धन्य धुर्मुस–सुन्तली !



७० लाख ऋणको भारी बोकेर धुर्मुसले नमुना बस्ती हस्तान्तरण गरे। धुर्मुस–सुन्तली फाउन्डेसनले रौतहटको सन्तपुरमा एकीकृत नमुना दलित बस्ती हस्तान्तरण गरेको छ। कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले चन्द्रपुर नगरपालिका–८ स्थित सन्तपुरका बाढीपीडित दलित परिवारका लागि भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर निर्माण गरेर फेरि एकपटक चर्चाको शिखरमा पुगेका छन्। सो एकीकृत नमुना बस्ती मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तान्तरण गर्दै देशलाई समृद्ध बनाउने काम सरकारको भए पनि धुर्मुस–सुन्तलीले राज्यले गर्नुपर्ने काम गरेको भन्दै उक्त कार्य अतुलनीय रहेको बताइन्। हुन पनि सभ्य र न्यायपूर्ण समाजका लागि कलाकार दम्पतीको सक्रियतामा जुन काम भएको छ, त्यो प्रशंसायोग्य मात्र होइन उदाहरणीय पनि छ।

सुन्तली फाउन्डेसनले चौथों परियोजनाअन्तर्गत दलित बस्तीको निर्माण गरेको हो। बस्ती निर्माण गरेर धुर्मुस–सुन्तलीले दुःखको विम्ब बनेको १०७ वर्षीया रामकली हजारा पासवानको अनुहारमा अपूर्व खुशी थमाइदिए। कलाकार दम्पती आफैँ खटिएर सामुदायिक भवन, मन्दिर, क्लब र दृश्यावलोकन स्तम्भसहित बस्तीलाई विकलांगमैत्री, बालमैत्री र वातावरणमैत्री बनाएर बाढीको डुबानमा परेको बस्तीको रुप नै फेरिदिए।
नेपालमा समाज सेवा भन्ने आदर्श शब्दलाई समेत केही व्यक्तिले व्यापारको माध्यमजस्तो बनाइरहेको वर्तमान परिप्रेक्ष्यमा निःस्वार्थ सेवाको भावना लिएर धुर्मुस–सुन्तलीले जति समाज सेवा गरेर देखाएका छन्, त्यो आफैँमा अनुकरणीय साबित भएको छ। समाजसेवाको उच्च भावना, दृढ इच्छाशक्ति र निरन्तर लगनशीलताको त्रिवेणीले जस्तोसुकै असहज काम पनि सजिलै सम्पन्न हुन सक्छ भन्ने कुरा यो फाउन्डेसनले प्रमाणित गरेर देखाएको छ। करिब ५ करोड ९५ लाख रूपियाँको लागतमा बस्ती निर्माण गरेर धुर्मुस–सुन्तलीले असम्भव केही रहेनछ भन्ने पुष्टि गरेका छन्। धुर्मुस–सुन्तलीले सो बस्ती निर्माण सबै सहयोगी हातबाट सम्भव भएको जनाएका छन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित परिवारलाई अझैसम्म उचित व्यवस्थापन गर्न नसकेको वर्तमान अवस्थामा सो फाउन्डेसनको अनुकरणीय कार्य देखिएको छ।

समाजसेवीको बिल्ला भिरेर हिँड्नेहरूका लागि धुर्मुस–सुन्तलीले शिक्षा दिएको अनुभव गरिएको छ। नेपालका राजनीतिक दलहरू सत्ताको खेलमा फोहोरी र प्रदूषित राजनीतिमै लिप्त छन्। लोककल्याणकारी राज्यले जनताका आधारभूत आवश्यकता पूरा गर्न ध्यान दिन नसकिरहेको सन्दर्भमा औपचारिक शिक्षा कम पाएका र राजनीतिको मैदानमा पनि नउत्रेका हास्यकलाकारद्वयले आफ्नो नियमित कार्यक्रमबाट टाढा रहेर भूकम्पपीडित तथा बाढीपीडित क्षेत्रमा गएर आफैँ ढुंगा बोक्नेसम्मको काम गरेका छन्, जुन दृश्यले उनीहरूमा मानवीय
संवेदना कति जागृत भएको छ भन्ने सहजै बुझ्न सकिन्छ।

उनीहरूको प्रशंसनीय कार्य देखेर उदार र समाजसेवी भावना भएका व्यक्तिहरूले आवश्यक रकम जुटाउन सहयोग गरेका थिए। सहयोग जुटाएरै राज्यले गर्नुपर्ने काम धुर्मुस–सुन्तलीले गरेका छन्, यो समृद्ध नेपाल निर्माणका लागि उदाहरणीय बन्न पुगेको छ। प्राकृतिक विपत्तिमा परेका प्रभावितलाई पुनःस्थापित गर्न सरकारी निकाय निष्क्रिय बनेपछि धुर्मुस–सुन्तली फाउन्डेसनले समाजसेवाको मैदानमा उत्रिएर सरकारको आँखा खोल्ने काम गरेको अनुभव
गरिएको छ। नेपाल सरकारले छिट्टै आँखा खोलोस्।

