मर्यादाक्रममा को कहाँ?



गंगा बराल, काठमाडौं
सरकारले मर्यादाक्रमको टुंगो लगाउने अन्तिम कसरत गरेको छ। विशिष्ट व्यक्तिहरूको स्थान कहाँ रहने भनेर निष्कर्ष निकाल्ने काम गृह मन्त्रालयको हो।

गृह मन्त्रालयका प्रवक्ता नारायण शर्मा दुवाडीले मर्यादाक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको बताउनुभयो। ‘जिम्मेवारी पाएको शाखाले काम गरिसकेको छ’, प्रवक्ता दुवाडीले भन्नुभयो– ‘गृहले तयार पारेको मर्यादामा केही हेरफेर भएको पनि हुन सक्छ।’

गृह मन्त्रालयका अनुसार मर्यादाक्रमको ढाँचा तयार पारेर रायका लागि कानुन मन्त्रालय पठाइएको छ। कानुनमन्त्री यज्ञबहादुर थापाले गृहले तयार पारेको खाका कानुन मन्त्रालयमा आएको जनाउनुभयो। ‘मर्यादाक्रम छिट्टै टुंग्याउनेछौं, मन्त्रालयबाट पठाएपछि त्यसले पूर्णता पाउँछ।’ –मन्त्री थापाले भन्नुभयो। गृहको आन्तरिक व्यवस्था शाखा ‘क’ले मर्यादाक्रम निर्धारण गर्ने गर्दछ। गृहका एक अधिकारीले भने– ‘दुई⁄तीन दिनमा नै टुंगो लागेर मुद्रणमा छापिन्छ र राजपत्रमा सूचना प्रकाशित हुन्छ।’ पहिलो नम्बरमा राष्ट्रपति र अन्तिम २७ मा सहायक सेनानी रहेका छन्। गृह मन्त्रालयले माघ १८ गते मर्यादाक्रमलाई स्वीकृत गरेको जनाएको छ।
१. राष्ट्रपति, २. उपराष्ट्रपति, ३. प्रधानमन्त्री, ४. प्रधानन्यायाधीश, ५. प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, ६. पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, ७. प्रदेश प्रमुख, संघीय सरकारको मन्त्री, प्रतिनिधिसभाको विपक्षी दलको नेता, राष्ट्रियसभाको विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वप्रधानन्यायाधीश, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, प्रदेश सरकारका मुख्यमन्त्री, व्यवस्थापिका–संसद्का पूर्वसभामुख, संविधानसभाका पूर्वअध्यक्ष, प्रतिनिधिसभाका पूर्वसभामुख र राष्ट्रियसभाका पूर्वअध्यक्ष रहेका छन्।

८ मा राज्यमन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका विभिन्न समितिका सभापति तथा अध्यक्ष, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, सहायकमन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्य, पूर्वउपप्रधानमन्त्री, ९. संवैधानिक निकायका सदस्य तथा आयुक्त, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, संघीय संसद्का महासचिव, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, उच्च अदालतका मुख्य न्यायाधीश, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रज्ञा प्रतिष्ठानका कुलपति, विश्वविद्यालयका उपकुलपति, १०. प्रदेशसभाका सभामुख, प्रदेश सरकारका मन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य, ११. नेपाल सरकारका सचिव, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सर्वोच्च अदालतका रजिष्ट्रार, नायब महान्यायाधिवक्ता, उपमहालेखापरीक्षक, प्रदेश सरकारका प्रमुख सचिव, प्रज्ञा प्रतिष्ठानका उपकुलपति, विश्वविद्यालयका प्राध्यापक, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव, नेपाली राजदूत रहेका छन्।

१२ मा रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक (राष्ट्रिय अनुसन्धान विभाग), नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय संयोजक, १३. प्रदेशसभाका उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेशसभाका विभिन्न समितिका सभापति, उच्च अदालतका न्यायाधीश, प्रदेश लोकसेवा आयोगका अध्यक्ष, मुख्य न्यायाधिवक्ता, पूर्वमन्त्री, १४. प्रदेश सरकारका सहायकमन्त्री, प्रदेशसभा सदस्य, १५. महानगरपालिकाका प्रमुख, पूर्वराज्यमन्त्री, पूर्वसहायकमन्त्री, संविधानसभा–व्यवस्थापिका संसद्, प्रतिनिधिसभा⁄राष्ट्रियसभाका पूर्वसदस्य रहेका छन्।

१६ मा उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, १७. जिल्ला समन्वय समितिका प्रमुख, प्रदेश लोकसेवा आयोगका सदस्य, प्रदेश न्यायसेवा आयोगका सदस्य, १८. उपमहानगरपालिकाका प्रमुख, महानगरपालिकाका उपप्रमुख, नेपाल सरकारका सहसचिव, महानिर्देशक, उपमहानिर्देशक, राजपत्रांकित प्रथम श्रेणीका अधिकृत, प्रदेश सरकारका सचिव, जिल्ला न्यायाधीश, विश्वविद्यालयका सह–प्राध्यापक, १९. सहायक रथी, प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, प्रदेश सरकारका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत, स्थानीय तहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत रहेका छन्।

२० मा नगरपालिकाका प्रमुख, उपमहानगरपालिकाका उपप्रमुख, नेपालस्थित विदेशी कन्सुलर जनरल, नेपालस्थित अन्य अन्तरसरकारी संस्थाका प्रमुख २१. गाउँपालिकाका अध्यक्ष, नगरपालिकाका उपप्रमुख, महासेनानी, प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक

२२. नेपाल सरकारका उपसचिव, निर्देशक, नेपाल सरकारका राजपत्रांकित द्वितीय क्षेणीका अधिकृत, प्रमुख सेनानी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक, विश्वविद्यालयका उपप्राध्यापक, गाउँपालिकाका उपाध्यक्ष, २३ सेनानी, प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत, २४ सहसेनानी, नेपाल सरकारका शाखा अधिकृत, राजपत्रांकित तृतीय श्रेणीका अधिकृत, विश्वविद्यायका सहायक प्राध्यापक, २५. उपसेनानी, प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत, २६ प्रदेश सरकारका शाखा अधिकृत, स्थानीय तहका शाखा अधिकृत, प्रदेश सरकार तथा स्थानीय तहका राजपत्रांकित तृतीय श्रेणीका अधिकृत, २७ सहायक सेनानी रहेका छन्।

२०४७ सालको संविधानमा नवौं स्थानसम्म राजपरिवारलाई छुट्याइएको थियो। १०औं मा प्रधानमन्त्री, ११औंमा प्रधानन्यायाधीश, १२ मा सभामुख र १६औंमा मन्त्रीको मर्यादाक्रम निर्धारण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्