मतपरिणाम घोषणा अघि बढ्यो



सुनील महर्जन, काठमाडौं
निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फको मतपरिणाम घोषणा गर्ने प्रक्रिया अघि बढाएको छ। राष्ट्रियसभाको निर्वाचनको परिणाम आएसँगै आयोगले सो तयारी गरेको हो। आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले पाएको मतपरिणामअनुसार सिट संख्या तोकेर नाम बुझाउन आज शुक्रबार दलहरूलाई पत्र पठाउने भएको छ।

प्रतिनिधिसभाको निर्वाचन भएको साढे दुई महिना बितिसक्दा पनि संवैधानिक अड्चनका कारण समानुपातिकतर्फको मतपरिणाम घोषणाको प्रक्रिया अघि बढेको थिएन।

संविधानको धारा ८४ र प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी ऐनको दफा ६० अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट संख्या निर्धारण गर्नुभन्दा पहिला राष्ट्रिय सभा निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ।
समानुपातिकतर्फको मतपरिणाम नआएकाले संघीय संसद्ले पूर्णता पाएको थिएन। यसको बोझ नयाँ सरकार गठनमा परिरहेको थियो। राष्ट्रियसभा सदस्यको निर्वाचन बुधबार सम्पन्न भइसकेको छ। सातै प्रदेशबाट निर्वाचित भएका सदस्यहरूको नाम मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार आयोगको केन्द्रीय कार्यालयमा पठाइसकेको छ।

निर्वाचित सदस्यहरूको नाम प्रमाणिकरण गरेर सम्भवतः यही माघ २८ गते नै राष्ट्रपतिसमक्ष बुझाउने पनि डा. यादवले जानकारी दिनुभयो।

समानुपातिक निर्वाचन प्रणालीतर्फको १ सय १० सिटमा कुन दलले कति सिट प्राप्त गरे भन्ने बाँडफाँड गरी आवश्यक विवरणसहित ३ दिनको समय दिएर दलहरूलाई पत्राचार गर्ने प्रमुख निर्वाचन आयुक्त डा. यादवले जानकारी दिनुभयो।

दलहरूको सिफारिसअनुसार समावेशी समूह मिले र नमिलेको जाँच गरी नमिलेको भए मात्रै दलहरूलाई सच्याउन थप २ दिनको समय दिइने व्यवस्था मिलाइने पनि आयोगले जनाएको छ।

समानुपातिकतर्फ मतको न्यूनतम सीमा कटाएका दलहरूलाई समानुपातिक कोटाबाट छनोट हुने प्रतिनिधिसभा सदस्यहरूको नाम पठाउन आयोगले पत्र पठाउनेछ। पत्रको व्यहोरामा दलहरूले प्राप्त गरेको सिट संख्या, समावेशी समूहबाट हुने प्रतिनिधित्व, दलको संख्या र सिट तोकी बन्द सूचीमा रहेका उम्मेदवारमध्ये निर्वाचित हुने उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने उल्लेख गरिने बुझिएको छ।

नेपालको संविधानको धारा ८३ मा प्रतिनिधिसभा र राष्ट्रियसभा नामका दुई सदनसहितको एक संघीय व्यवस्थापिका हुने र त्यसलाई संघीय संसद् भनिने उल्लेख छ। संविधानमा संघीय संसदमा ३३ महिला पुग्नुपर्ने पर्ने प्रावधान छ।

यसअनुसार आयोगले प्रत्येक राष्ट्रिय दलबाट ३३ प्रतिशत महिला संघीय संसदमा पुग्ने गरी ३ दिनभित्र समानुपातिकतर्फको सूची बुझाउन व्यहोरासहित दलहरूलाई पत्र पठाउनेछ। राजनीतिक दलहरूले बन्दसूची बुझाएको नामावली क्रम संख्या ननाघिकन समावेशी कलस्टर मिलाएर नाम पठाउनुपर्नेछ। नाम पठाएको नमिलेमा आयोगले त्यसलाई सच्याउन थप २ दिनको समय दिनेछ।

आवश्यक तयारी र सबै प्रक्रिया पूरा गरेर आयोगले प्रतिनिधिसभा सदस्यको सबै निर्वाचन परिणाम फागुनको पहिलो हप्ताभित्रै राष्ट्रपतिसमक्ष पेश गर्ने बुझिएको छ। आयोगले समानुपातिकतर्फको अन्तिम मतपरिणाम राष्ट्रपतिलाई बुझाइसकेपछि सांसदको शपथ र नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ।

राष्ट्रिय सभाको मतपरिणाम
५६ सदस्यका लागि भएको राष्ट्रियसभाको निर्वाचनमा नेकपा (एमाले) बाट २७ जना विजयी भएका छन्। राष्ट्रियसभाको निर्वाचनमा प्रत्येक प्रदेशबाट ८ सदस्य निर्वाचन हुने प्रावधान रहेको छ।

आयोगका अनुसार सो पार्टीबाट महिला ११ , अन्य ९, दलित ५ र अपांगता वा अल्पसंख्यकबाट २ जना गरी कूल २७ जना विजयी भएका हुन्।

त्यसैगरी नेपाली कांग्रेसबाट महिला ६, अन्य ६ र अपांगता वा अल्पसंख्यकबाट १ गरी कूल ११ जना विजयी भएका छन्। त्यस्तै नेकपा (माओवादी) केन्द्रबाट महिला ३, अन्य ५, दलित १ र अपांगता र अल्पसंख्यकबाट ३ जना गरी १२ निर्वाचित भएका छन्। राष्ट्रिय जनता पार्टीबाट अन्य १, अल्पसंख्यक वा अपांगता भएकाबाट १ जना २ जना गरी निर्वाचित भएका छन्। संघीय समाजवादी फोरमबाट महिला १ र दलित १ गरी २ जना निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्