– सम्राट साहिल, काठमाडौं

नमस्कारका फाइदाहरू
नमस्कार गरेर सानो भइन्छ भन्नु गलत छ। नमस्कार गर्ने कुरा कतिपयका लागि एकदमै सामान्य हुन सक्छ, तर यो निकै विशिष्ट कला र सभ्यताको नाम हो। यो हचुवाका भरमा विकसित भएको पद्धति होइन। मान्छेले बरू पैसा नहुँदा दुःखी हुन्न, घर, भोजन र वस्त्रमा पनि सम्झौता गर्न सक्छ, तर आत्मगौरव र स्वाभिमानमा कहिल्यै पनि सम्झौता गर्न सक्दैन। हरेक व्यक्ति सम्मानित भएर बाँच्न चाहन्छ। स–साना बालबालिकाले पनि ठूला मान्छेसित झगडा गर्दछन्, ढिपी गर्दछन्। यसको अर्थ त्यहाँ उनीहरूले अभिभावकसित आफ्नो आत्मसम्मानका लागि संघर्ष गरिरहेका हुन्छन्।

नमस्कार गर्ने व्यक्ति कहिल्यै पनि घमण्डी हुँदैन, कठोर हुँदैन र अल्छी हुँदैन। उसमा प्रेम, करुणा, भक्ति, कर्मशीलता र विनयजस्ता गुण खचाखच भरिएका हुन्छन्। प्रत्येक दिन एकजना नयाँ मान्छेलाई नमस्कार गर्ने बानीको विकास गर्न सक्ने हो भने एक वर्षमा हामीले ३६५ जना आफन्त र शुभेच्छुक कमाउन सक्छौँ। नमस्कार त्यस्तो मान्छेले मात्रै गर्न सक्छ, जो सरल हुन्छ, कोमल हुन्छ र लचक हुन्छ। सालको रुखजस्तै ठडिने स्वभाव भएको रूखो मान्छेले कहिल्यै पनि नमस्कार गर्न सक्दैन। उसको अहम् जम्मा भएर बसेको हुन्छ, अन्तष्करणमा। अहंको पत्रपत्र नखुलेसम्म नम्रता फुल्न गाह्रो हुन्छ।

सामान्यतया महिलामा हृदयघातको सम्भावना कम देखिन्छ। निकै थोरै महिलालाई मात्रै यो समस्या हुन्छ। उता हृदयघातको सम्भावना पुरुषहरूमा भने निकै धेरै हुन्छ। यसको सूक्ष्म निरीक्षण गर्दा के देखिन्छ भने महिलाहरू कुनै पनि कुरामा एकदम रिजिड भएर बस्दैनन्, अर्थात् उनीहरू परिस्थितिसितै समायोजित हुन सक्छन्। सारै दुःख भयो भने रुन्छन् र हृदयभित्रको मनोवैज्ञानिक दोष आँसुले धुन्छन्। तर, रुनु भनेको नामर्द हुनु हो, कमजोर हुनु हो भन्ने पुरुषको सोच हुन्छ। जसले गर्दा भित्रको मैलो पखालिन पाउँदैन। त्यो मैलोले अन्ततः हृदय प्रदेशको स्वाभाविक गतिलाई नै अवरोध पुर्याउन थाल्छ र हृदयघातको सम्भावना पनि बढेर जान्छ। पुरुषहरू प्रायः हलुका हुन चाहँदैनन्। म ठूलो मान्छे, ठूलो पदको व्यक्ति, सानासित बोलें भने मेरो इज्जत जान्छ, भन्ने विचार आजको धेरै पुरुषको सोच हो। यो रुखको सोच हो, तर महिलाहरूको सोच भने बाँसको जस्तै हुन्छ। महिलाहरू बाँसजस्तै परिस्थितिसित मिल्न सक्छन्, तर मूल छोड्दैनन्। पुरुष जति मर्द भए पनि बाहिर मात्रै हो, घरभित्र हरेक स्त्रीहरू बलिया हुन्छन्। कारण, उनीहरू परिस्थितिसितै बगेर परिस्थितिलाई नै आपूm अनुकूल बनाउन सक्छन्।

यस प्रकार, नमस्कार आस्तिकताको पनि संस्कार हो। आस्तिक भनेको सबैको अस्तित्वलाई स्वीकार गर्नुको नाम हो भने नास्तिक भनेको आपूmबाहेक कसैको पनि अस्तित्वलाई नस्वीकार्नुको नाम हो। यदि हामी छौँ भने अरू पनि छन्, यदि हामी सम्मानित हुने हो भने अरू पनि सम्मानित हुनुपर्दछ, यदि मलाई अरूले नमस्कार गर्नुपर्दछ भने मैले पनि उनीहरूलाई नमस्कार गर्नुपर्दछ भन्नु नै आस्तिकता हो। नमस्कारले यसरी हामीलाई आस्तिक हुनका लागि पनि प्रेरणा प्रदान गर्दछ। आफूलाई नैतिकवान् बनाउन सघाउँछ।
– अमृत ‘अन्जान’, काठमाडौं

प्रतिक्रिया दिनुहोस्