बंगलादेशकी प्रथम महिला प्रधानमन्त्री खालिदा जियालाई जेल सजाय



ढाका, (एजेन्सी)
बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता खालिदा जियालाई भ्रष्टाचारको आरोपमा दोषी ठहर्याउँदै पाँच वर्षको जेल सजाय सुनाइएको छ।

७२ वर्षीया खालिदामाथि अनाथ बच्चाका लागि विश्वभरिबाट संकलन गरिएको करिब २ लाख ५० हजार डलर दुरूपयोग गरेको मामिलामा मुद्दा चलिरहेको थियो। उक्त मामिलामा अदालतले उनलाई दोषी ठहर्याएको हो।

बीडीन्युज २४ का अनुसार सेतो सारीमा अदालतमा उपस्थित भएकी खालिदालाई फैसलालगत्तै जेल पठाइएको थियो। जेल जाने समयमा खालिदाले रुँदै गरेका आफ्ना नातेदारलाई ‘चिन्ता नगर, बलियो बन्नु, म फर्केर आउँछु भनेको डेली स्टारले जनाएको छ।

राजधानी ढाकाको एक अदालतले फैसला सुनाउँदै जजले भने– ‘अदालतमा उनीविरुद्ध लागेको आरोप सही साबित भएको छ र उनको सामाजिक तथा शारीरिक स्थितिलाई ध्यानमा राखी उनलाई पाँच वर्षको सजाय सुनाइएको छ।’ फैसला सुनाउनुअगाडि अदालतबाहिर खालिदाका हजारौं समर्थक उपस्थित रहेका थिए। समर्थक भिडलाई तितर–बितर गर्न प्रहरीले अश्रु ग्यासको प्रयोग गरेका थिए।

उक्त भ्रष्टाचारको मामिलामा खालिदा जियाका छोरा तारिक रहमानलाई उनको अनुपस्थितिमा १० वर्षको जेल सजाय सुनाइएको थियो। रहमान हाल लन्डनमा बस्दै आइरहेका छन्।

चार सहयोगीलाई १० वर्षको जेल
जियाका ४ सहयोगीलाई पनि १० वर्षको जेल सजाय सुनाइएको छ। खालिदाले फैसलालाई लिएर प्रतिक्रिया दिँदै आफूमाथि लगाइएका आरोप राजनीतिबाट प्रेरित रहेको बताइन्।

वर्तमान प्रधानमन्त्री शेख हसिनाकी पुरानो प्रतिद्वन्द्वी खालिदा जियामाथि यसबाहेक पनि अन्य कयौं आरोपमा मुद्दा चलिरहेको छ। यो फैसलापछि अब खालिदा जियाले देशमा यसै वर्ष हुन गइरहेको संसदीय चुनावमा भाग लिन नपाउने भएकी छिन्।

जिया बंगलादेशकी प्रथम महिला प्रधानमन्त्री हुन्। उनी सन् १९९१ मा २० वर्षपछि भएको पहिलो लोकतान्त्रिक चुनावमा जित हासिल गर्दै सत्तामा पुगेकी थिइन्। त्यसपछि उनी सन् २००१ मा दोस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा पुगेकी थिइन्। जिया बंगलादेशका पूर्वराष्ट्रपति जियाउर रहमानकी पत्नी हुन्।

फैसलापूर्व पत्रकार सम्मेलन
अदालतको फैसला आउनु एक दिनअगाडि जियाले प्रेस सम्मेलन बोलाएकी थिइन्। प्रेस सम्मेलनमा उनले भनिन्– ‘म कुनै पनि स्थितिको सामना गर्न तयार छु। मलाई जेलको डर देखाएर धम्क्याउनु बेकार हो। म झुक्ने पक्षमा छैन।’

सरकारले आफूलाई राजनीति र चुनावबाट पर राख्नका लागि अदालतको प्रयोग गरेको जियाले बताइन्। तर ऊ एउटै मात्र पार्टीको सत्ता स्थापित गर्न सफल हुनेछ भन्ने आफूलाई नलागेको उनले बताइन्।

आफूले अराजकता नभएर शान्ति चाहेको र अझै पनि आफूलाई अवामी लिग (सत्तारूढ पार्टी)का नेताहरूलाई बुद्धि आउने उनले बताइन्। यही अपेक्षाका साथ आफूले सरकारसँग शान्तिको मार्गमा आउन र निष्पक्ष चुनाव गर्न अपिल गरेको उनले बताइन्।

सजाय सुनाएपछि बीएनपीका महासचिव मिर्जा फख्रु इस्लामले अदालतको फैसलालाई राजनीतिक बदलाको संज्ञा दिए। तर कानुन मन्त्री अनिसुल हकले अदालतको फैसलाले कोही पनि कानुनभन्दा माथि नभएको प्रमाणित गरेको बताए।

अदालतको फैसला आउनुअगाडि राजधानी ढाका र अन्य शहरमा सुरक्षाको कडा व्यवस्था गरिएको सञ्चार माध्यमहरूले जनाएका थिए। खालिदा जियाको गाडी अदालतको परिसरमा प्रवेश गरिरहँदा उनका समर्थक र सुरक्षा बलबीच झडप भएको थियो। अदालतबाट केही दूरीमा भएको उक्त झडपमा केही जवान घाइते भएका थिए। जियाको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले फैसला सुनाउनुअगाडि आफ्ना सयौं समर्थकलाई हिरासतमा लिएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्