन्छ ? त्यसका लागि होटल, विद्यालय र नीजि क्षेत्रमा पानीको ब्यवस्थापन भएका उदाहरण प्रस्तुत गरिएको थियो ।

धरान उपमहानगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठले पानीको दिगो ब्यवस्थापन गर्ने घर परिवारलाई नगरपालिकाले दिएको सहुलियत र त्यहाँको अवस्थाका बारेमा जानकारी गराएका थिए । ठमेल इको रिसोर्टका केदार गजुरेलले गुणस्तरीय पानीका लागि होटलले गरेको ब्यवस्थापनका बारेमा जानकारी गराएका थिए ।

नेपाल उद्योग बाणिज्य संघका डा. उत्तम कुँवरले आकाशे पानी संकलन र स्मार्ट पानीको ब्यवस्थापनका बारेमा जानकारी गराएका थिए । सियासकी सुचिता ब्याञ्जु श्रेष्ठले धुलिखेल क्षेत्रमा संचालित होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, अटोमोवाईल्स, विद्यालय, अस्पताल, पोल्ट्री फार्म लगायतमा पानीको मित्त ब्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्