सीआरएन नम्बर अनिवार्य



नेपाल समाचारपत्र
काठमाडौं
शेयर लगानीकर्ता ‘मेरो शेयर’ प्रविधि प्रयोग नगरे पनि सी–आस्वा सेवाबाट वञ्चित नहुने सीडीएस एन्ड क्लियरिङले जनाएको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै सीडीएससीले सी–आस्बामार्फत प्राथमिक शेयरमा आवेदन दिँदा मेरो शेयरको सेवा अनिवार्य लिनु नपर्ने जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै सीडीएससीका प्रमुख कार्यकरी अधिकृत देपप्रकाश गुप्ताले प्राथमिक शेयरका लागि लागि अनलाइन आवेदन मात्र एकमात्र विकल्प नभएको जनाकारी दिनुभयो। उहाँले सीआस्बा सेवामा थप शुल्क नलाग्ने पनि स्पष्ट पार्नुभयो।

सी–आस्बा सेवा आस्बा सेवा प्रदायक बैंक वित्तीय संस्थालाई मात्र अनिवार्य गरिएकाले लगानीकर्ताले पहिले जसरी नै आस्बा सेवा प्रदायक बैंक वित्तीय संस्थामा गएर आवेदन दिन सक्ने प्रवधान यथावत् रहेको गुप्ताको भनाइ थियो। उहाँले भन्नुभयो– ‘अब आफ्नो खाता रहेको बैंकबाट सी–आस्बा रजिस्ट्रेसन नम्बर (सीआरएन) नम्बर पाएका लगानीकर्ताले ‘मेरो शेयर’को सेवा लिएर शेयरमा आवेदन दिन सक्नेछन्। जसले यो प्रविधि प्रयोग गरेका छैनन्, उनीहरूले बैंक तथा वित्तिय संस्थामा गएर शेयरका लागि आवेदन दिन सक्नेछन्।’ सीआरएन नम्बर लिएकाले भने घरमा नै बसेर आवेदन दिन सक्ने उहाँको दाबी छ।

यसअर्थमा सी–आस्बा सेवा अनिवार्य भएपछि लगानीकर्ताले आफ्नो खाता भएको बैंकबाट सीआरएन नम्बर भने अनिवार्य लिनुपर्छ। सीआरएन नम्बर एकपटक लिएपछि सधैंका लागि काम लाग्ने गुप्ताले बताउनुभयो। यसका लागि लगानीकर्ताले आफ्नो खाता भएको बैंकलाई सम्पर्क गर्नुपर्नेछ। प्राथमिक शेयरमा आवेदन दिँदा सोही सीआरएन नम्बर लिएको बैंकबाट आवेदन दिन सक्ने व्यवस्था छ।

बैंकबाट सीआरएन नम्बर लिन लगानीकर्ताले कुनै शुल्क तिर्नुनपर्ने तर घरबाटै अनलाइन आवेदन दिन सीडीएससीले उपलब्ध गाराएको मेरो शेयरको सुविधा लिँदा भने वार्षिक ५० रुपियाँ शुल्क लाग्ने सीडीएससीले स्पष्ट पारेको छ।

सी–आस्बा सेवा अनिवार्य भएलगत्तै सबैभन्दा बढी लगानीकर्तालाई फाइदा पुग्ने गुप्ताको भनाइ छ। सी–आस्बा सेवा अनिवार्य भएलगत्तै आवेदन रद्द हुने समस्या हटेर जाने, सबै लगानीकर्ताले थोरै समयमा आवेदन दिन सक्ने र दोहोरो आवेदन बन्द हुने गुप्ताले बताउनुभयो। आवेदनको सबै तथ्यांक एकैपटक प्राप्त हुने भएकाले शेयर बाँडफाँट भोलि पल्टै गर्न सकिन्छ।

यसैबीच मेरो शेयरको सेवा सीआस्बामार्फत आवेदन दिएका लगानीकर्ताले आफ्नो हितग्राही खातामा रहेको शेयरको मौज्दात हेर्ने, आफ्नो शेयरको पोर्टफोलियो हेर्ने, शेयर धितो बन्धकीमा रहेको विवरण हेर्न तथा आफ्नो खातामा भएको कारोबारको विवरण हेर्न पाउने सीईओ गुप्ताले बताउनुभयो।

‘मेरो शेयर’को सेवा आईपीओ र एफपीओमा लागू भएको र अब हकप्रद शेयरमा पनि लागू गर्ने तयारीमा रहेको उहाँको भनाइ छ। हकप्रद शेयरका लागि आवेदन दिन आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण विवरण संकलन गर्न समय लागेका कारण तत्काल लागू हुन नसके पनि केही समयमा हुने उहाँको दाबी छ।

सीआरएन नम्बर लिएका आवेदनकर्ताको विवरण रुजु भएको हुने र निष्कासन तथा विक्री प्रबन्धकलाई सबै आवेदकको विवरण रुजु गरिरहन नपर्ने भएको छ। जसका कारण बढीमा एक सातामा शेयर बाँडफाँड हुनेछ। केही समयपछि भने आवेदन दिएको १⁄२ दिनमा नै शेयर बाँडफाँड हुने गुप्ताको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्