नाम फेरिएका ५ बलिउड फिल्म



रश्मी थापा

केह समयअघि मात्र सञ्जयलीला भंसाली निर्देशित बलिउड फिल्म पद्मावत रिलिज भयो। रिलिजअघि पद्मावतीको नामले बहुचर्चित यो फिल्मले चरम विवादको बाबजुद राम्रो ब्यारिक रेकर्ड राख्न सफल भयो। तर नाम परिवर्तन गरेर रिलिज गरिएको पद्मावत नै बलिउडको पहिलो फिल्म भने होइन।

बलिउडमा त्यस्ता केही फिल्म छन्, जो विभिन्न मामलाका कारण नाम परिवर्तन गरी रिलिज भएका थिए। यी फिल्ममध्ये केही नाम काटिएर रिलिज गरिएका छन् भने केहीमा नामको अगाडि पछाडिका शब्द थपिएका छन्। ती फिल्म यस्ता छन्।

बिल्लु
इरफान खान तथा शाहरुख खान अभिनित यो फिल्मको पनि रिलिजअगाडि नाम परिवर्तन गरिएको हो। यो फिल्मको नाम पहिले बिल्लु बारबर तय भएको थियो। तर बारबर अथवा नाई समुदायका मानिसले फिल्ममा बारबर शब्दको गलत तरिकाले प्रयोग गरिएको भनेर विरोध गरेपश्चात् शाहरुख खानले बिल्लु बारबारबाट बारबर शब्द हटाउने निर्णय गरेका थिए।

आर…राजकुमार
शाहिद कपुर अभिनित यस फिल्मको नाम पहिले रेम्बो राजकुमार राखिएको थियो। तर पछि हलिउड फिल्म रेम्बोका मुख्य अभिनेता तथा निर्देशक सिल्वेस्टरले आपत्ति जनाएका कारण फिल्मको नाम आर… राजकुमार राखिएको थियो।

दाग – द फाएर
सन् १९९९ मा रिलिज सञ्जय दत्तको यस फिल्मको नाम पहिले दाग मात्र राखिएको थियो। यही नामको बलिउड फिल्म सन् १९७३ मै रिलिज भइसकेको थियो। जसमा नायक राजेश खन्ना मुख्य भूमिकामा थिए। सो फिल्मका निर्माताले यो फिल्मको नामप्रति आपत्ति जनाएका कारण यस नामको पछाडि द फायर थपिएको थियो।

टोटल सियापा
सन् २०१४ मा रिलिजमा आएको यो फिल्मको नाम पहिले अमनकी आशा राखिएको थियो। यो नामप्रति केही भारतीय मिडिया समूहको अधिकार थियो। यस नामप्रति आपत्ति आएपछि नाम बदलेर टोटल सिपाया राखिएको थियो।

गोलीयोकी रास लीला
सञ्जय लीला भंसाली पहिले पनि फिल्मको नामका कारण विवादमा परेर फिल्मको नाम परिवर्तन गरिसकेका निर्देशक हुन्। उनको फिल्म गोलीयोकी रास लीलाको नाम रिलिजभन्दा अघि रामलीला राखिएको थियो। तर सेन्सर बोर्डको अवरोधका कारण नाम परिवर्तन गर्नुपरेको थियो। यो फिल्ममा पनि पद्मावतमा जस्तै रणवीर सिंह र दीपिका पादुकोण प्रमुख भूमिकामा थिए।

 

प्रतिक्रिया दिनुहोस्