वनकुसुम महाकाव्य र देवकोटा



केशव अधिकारी
वि.सं. १९६६ मा जन्मेर अल्पायुमै २०१६ सालमा निधन हुने नेपाली साहित्यका महान् प्रतिभा तथा नेपाली साहित्यका महाकविको सम्मान पाएका लक्ष्मीप्रसाद देवकोटाले सयौँ फुटकर कविता, खण्डकाव्य तथा महाकाव्यसमेत लेखेका छन्। कविता विधाबाहेक कथा, निबन्ध, नाटक आदि विधामा समेत आफ्नो प्रतिभालाई सफलताका साथ पोख्न सकेका छन्। बाजी राखेर १० दिनमा महाकाव्य लेखी पूरा गर्न सफल देवकोटाले ६ वटाभन्दा बढी महाकाव्य नै लेखेका छन् भने खण्डकाव्य पनि धेरैवटा लेखेका छन्।

उनै लक्ष्मीप्रसादले लेखेका महाकाव्यमध्ये वनकुसुम महाकाव्य पनि एउटा उत्कृष्ट सिर्जनाको रूपमा रहेको पाइन्छ। यसभित्रका विभिन्न छन्दमा पोखिएका १० सर्गहरू हेर्दा कवि देवकोटा कहिले प्रकृतिको रमाइलो खोकिलामा रमाउन पुगेका छन् त कहिले आकाश वा शून्यमा हराउन पुगेका छन्। लावण्य देशका राजा महेन्द्रलाई देखाएर उमेर वृद्ध भए पनि मन बूढो नहुने भएकोले बूढा राजा महेन्द्रलाई मन्दारिका नामकी २४ वर्षिया कान्छी रानीका वशमा पारेका छन्।

कवि देवकोटाले महाकाव्यको प्रथम सर्गका १ देखि ६ श्लोकसम्मका श्लोकहरू शार्दूलविक्रीडित छन्दमा र बाँकी रहेका ८४ श्लोकहरू वसन्ततिलका छन्दमा रची जम्मा ९० श्लोकको पहिलो सर्ग रहेको छ। पहिलो सर्गको शुरुमा कविले मङ्गलाचरण सकेपछि लावण्य देश वा नगरका राजा महेन्द्र बूढा भइसकेका भए पनि २४ वर्ष उमेरकी मन्दारिका नामकी कान्छी रानीसँग खूब भुलेका छन्। कान्छी रानीले राजालाई खूब कज्याएकी छन्। राजाले रानीलाई माया गर्ने नाममा आफैँ रानीका वश परी बन्धनमा जेलिएका छन्। महाकाव्यको दोस्रो सर्गमा ९९ श्लोकहरू दु्रतविलम्बित छन्दमा रचना गरिएका छन्। यस सर्गमा कान्छी रानी पूरै सिँगारिएर बूढा राजालाई आफ्नै वशमा राख्न सफल भएकी छन्। उता राजाकी जेठी रानी भने सरल र धर्ममा निकै मन राख्ने खालकी छन्। तर जेठी रानीलाई राजदरबारको ढोका बन्द छ। जेठी रानीकै छोरा राजकुमार उत्तम वा नरेन्द्र १८ वर्षका नवयुवक छन्। उनी कान्छी रानीका लगि आँखाकै कसिङ्गर बन्न पुगेका छन्।

महाकाव्यको तेस्रो सर्ग स्वागता छन्दमा रचना भएर जम्मा ५६ श्लोकको आयाममा मात्र फैलिएको छ। यस सर्गमा कान्छी रानीले देख्न नसकेका राजकुमार नरेन्द्र वा उत्तम बूढा राजाका लागि भने आँखाको नानीसरह छन्। कन्छी रानीको वशमा सम्पूर्णरूपले फसिसकेका हुनाले राजकुमारमाथि कान्छी रानीले जस्तो व्यवहार गरे पनि त्यसको प्रतिवाद गर्न उनी सक्दैनन्। आफ्नो गर्भबाट जन्मेको छोरालाई राज्यको उत्तराधिकारी बनाउने सपना देख्छिन् कान्छी रानी। यही इच्छा पूरा गर्न र राजा महेन्द्रका विश्वासिला र युवक सेनापतिलाई आफ्नो वशमा पार्नको लागि उनी आफ्नो शरीर, रुप, यौवन आदिसमेत सुम्पन तयार छन्।

