दुई कोरियाको संयुक्त मार्चपास



सियोल, (एजेन्सी)
प्योंगचांगमा भएको हिउँदे ओलम्पिक शुत्रबारबाट शुरू भएको छ। उद्घाटन समारोहमा आयोजक दक्षिण कोरियाले छिमेकी राष्ट्र उत्तर कोरियासँग एकताको नमुना पेश गरेको छ। उनीहरूका खेलाडीले दुबै कोरियाबीचको तनावमा पनि एउटै झण्डामुनि मार्च पास गरेका छन्। उत्तर कोरियाको आइस हकी खेलाडी चुंग गुम ह्वांग र दक्षिण कोरियाका बबस्लेडर वोन युन जोंगले सँगै झण्डा बोकेका थिए। यो विषयमा प्रतिक्रिया दिंदै ओलम्पिक अध्यक्ष थोमस बचले विभाजित गर्ने चाहेका शक्तिभन्दा हामी बलिया भएको बताएका छन्। ओलम्पिक रंगशालाभित्र ३५ हजार दर्शकले २ घण्टा अवधिको उद्घाटन समारोह रमाइलो गरेर हेरेको पनि सोल मिडियाले जनाएको छ।

उत्तर कोरियाले दक्षिण कोरियामा आयोजना हुने ओलम्पिकमा ५ खेलका लागि २२ खेलाडीलाई पठाएको छ। जसमा महिलाको आइस हकी खेलाडीले संयुक्त कोरियन टोलीबाट सहभागीता जनाउँदै छन्। संयुक्त रुपमा उनीहरूले गत आइतबार स्वीडेनविरुद्ध अभ्यास म्याच पनि खेलेका थिए। जसमा उनीहरू ३–१ ले पराजित भएका थिए।

ओलम्पिक उद्घाटन समारोहमा १ हजार २ सय १८ ड्रोन प्रयोग गरिएको थियो। जुन नयाँ गिनिज वल्र्ड रेकर्डसमेत बनेको छ। १८ दिनसम्म चल्ने यस प्रतियोगितामा २ हजार ९ सय २५ खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। जसअन्तर्गत १ सय २ स्वर्ण पदकका लागि हिउँसँग सम्बन्धित १५ खेलहरू खेलाइनेछ। कुल ९३ झन्डामुनि हुने उक्त प्रतियोगितामा यसपटक इक्वेडोर, इरिटिरिया, कोसोभो, मलेसिया, नाइजेरिया र सिंगापुरले पहिलो पटक प्रतिस्पर्धा गर्दै छन्।

८६ जना नोरो भाइरसबाट संक्रमित
जारी हिउँदे ओलम्पिकको चुनौतीका रुपमा नोरो भाइरसलाई लिइएको छ। बिहीबारसम्म नोरो भाइरसबाट ८६ जना संक्रमित भएको पुष्टि गरिएको छ। तर तीमध्ये कोही पनि खेलाडी परेका छैनन्। केसीडीपीका अनुसार संक्रमित ८६ मध्ये ५८ जना सुरक्षा दलका सदस्य रहेको बताइएको छ। त्यस्तै १२ जना प्रहरी र ७ जना ओलम्पिक कमिटीको कार्यसमितिका सदस्य रहेको जनाइएको छ। नोरो भाइरस खाध सामाग्रीको कारणबाट फैलिएको आशंका गरिएको छ।

रसियाली खेलाडी तटस्थ झन्डामुनि
ओलम्पिकबाट प्रतिबन्धित भएका रसियन खेलाडीले तटस्थ ओलम्पिक झण्डामुनि मार्च पास गरेका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले खेलकुदका लागि १ सय ६९ जना रसियालीहरूलाई निमन्त्रणा दिएको थियो। कोरिया पुगेका ती सबै रसियाली खेलाडीका लागि उचित बन्दोबस्तसमेत गरिएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले डोपिंगमा दोषी करार गर्दै रसियालाई यस प्रतियोगिता खेल्नबाट प्रतिबन्ध लगाएको थियो। तर अन्तर्राष्ट्रिय अदालत कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) ले डोपिंग गरेको प्रमाण अपुग भएको कारण उनीहरूलाई क्लिन चिट दिएको थियो। जसका कारण तटस्थ ओलम्पिक झन्डामुनि उनीहरूले प्रतिस्पर्धा गर्ने अनुमति पाएका हुन्।

प्रतिक्रिया दिनुहोस्