प्रदेश ७ को सभामुखमा थापा



विमल विष्ट, डोटी । ७ नम्बर प्रदेश सभाको सभामुखका लागि नेकाप (एमाले)ले बझाङका प्रदेश सांसद अर्जुनबहादुर थापालाई उम्मेदवार बनाउने निश्चित भएको छ ।
शनिबार हुने सभामुख पदको मनोनयनका लागि थापालाई आधिकारिक रूपम उम्मेदवार बनाइने भएको छ । एमाले उपाध्यक्ष तथा प्रदेश संयोजक भीमबहादुर रावल र सहसंयोजक कर्णबहादुर थापाले सभामुखको उम्मेदवारको टुंगो लगाउनु भएको हो ।

‘दुवै नेता सांसद थापाका पक्षमा सकारात्मक हुनुहुन्छ’ एमालेका एकजना नेताले भन्नु भयो – ‘उहाँको उम्मेदवारीबारे औपचारिक रूपमा घोषणा गर्न मात्रै बाँकी छ,सबै कुरा मिली सक्यो ।’

७ नम्बर प्रदेश सभा (संसद) को सभामुखका लागि शनिबार मनोनयनपत्र दाखिला र २९ गते सोमबार चुनाव हुने कार्यक्रम छ । प्रदेश सभा संसदमा एमालेका २५ र माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राजपाका दुई जना सांसद छन् ।

६२ वर्षीय थापा बझाङ क्षेत्र नम्वर १ (क) बाट विजयी सांसद हुन् । २०३६ सालमा शिक्षक संगठनबाट राजनीतिमा प्रवेश गर्नुभएका थापा एमाले बझाङका अध्यक्ष समेत भईसक्नु भएको छ । उहाँ २०५६ को आमचुनावमा थोरै मतले प्रतिनिधि सभा सदस्यमा पराजित हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्