प्रधानमन्त्री नरेन्द्र मोदी प्यालेस्टाइन भ्रमणमा



नयाँदिल्ली, (एजेन्सी)
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार प्यालेस्टाइन, संयुक्त अरब इमिरेट्स र ओमानको भ्रमणका लागि प्रस्थान गरेका छन्। यस भ्रमणका क्रममा उनी आज प्यालेस्टाइनको वेस्ट बैंकस्थित रमाल्लाह जाने कार्यक्रम रहेको छ।

हालै मात्र भारतीय प्रधानमन्त्रीले इजरायका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गरेका थिए। त्यसपछिको प्योलेस्टाइनको उनको यो यात्राले उनको विदेश नीतिका बारेमा धेरै कुराको संकेत दिएको बताइएको छ।

गत महिना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनकी पत्नी भारत भ्रमणमा आएका थिए। उक्त भ्रमणमा अहमदावादको साबरमति आश्रममा उनी र उनकी पत्नीले चर्खा चलाएका थिए।

प्रधानमन्त्री मोदीको चार दिवसीय ३ देशको भ्रमणमा पहिलो देश प्यालेस्टाइनमा उनले राष्ट्रपति महमुद अब्बाससँग भेटवार्ता गर्नेछन् र यासिर अराफातको स्मरणमा बनाइएको संग्रहालयमा पनि जानेछन्।

इजरायल र प्यालेस्टायनबीच जारी गतिरोधमा उनको यो यात्रालाई अत्यन्त महत्त्वपूर्ण मानिएको छ। रमाल्लाहको भ्रमणका क्रममा त्यहाँबाट कुनै साझा घोषणापत्र जारी हुन्छ वा हुँदैन अहिलेको चासोको विषय भएको संयुक्त राष्ट्र संघका पूर्वउपमहासचिव चिनमय गरेखानले बताए। यदि त्यस्तो भएमा त्यसमा विशेष गरी पूर्वी जेरुसलमका बारेमा केही भनिएको छ वा छैन हेर्नुपर्ने पनि उनले बताए। प्यालेस्टाइनले उसको राजधानी पूर्वी जेरुसलम हुनुपर्ने माग गर्दै आइरहेको छ भने इजरायलले त्यसलाई मनपराएको छैन। हालै मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसलमलाई इजरायलको राजधानी मान्ने घोषणा गरेका थिए। संयुक्त राष्ट्रमा जेरुसलमलाई लिएर भएको मतदानमा भारतले प्यालेस्टाइनको पक्षमा मत हालेका थिए। यसअघि सन् २०१५ जुलाइमा भारतले संयुक्त राष्ट्र मानवअधिकार परिषद्मा इजरायलविरुद्ध निन्दा प्रस्तावको मतदानबाट आफूलाई अलग्याएका थिए।

मोदीको भ्रमणलाई लिएर प्यालेस्टाइनमा खुसीको माहोल छ। यसमा अहिलेसम्म इजरायलको कुनै प्रतिक्रिया आएको छैन। मोदीको ४ दिने भ्रमणका क्रममा कयौं महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्