यस महाकाव्यको चौथो सर्गमा जम्मा ९५ श्लोक रहेका छन्। चौथो सर्गका सबै ९५ श्लोक नै शशीवदना छन्दमा रचिएका छन्। यस सर्गमा राजकुमार उत्तम वा नरेन्द्र कान्छी आमाको घृणित व्यवहारले वाक्क भएका हुन्छन्। उनी भौतिक सुखसयलभन्दा प्राकृतिक सुखसयलको खोजी गर्न मन पराउने विचारले वनतिर लाग्छन्। एक किसानको घरमा केही रात बास बसेका राजकुमारलाई कृषक जीवनले यति धेरै तान्छ कि उनी दरबार नफर्कने निधो गर्छन्।

वनकुसुम महाकाव्यको पाँचौं सर्गमा शार्दूलविक्रीडित छन्दका जम्मा ४६ श्लोक रहेका छन्। यस सर्गमा राजकुमार नरेन्द्र वा उत्तमको भेट वनकुसुमसँग हुने भएकोले यो सर्ग निकै महत्वको रहेको छ। घोडामा सवार राजकुमार मनोरम पहाडी झरनाको सामु रोकिएर त्यसको सुन्दरता नियाल्न थाल्छन्। त्यही झरनामा एउटी विछट्टै सुन्दरी युवती नुहाउन लागेकी हुन्छिन्। उनलाई राजकुमारले राम्ररी नियाल्छन् भने सुन्दरीका नजर पनि राजकुमारमाथि गढ्छन्। युवती राजकुमारदेखि केही लजाएको जस्तो नखरा पार्छिन्। छैटौँ सर्गमा हराएका राजकुमारको चिन्ताले दरबारमा खैलाबैला मच्चाएको छ। राजकुमार नरेन्द्र हराएपछि जेठी महारानी बढी चिन्तित भएर रुन थाल्छिन्। साथै राजा पनि चिन्तामा पर्छन् र मान्छे खोज्न पठाउँदा राजकुमार फेला पर्दैनन्। उता कान्छी रानीतिरको खुशीको सीमा नै रहँदैन। उनले राजा र सेनापतिलाई आफ्नो वशमा पारी आफ्नो छोरालाई राज्याभिशेक चाँडै गरिहाल्ने कुरालाई राजा स्वयम्ले पनि स्वीकृति दिएपछि राज्याभिशेकको धुमधाम तयारी हुन थाल्छ र यो छैटौँ सर्ग समाप्त हुन्छ। सातौं सर्गमा राजकुमार र नुहाउँदै गरेकी युवतीको बारेको प्रसङ्ग आउँछ। सुन्दर झरनामा नुहाउँदै गरेकी युवती नुहाइसकेर घर फर्कन लाग्दा राजकुमारको घोडा उनकै पछि लागेर जान्छ। ती दुवैका बीच कुराकानी हुन्छ। नुहाउने युवती वनकुसुमले राजकुमारलाई नचिने पनि आफ्नै घरमा बास बस्ने सल्लाह दिन्छिन्। राजकुमार युवतीको घरमा बास बस्न पुग्छन्।

वनकुसुम महाकाव्यको आठौँ सर्गमा वसन्ततिलका छन्दका जम्मा ५९ श्लोक मात्र रहेका छन्। यस सर्गमा राजदरबारका ८० बर्से बूढा मन्त्री विकटाक्ष निकै बुद्धिमान् देखिन्छन्। उनलाई राजकुमार पनि भागेर बेपत्ता भएको अनि राजा पनि कान्छी रानीको पे्रममा लम्पट भई राज्यको सारा वातावरण बिग्रेको कुराले निकै चिन्तित बनाएको छ। उनकी १७ वर्षकी प्रतिभा नामकी छोरीले उनको चिन्ताको कारण बुझेकीले राजकुमारलाई खोज्न जाने आँट गरे पनि विकटाक्षले शुरुमा रोक्छन्। तर पछि प्रतिभाले एक महिनामा राजकुमारको पत्ता लगाएरै छोड्ने प्रतिज्ञा गरेपछि अनुमति दिन्छन्। आफ्नो भेष बदलेर छोरो मान्छे बनेर गएकी प्रतिभाले किसानको घरमा बसेका राजकुमारको पत्तो लगाए पनि उनी दरबारमा फर्कन नमानेका मात्र होइन कृषककी कन्यासँगको पे्रमामा फसेको कुराले प्रतिभालाई समेत चिन्तित बनाउँछ। दरबारको अवस्था खराब भएकोले राजकुमारले फर्कनै पर्ने कुरा बताउँदा फर्कने प्रतिज्ञा गरे पनि किसानको मन दुख्ला भन्ने भयले फर्कन सक्दैनन्।

