अशोक शर्मा जय भोलेका साथ



फिल्ममा फर्कंदै
निर्माता, निर्देशक, अभिनेता तथा वितरक अशोक शर्मा १ दशकभन्दा लामो समयपछि पुनः फिल्म निर्माण र निर्देशन क्षेत्रमा फर्किएका छन्। उनी जय भोले नामक फिल्मका साथ पुनर्निर्माण र निर्देशनको क्षेत्रमा फर्किएका हुन्।

बिहीबार राजधानीमा फिल्म निर्माण घोषणा कार्यक्रम आयोजना गर्दै शर्माले फिल्म क्षेत्रलाई अर्को ढंगले अगाडि बढाउने कार्य सम्पन्न गरी पुनः यो क्षेत्रमा फर्केको बताए। ‘फिल्म निर्माण र निर्देशन गरिरहेको बेला डीसीएन (डिजिटल सिनेमा नेपाल) ले अहिलेकै स्थितिबाट यो फिल्म उद्योग अगाडि बढाए पछि गएर यो उद्योग नै रहँदैन। अब हामी नयाँ ढंगले जानुपर्छ भन्दै सहकार्यका लागि बोलायो। त्यो बेलामा डीसीएनका साथीहरू जय नेपालले रेन्युभेट गरेर हिन्दी फिल्म चलाइरहनुभएको थियो।

जहाँ हिन्दी फिल्म चलाइन्थ्यो। म हिन्दी फिल्मको ठूलो विरोधी थिएँ, नेपाली फिल्मको पक्षमा आवाज बुलन्द गरेर लडिरहेको थिएँ। त्यो बेलामा उहाँहरूसँग सहकार्य गर्नु मेरो लागि ठूलो चुनौती थियो’, लाजिम्पाटस्थित र्याडिसन होटलमा आयोजित कार्यक्रममा शर्माले भने– ‘त्यो चुनौतीलाई स्वीकार्दै डिजिटल टेक्नोलोजीमा जाने गरी डीसीएनमा आबद्ध हुँदा मलाई विदेशी फिल्मको दलाल भनियो। मेरो कारण जय नेपाल हलमा अवरोध गरिँदा उहाँहरूलाई पनि समस्या पर्यो। तर, हामी एकढिक्का भएर काम गरिरह्यौं। आज आएर डिजिटल प्रविधिकै कारण ५०⁄६० लाखको ग्रस कलेक्सनमा सीमित फिल्म उद्योग १८⁄२० करोड ग्रस कलेक्सन गर्न सक्षम भएको छ। फिल्मको कारोबार पारदर्शी भए केही वर्षपछि नेपाली फिल्म ५० करोडको ग्रस कलेक्सन गर्न सक्षम हुनेछ।’ शर्माले एक दशकसम्मको समय फिल्म निर्माण र निर्देशनमा नआउनुको कारण खुलाउँदै भने– ‘त्यहाँ रहेर १०⁄१२ वर्ष मेरो फिल्म निर्माण र निर्देशन क्षेत्रमा ब्रेक लाग्यो। तर, फिल्म उद्योग अगाडि बढ्यो। फिल्म उद्योगका लागि काम गरिसकेपछि अब फेरि फिल्म निर्माण र निर्देशनकै क्षेत्रमा फर्केको छु। राम्रो फिल्म बनाउने कोशिस गर्नेछु। रिजल्ट दर्शकको हातको कुरा हो।’

भगवान् शिवका भक्त शर्माको जय भोले शिवरात्रिका दिन अर्थात् आगामी फागुन १ गते सुटिङ फ्लोरमा जानेछ र आगामी २०७५ साल दशैंको फूलपातीका दिन रिलिजमा आउनेछ। फिल्मको मुख्य पात्रमा पशुपतिप्रसाद खगेन्द्र लामिछाने हुनेछन् भने यसमा कथा, पटकथा र संवाद पनि उनकै रहेको छ। कार्यक्रममा लामिछानेले राम्रो स्क्रिफ्टको अभावमा आफूले खेल्ने फिल्म आफैंले लेखेको दाबी गरे। ‘म फिल्म क्षेत्रमा आएको ५ वर्ष भयो। अशोक शर्मा ३५ वर्षदेखि हुनुहुन्छ। अहिलेका साथीहरूमा म आफूलाई नै तीव्र गतिमा स्क्रिफ्ट लेख्छु भन्ठान्छु। तर, स्क्रिफ्ट लेख्दै जाँदा उहाँको जोश र ऊर्जा देखेर आफूलाई नै सुस्त रहेछु भन्ने महसुस गरें’, लामिछानेले भने– ‘कतिपय देशमा अहिले पनि फिल्म उद्योग नै छैन। तर, अग्रजहरूले हामीकहाँ फिल्म उद्योग बनाइदिनुभएको छ। उहाँहरूले बनाइदिएकै बाटोलाई मिलाउँदै अगाडि बढिरहेका छौं।’

नायिका स्वस्तिमा खड्का भने निर्धारित समयभन्दा १ घण्टा ढिलो गरी कार्यक्रममा पुगेपछि आलोचनाको पात्र भइन्। ‘ढिलो आएकोमा माफी चाहन्छु। सुटले गर्दा ढिलो हुन पुगें’, नायिका साम्राज्ञी राज्यलक्ष्मीदेवी शाहले समय नदिएपछि जय भोलेको नायिका फाइनल हुन पुगेकी उनले त्यस प्रसंगमा भनिन्– ‘मलाई अशोक शर्मा दाइले शुरुमै यो फिल्मका लागि तिमी, साम्राज्ञी र अर्को हिरोइनमध्ये एकजनालाई सोचेका छौं भन्नुभएको थियो। पछि म भएँ, मअगाडि कसको कुरा भएको थियो भन्ने विषय मेरो सरोकारको होइन।’

झापा र इलाममा सुटिङ हुने फिल्ममा खगेन्द्र र स्वस्तिमा साथमा सौगात मल्ल, सलोन बस्नेत, वसुन्धरा भुसाल, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, रामचन्द्र अधिकारी, शारदा गिरी, सुरेन्द्र केसी, किशोर भण्डारी र अशोक शर्मा प्रमुख भुमिकामा रहनेछन्। किरण शर्मा, कृति शर्मा र अंकित शर्माले १ करोड र ६० लाख रुपियाँ लागतमा निर्माण गर्ने फिल्ममा गीत डा. कृष्णहरि बराल, संगीत राजनराज शिवाकोटी र कल्याण सिंह, गायन राजनराज शिवाकोटी, राजेशपायल राई र मेलिना राई, नृत्य निर्देशन वसन्त श्रेष्ठ, द्वन्द्व रोशनविक्रम भट्टराई, छायांकन पुरुषोत्तम प्रधान, सम्पादन राजु ढुंगाना र प्रोडक्सन डिजाइन नगेन्द्र घिमिरेको रहनेछ।

प्रतिक्रिया दिनुहोस्