शिक्षित बेरोजगार र पदपूर्तिमा सृजित समस्या



शिक्षित बेरोजगारको संख्या बढिरहेको छ । नेपालमा अवसर नभएको भन्दै उनीहरू कामको खोजीमा विदेश पलायन भइरहेको अवस्था छ । यता भने नेपाली सेनाको अधिकृत क्याडेटका लागि लोक सेवा आयोगले लिएको परीक्षामा मागिए जति संख्या पनि उत्तीर्ण हुन नसक्नु चिन्ताको विषय बनेको छ । नेपाली सेनाले रिक्त रहेको अधिकृत क्याडेट भर्नाका लागि यस वर्ष दुईपटक भर्ना आह्वान गर्दा पनि माग गरेको संख्या पूर्ति गर्न नसकेको समाचार छ । दुवैपटक भर्नाका लागि ५ हजारभन्दा बढी परीक्षार्थी परीक्षामा सामेल भए पनि लिखित परीक्षामा जम्मा १८ जनाले मात्रै उत्तीर्ण गरेको सेनाको रेकर्डमा देखिनुले परीक्षार्थीको शैक्षिक दक्षतामा नै प्रश्नचिह्न खडा भएको छ । यसरी मागेको संख्याको एक चौथाइ पनि उत्तीर्ण नभएपछि नेपाली सेनाले समेत चिन्ता व्यक्त गर्न थालेको छ । पटक–पटक भर्ना आह्वान गर्दा पनि चाहेको संख्यामा अधिकृत क्याडेट ल्याउन नसकेपछि नेपाली सेनाले पनि यसको कारण खोज्नुपर्ने भएको छ ।

शैक्षिक बेरोजगार बढ्दै जाने तर रोजगारीका लागि दिइएको परीक्षामा उत्तीर्ण हुन नसक्ने अवस्था आउनु राम्रो संकेत होइन । यस विषयमा सम्बन्धित निकायहरू गम्भीर हुनुपर्ने देखिन्छ । यस स्थितिले नेपालको शिक्षा पद्धतिका बारेमा समेत सोच्नुपर्ने अवस्था सिर्जना गरेको छ । नेपाली सेनाको अधिकृत स्तरमा भर्ना हुन चाहनेको संख्या उल्लेख्य भए पनि परीक्षामा उत्तीर्ण हुनेको संख्या भने कम हुनु भनेको नेपालको शिक्षा प्रणाली नै कमजोर हो कि भन्ने देखिन्छ ।

विद्यालय एवं विश्वविद्यालयहरूको पाठ्यक्रम नेपाली सेनाले सञ्चालन गर्ने परीक्षामा मेल नखाएर वा लोक सेवा आयोगले लिएको परीक्षा नै कठिन भएर पनि यो समस्या सृजना भएको हुन सक्छ । आखिर समस्या कहाँनेर हो ? यसको पहिचान हुनु जरुरी छ । परीक्षामा सहभागीको संख्या उल्लेख्य रहँदारहँदै पनि उत्तीर्ण हुने अधिकृत क्याडेटको संख्या ज्यादै न्यून रहेकाले त्यसको कारण सबै पक्षबाट खोज्नुपर्ने बेला आएको छ । नेपाली सेनामा मात्रै नभएर यो समस्या अन्य क्षेत्रमा नपर्ला भन्न सकिँदैन । यदि अन्य निकायमा पनि यस्तै समस्या दोहोरियो भने चुनौती झनै थपिनेछ । एकातिर बढ्दो शिक्षित बेरोजार भने अर्कातिर मागअनुसार पदपूर्ति गर्न नसक्नु, दोहोरो समस्या । बेलैमा समस्या पहिचान गरी निकास खोज्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्