स्याउ बगैँचा व्यवस्थापनमा ब्यस्त कर्णालीका कृषक



कालीबहादुर मल्ल, कालिकोट । कर्णाली अंचलका कालिकोट, हुम्ला, जुम्ला र मुगुका किसानहरु स्याउ बगैंचा र बिरुवा छाँटकाट गर्न ब्यस्त रहेका छन् । स्याउको बिरुवामा छाँटकाट र मल तथा पानी दिन व्यस्त भएका हुन् ।

स्याउका बिरुवाका लागि माघदेखि फागुनसम्म बिरुवा लगाउने र ठूलो विरुवा काँटछाँट गर्ने गरिन्छ ।

यो समयमा विरुवाको राम्रो स्याहार गरे उत्पादन राम्रो हुने भएकाले यहाँका अधिकांश किसान स्याउको बगैंचा हेरचाहमा व्यस्त रहेका कृषि विकास कार्यालय कालिकोटका बागवानी अधिकृत भक्तिराम शर्माले बताए ।

‘पछिल्ला वर्षहरुमा कर्णालीका किसानहरु स्याउ खेती गर्ने संख्या बढ्दै गएको छन् ।’ उनले भने,‘हिउँदको समयमा विरुवालाई मल र पानी दिएर उत्पादन बढाउन सकिन्छ ।’

राष्ट्रिय सडक संजालले कर्णालीलाई छोएपछि यहाँका मानिसको आर्थिक आम्दानीको स्रोत स्याउ भएको अहिले किसानहरु ध्यान स्याउमा बढी जाने गरेको अधिकृत शर्माले बताए । ‘कर्णालीको आर्थिक आधार भनेको स्याउ हो ।’ उनले भने,‘किसानहरुको पहिलो रोजाई अहिले स्याउ बनेको छ ।’

जुम्लाका १८ हजार घरधुरीमध्ये १६ हजार घरधुरीले स्याउ खेती गर्ने गरेको र स्याउ उत्पादनमासमेत वृद्धि हुँदै आएका कारणले अहिले स्याउ किसानहरु स्याउको बिरुवाका काटछाँटमा ब्यस्त रहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी बालकराम देवकोटाले बताए ।

‘जिल्लाका १८ हजार घरधुरीमध्ये १६ हजार घरधुरी स्याउ बगैंचा व्यवस्थापन कार्यक्रम सञ्चालन गरेका छन् ।’ उनले भने,‘अहिले किसानहरु स्याउ बगैचा ब्यवस्थापनमा लागेका छन् ।’

कर्णालीबाट बार्षिक १ अर्ब बराबरको स्याउ उत्पादन हुने गरेको अनुमान कृषि विकास कार्यालयहरुले गर्ने गरेका छन् ।

कृषि विकास कार्यालय जम्लाले हाड सिंजा, नराकोट, तातोपानी र डिल्लीचौर कृषि सेवा केन्द्र तथा गज्र्याङ्कोट, देपालगाउँ र चन्दननाथ नगरपालिकामा व्यवस्थापन सप्ताह सञ्चालन आजैदेखि सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्