कृले ब्युँतायो बिहानी शो मन पराइयो अनमोलको न्यु लुक्स



विदुर गिरी

शुक्रबार रिलिजमा आएको बहुप्रतिष्ठित फिल्म कृले सिनेमा हलको बिहानी शोसमेत ब्युताउँदै सुखद् ओपनिङ गरेको छ। ‘पहिले–पहिले मर्निङ शोमा १०⁄२० जना मान्छे देखिन्थे। शुक्रबार त कृ हेर्न चाहने दर्शकको भीडले धेरैजसो हल हाउसफुल देखियो’, वितरक गोपाल कायस्थले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भने– ‘हिन्दी फिल्म प्याडम्यानसँगै रिलिजमा आए पनि कृको ओपनिङ राम्रो भयो।’

निर्माण शुरू भएयता अर्थात् २ वर्षदेखि नै चर्चामा रहेको अनमोल केसी स्टारर यो फिल्मको रिलिजअघि नै बुधबार र बिहीबार राजधानीका धेरैजसो हलबाट नगदमै टिकट बिक्री भयो। मल्टिप्लेक्स हलहरूले यसअघिका फिल्मलाई अनलाइन टिकट बुकिङको सुविधा दिँदै आएकोमा कृका लागि भने अनलाइन बुकिङ लिएन, सीधै टिकट बिक्री ग¥यो। ‘पहिले त अनलाइन बुकिङ नै नलिएको देखेर टेन्सन भएको थियो, तर पछि बुझियो अनलाइन बुकिङको साटो सीधै पहिले नै टिकट बिक्री गरिएको रहेछ’, फिल्मका निर्माता सुवास गिरीले भने– ‘यो सिस्टम हिन्दी फिल्म पद्मावतबाट शुरू गरिएको रहेछ र कृमा पनि ट्रायल गरिएको रहेछ। बिहीबार रातिसम्म नै एडभान्समा ७५ प्रतिशत टिकट भइसकेको रिपोर्ट पाउँदा खुसी लाग्यो। शुक्रबारको रिजल्ट र अडियन्स रेस्पोन्सले उत्साहित बनाएको छ। स्टक्चरमा बनाएको फिल्मले राम्रो परिणाम दिने आशा गरेका छौं।’

अनमोललाई नयाँ लुक्समा प्रस्तुत गरिएको फिल्म हेर्नका लागि यसपटक सिंगल र मल्टिप्लेक्स दुवै हलमा दर्शकको ओइरो लागेको छ। यसअघि उनका फिल्म मल्टिप्लेक्स हलमा मात्र हाउसफुल हुने गर्थे। फिल्मका अर्का निर्माता तथा अनमोल पिता भुवन केसीले दर्शक प्रतिक्रिया राम्रो पाएको बताए। ‘पब्लिक रिभ्यु राम्रो आएको छ। फिल्म हेर्ने सबैले मेसेज ओरेन्टड छ भनेका छन्। अनमोलको एक्सन र डिफरेन्ट लुकिङ दर्शकले मन पराए’, भुवनले भने– ‘अनमोलले कृमा जुन काम गरेको छ, त्यो गभरमेन्टले गर्नुपर्ने काम हो भन्ने भनाइ अडियन्सको पाएँ। यसले इन्टरटेनमेन्टसँगै राम्रो मेसेज पनि दिएको छ।’

करिब ३ करोड रुपियाँको लगानीमा २ वर्ष लगाएर निर्माण गरिएको फिल्मले शुक्रबार मात्रै अल नेपाल १ सय १७ शो पाएको छ। हिन्दुस्तानको पद्मावत चलिरहेको र प्याडम्यानसमेत थपिएको अवस्थामा यो नेपाली फिल्मले पाएको शो संख्या अत्याधिक हो। ‘यसपालि क्यास बुकिङले पनि राम्रो काम ग¥यो। अनलाइनबाट टिकट बुकिङ गर्दा बुकिङमा हाउसफुल, हल खाली देखिन्थ्यो। तर कृको सवालमा क्यास बुकिङ सिस्टमले बुकिङ र हल दुवै हाउसफुल देखियो’, भुवनले भने– ‘काठमाडौंबाहिरबाट पनि राम्रो रेस्पोन्स आएको छ।’

