वसन्तले नेपाललाई रोमाञ्चक जित दिलाए



नेपाल समाचारपत्र
काठमाडौं

नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा रोमाञ्चक जित हात पार्दै सुखद शुरूआत गरेको छ। घरेलु टोलीले दिएको १ सय ३९ रनको लक्ष्य नेपालले ९ विकेट गुमाएर ४ बल बाँकी राखेर नेपालले जितेको हो। नेपाललाई जित दिलाउन वसन्त रेग्मीको आक्रमक ब्याटिङ कारक बन्यो। बिहीबार नामिबियाविरुद्धको खेलमा अन्तिम २ ओभरमा वसन्तले एक छक्का र एक चौका प्रहार गर्दै नेपाली टोलीका लागि खुसी ल्याएर जित सम्भव गराएका हुन्।

नेपालले जित्न अन्तिम ६ बलमा ७ रन बनाउनुपर्ने समीकरण थियो। नेपालको अन्तिम जोडी क्रिजमा थिए। वसन्त रेग्मी र सन्दीप लामिछानेमाथि नेपाललाई जित दिलाउन ठूलै दबाब थियो। पछिल्लो ओभरमा वसन्तले एक छक्का प्रहार गरेर पनि नेपाललाई अन्तिममा जित्न केही रनको मात्रै आवश्यक भएको थियो। पहिलो बलमा २ रन र दोस्रो बलमा चौका प्रहार गरेपछि नेपालले नामिबियाको स्कोर १ सय ३८ सँग बराबरी गर्यो। अर्को बल वाइड फ्यालिएपछि नेपालले जित आत्मसात गर्यो।

वसन्त २४ बलमा २ चौका र १ छक्काको सहयोगमा २४ रनमै नटआउट रहे भने सन्दीप १ रनमा नटआउट थिए। नवौं विकेट रूपमा १ सय २१ को स्कोरमा सोमपाल १३ रन बनाएर आउट भएपछि नेपाल हार्ने संभावना बढी भएको थियो। तर वसन्त एक्लैले १८ रन जोडेर नेपालले नामिबियासँग नहार्ने यात्रा लम्ब्याएको छ। नेपालले नामिबियालाई चार खेलमै हराएको छ।

यसअघि नेपालको ब्याटिङ ज्यादै खराब भएको थियो। ज्ञानेन्द्र मल्ल र दिलीप नाथलाई ओपनिङमा ल्याएपनि दिलीप कुनै रन नजोडी आउट भए। यसले फेरि एकपटक नेपालको ओपनिङ ब्याटस्म्यान जम्न नसकेको क्रमलाई दोहोर्यायो। कप्तान पारस खड्का (१९ रन) पनि २ चौका प्रहार गरेर छिटै आउट भए भने आरिफ शेख (०), ज्ञानेन्द्र (१५ रन) र दिपेन्द्र सिंह ऐरी (६ रन) समेत क्रिजमा धेरैबेर जम्ने कोसिस गरेनन्। योसँगै करण केसी (३ न) छैटो विकेटका रूपमा आउट हुँदा नेपालको स्कोर ५६ रन थियो।
शरद भेषवाकर र रोहित कुमार पौडेलले स्कोर ९३ रनसम्म पुर्याएर जितको लागि आधार तयार गरेका थिए। २९ रनको महत्त्वपूर्ण योगदान दिएर शरद सातौं विकेटको रूपमा आउट भए। ६७ बलको सामना गरेका शरदको इनिङमा तीन चौका सामेल थिए। रोहित पहिलोपटक सिनियरतर्फबाट खेले पनि क्रिजमा धेरै बेर टिकेर आसलाग्दो ब्याटिङ गरे। उनले ६० बलमा २ चौकाको सहयोगमा १७ रन योगदान दिएका थिए।
बलिङमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेका थिए। सोमपाल र सन्दीप चम्केपछि नामिबिया १ सय ३८ रनमै रोकिएको थियो। सोमपालले ७ ओभरमा ३५ रन दिएर ३ विकेट लिँदा सन्दीप विकेट लिनेमा र रन दिनेमा किफायती बनेका थिए। ८ दशमलव २ ओभरमा २ मेडनसहित ४ विकेट लिँदा १८ रन मात्रै उनले खर्चेका थिए। यसपछि वसन्त, सरद र पारसले एक–एक विकेट लिएका थिए। नामिबियाको तर्फबाट क्रेग विलियम्सले सर्वाधिक ४१ रन बनाए।

प्रतिक्रिया दिनुहोस्