यस महाकाव्यको नवौँ सर्गमा दरबारको सन्दर्भ छ। दरबारमा कान्छी रानीका पाँच वर्षीय बालक छोरा राजगद्दीमा राखिन्छन्। बूढा राजाको सम्पूर्ण अधिकार खोसेर कान्छी रानीको प्रिय पात्र सेनापति मदनको हातमा सुम्पिनाले उसले अब मनपरी गर्न थाल्छ। अब बूढा राजालाई मार्ने षड्यन्त्रका तानाबाना बुनिन थाल्छन्। जसअनुसार कान्छी रानीको छोरो राजगद्दीमा कायमै रहने आश्वासन पाएपछि कान्छी रानीकै सल्लाहनुसार उनी स्वयंले ने बूढा राजालाई विष मिसाएको सर्बत खान दिन्छिन्। दैवसंयोग प्रतिभाले गुप्तचरको रुपमा राखेकी एउटी सम्भर नामकी केटीले विष मिलाएको देखेकी हुन्छे। उसले राति नै राजाले विषालु सर्बत पिउनुअगावै कान्छी रानीलाई फकाएर सुत्न पठाई उक्त खबर गोप्यरुपमा प्रतिभा र मन्त्री विकटाक्षलाई दिन्छे। नवौँ सर्ग यही कथानकको उचाइको विन्दुमा पुगेर समाप्त हुन्छ।

अन्तिम १० औं सर्गमा सम्भरले दिएको सूचनाले भोलिपल्ट बिहानै मन्त्री विकटाक्ष राजवैद्य लिएर दरबारमा आइपुग्छन्। राजा मरिसके भन्ने निश्चयका साथ सेनापति मदन सेनालाई आफूतिर एकोहो¥याई राजाको श्रीपेचसमेत लगाउँछ। बूढा राजा भने मन्त्रीका साथ आएर मदनलाई धिक्कार्छन्। राजालाई जिउँदै देखेर कान्छी रानीले तत्कालै आत्मदाह गरी मर्छिन्। मदन दरबारमा थुनिएका राजकुमार र वनकुसुमलाई झिकाउँछ। साँच्चैको मदनलाई अगाडि नै प्रतिभाले विष खुवाएर मारिसकेकी हुन्छिन् भने मदनको भेष बनाएर हिँड्ने त स्वयं प्रतिभा पो दरबारमा आएकी रहिछन् भन्ने रहस्य खुल्छ। त्यसपछि कान्छी रानीले गरेको व्यवहार सम्झेर राजा दुःखी बन्छन् भने प्रतिभाले गरेको बहादुरीको कामले राजा खुशी हुन पुग्छन्। यस्ती बहादुर प्रतिभासँग राजकुमारको विवाह गरिदिने कुरा चल्छ। तर प्रतिभाले मदनलाई फसाउनको लागि मदनलाई आफ्नो शरीर बेचिसकेकी हुनाले राजकुमारसँग आफ्नो जुठो शरीर जोडी मिल्न पनि नसक्ने र आफूले पनि विष सेवन गरेको कुरा जाहेर गर्दै ढल्न पुग्छिन्। उनी मर्नुभन्दा पहिले राजकुमारको विवाह अरुसँग नभएर वनकुसुमसँगै हुनुपर्ने प्रस्ताव राख्दै प्राण त्याग गर्दछिन्।

यसरी केवल १० सर्गमा फैलिएर बिट मरेको वनकुसुम महाकाव्य लक्ष्मीप्रसाद देवकोटाको पौराणिक विषयवस्तुको कल्पनाको मीठो र सुन्दर उडान हो। महाकविको दृष्टिमा राजा, राज्यको सुखभोग आदि भन्ने कुरा तुच्छ हुन् भने मिहिनेती शरीर, प्रकृतिमा रमाएको वा रमाउन र उडान भर्न सक्ने मानसिकता महान् विषय वा प्यारा विषय वस्तु हुन्। विभिन्न छन्दहरूको प्रयोग गरेर लेख्न सक्नु उनको विद्वताको प्रमाण हो भने कल्पनामा उड्न सक्नु र स्वर्गसम्म चियाउन सक्नु निकै आनन्दको विषय हो। त्यति धेरै समयसम्म महाकाव्य लेखनको उडानमा उड्दा कम्तीमा यो नारकीय परिवेशलाई भुल्न त सकियो नि।

प्रतिक्रिया दिनुहोस्