भारतमा एचआईभी सार्ने नक्कली डाक्टर



नयाँदिल्ली, एजेन्सी
भारतीय अधिकारीहरूले उत्तरी राज्य उत्तर प्रदेशमा एकजना नक्कली डाक्टरले कम्तीमा ३३ जनालाई प्रयोग भइसकेको सिरिन्जबाट एचआईभी संक्रमित गरेको दाबीमाथि छानविन गरिरहेका छन्। ती अयोग्य डाक्टरले रुघाखोकी र ज्वरो आएका बिरामीहरूलाई एउटै अर्थात् पुरानो सिरिन्ज प्रयोग गर्ने गरेको बताइएको छ।

संघीय स्वास्थ्य अधिकारीहरू सो घटना घटेको बताइएको स्थान युन्नाओ जिल्लामा गएर अनुसन्धान गर्न लागेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ। ती आशंकित व्यक्तिले एउटा सुई दिन १० रुपियाँ लिने गरेको बुझिएको छ।

उनको दूषित सिरिन्जका कारण कुल कति जनामा एचआईभी सरेको छ भन्ने आधिकारिक पुष्टि हुन सकेको छैन। उक्त अनुसन्धान टोलीका सदस्य डाक्टर तन्मय कक्कदले दि इन्डियन एक्सप्रेस अखबारलाई भनेका छन्– ‘मेडिकल रिसर्चले एचआईभी भाइरस खुला हावामा बाँच्न नसक्ने भएकाले संक्रमित सिरिन्जको कारण एचआईभी सर्ने सम्भावना शून्य दशमलव तीन प्रतिशत मात्र रहन्छ।’

स्वास्थ्य अधिकारीहरूले सरकारद्वारा आयोजित स्क्रिनिङ क्याम्पमा गरिएको परीक्षणबाट ५ सय ६६ जना व्यक्तिमध्ये ३३ जनालाई निश्चितरूपमा एचआईभी लागेको पुष्टि भएको छ।

सो क्याम्पमा ती बिरामीहरूले सोही डाक्टरकहाँ उपचार गराउँदा सुई लगाएको बयान दिएका छन्। सो राज्यका स्वास्थ्य मन्त्री सिद्धार्थनाथ सिंहले सो क्षेत्रमा थुप्रै ट्रक ड्राइभरहरू ओहरदोहोर गर्ने हुनाले एचआईभी संक्रमणको अन्य कारण पनि हुन सक्ने बताएका छन्।

अहिले लुकिछिपी बस्ने गरेको बताइएका ती डाक्टरको खोजीकार्यमा प्रहरी पनि परिचालित भएको बताइएको छ। स्वास्थ्य अधिकारीहरूले यसरी दूषित सिरिन्ज प्रयोग गरेर सुई दिने जोसुकैलाई कडा कारबाही गरिने बताएका छन्।

विगत एक दशकयता भारतमा एचआईभी लाग्नेको संख्यामा ५० प्रतिशतले कमी आएको संयुक्त राष्ट्र संघको प्रतिवेदनमा जनाइएको छ। इन्डियन मेडिकल एसोसियसनले करिब ४५ प्रतिशत डाक्टरहरू औपचारिक तालिम प्राप्त नरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्