थोरै तर उत्कृष्ठ फिल्ममात्र खेली चुजी स्टारका रूपमा देखा पर्दैआएका अनमोल दुई वर्षको अन्तरालपछि कृमा देखिएका हुन्। अनमोललाई फिल्मको कथाको मागअनुसार प्रस्तुत गर्न फिल्म निर्माणमा २ वर्ष समय लागेको थियो। यसको कथाअनुसार लामो समय घरमै व्यायाम गराउने र सिकाउने मान्छेको व्यवस्था गरी अनमोलको सिक्स प्याक बडी निर्माण गरिएको थियो भने यसको १४ मिनेट लामो रोमाञ्चकारी क्लाइमेक्स सिनका लागि १९ दिन खर्च गरिएको थियो। त्यसका लागि काठमाडौंमा उपलब्ध सबै लाइट कृले लगिदिँदा अन्य फिल्मको सुटिङका लागि लाइटकै अभाव भएको थियो। निर्माण युनिटले भनेजस्तो सरसुविधा उपलब्ध गराएपछि द्वन्द्व निर्देशक चन्द्र पन्त र छायांकार पुरुषोत्तम प्रधानले यसको क्लाइमेक्स दृश्यका लागि ठूलो मेहनत गरेका थिए भने अनमोलले पनि उत्तिकै लगनशील भई काम गरेका थिए।

अनमोलको क्रेजलाई हेरेर आनन्दले काम गराउने व्यवस्था मिलाउन काठमाडौंबाहिरको सुटिङ सेड्युलमा उनका लागि चौबिसै घण्टा बडी गार्ड उपलब्ध गराइएको थियो। बलिउड फिल्ममा जस्तै यसको सुटिङ ३ चरण लगाएर गरिएको थियो। पहिलो चरणको सुटिङका लागि अनमोलले शरीर तयार गर्न समय लिएका थिए। त्यसपछिको सुटिङका लागि उनले तौल र शरीर घटाएका थिए भने तेस्रो चरणको सुटिङअन्तर्गत गीतमा रोमान्टिक देखिन आफूलाई मेन्टेन गरेका थिए। अघिल्ला फिल्ममा लभर ब्वाइको भूमिका गरी मन जितेका अनमोल यसमा एंग्री ब्वाइका रूपमा जमेका छन्। यसको एउटा गीत २ साताअघि मात्र स्कटल्यान्डमा गएर खिचिएको थियो। फिल्म सुपर काजल फिल्म्स र सुवास इन्टरटेमेन्ट प्रोडक्सनको ब्यानरमा भुवन केसी र सुवास गिरीले निर्माण गरेका हुन्। केहीअगाडि मात्र फिल्म लुट–२ बाट फिल्म सम्पादक विधामा लक्स कामना फिल्म अवार्डस् २०७४ चुमेका सुरेन्द्र पौडेलले यसको निर्देशन गरेका छन्।

फिल्ममा अनमोलका साथ अनुपविक्रम शाही फरक भूमिकामा देखिएका छन्। हिरोका रूपमा देखिँदै आएका अनुपविक्रम यसमा नेगेटिभ हिरोका रूपमा छन्। माया प्रेमका साथ बदलाको कथामा बनेको फिल्ममा बलिउडमा समेत स्थापित मोडल अदिती बुढाथोकीले नायिकाका रूपमा डेब्यु पाएकी छिन्। फिल्ममा संगीत अलमोडा उप्रेती राणा र विशेष पाण्डे, नृत्य रेनेशा वान्तवा राई, एञ्जिला र विक्रम, द्वन्द्व चन्द्र पन्त, छायांकन पुरुषोत्तम प्रधान तथा सम्पादन र कथा लेखन निर्देशक पौडेलकै रहेको छ।

प्रतिक्रिया दिनुहोस्