नेपालको नामिबियासँग रोमाञ्चक जित: बसन्त रेग्मीले जिताए, भोलि ओमनसँग खेल्ने



काठमाडाैं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूमा नामिबियासँग १ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

नेपाली बलरको धारिलो बलिङ र सुझबुझपूर्ण ब्याटिङका कारण विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले विजयी शुरुवात गरेका छ । नेपालले आफ्नो पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको हो । नामिबियाले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य नेपालले अन्तिम ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।

४९ औं ओभरमा नेपालले जोडेको १३ रन खेल जित्न महत्वपूर्ण रह्यो । यही ओभरमा वसन्त रेग्मीले नेपाली इनिङको एकमात्र छक्का प्रहार गरे । ५० औ ओभरको पहिलो बलमा २ रन लिएका वसन्तले दोश्रो बलमा चौका हान्दै स्कोर बराबरीमा पुर्याए । अर्को नामिबियाका बलर जान फ्राइलिङले वाइड बल फालेपछि नेपाल ४ बल बाँकी हुँदै १ विकेटले विजयी भयो । नेपालको जितमा नायक बनेका वसन्त रेग्मीले अविजित २४ रन बनाए । २४ बलको सामना गरेका उनले २ चौका र १ छक्का प्रहार गरे ।

सामान्य लक्ष्य भए पनि नेपाली ब्याट्स्म्यानले राम्रो ब्याटिङ गर्न नसक्दा नेपालले मात्र ५६ रन जोड्न ६ विकेट गुमाइसकेको थियो ।

४३ ओभरमा ८ विकेट गुमाएर नेपालले १ सय ११ रन बनाएको अवस्थामा पानी परेपछि खेल केहीबेर रोकिएको थियो । पानी लगातार परेर खेल हुन नसकेको भए डक वर्थ लुइस नियममा नेपाल १३ रनले पछि थियो ।

नेपाललाई जिताउन शरद भेषावकले सर्वाधिक २९ रन बनाए । ६७ बल खेलेका शरदले ३ चौकासहित २९ रन बनाए । कप्तान पारस खड्का १९, रोहितकुमार पौडेलले १७, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्रसिंह ऐरीले ६ र करण केसी ३ रन बनाए । आरिफ शेख र दिलिप नाथले भने रनको खातै खोल्न सकेनन् । दोश्रो ओभरमै दिलिप नाथ आउट भएपछि नेपाली टोली दवावमा परेको थियो ।

त्यसपछि कप्तान पारस र उप-कप्तान ज्ञानेन्द्रले दोश्रो विकेटका लागि ३२ रनको योगदान गरे । दोश्रो विकेटका रुपमा पारस १९ रनमा आउट भए । अर्को ओभरमा अलराउण्डर आरिफ शेख आउट भए ।  त्यस्तै चौथो ओभरमा नेपालको स्कोर ३७ रन हुँदा ज्ञानेन्द्र पनि आउट भएपछि नेपाली टोली झनै संकटमा परेको थियो । २० औ ओभरमा नेपालले ५० रन पुरा गर्नासाथ दिपेन्द्रसिंह ऐरी पनि आउट भए । २४ औ ओभरमा करण ब्यक्तिगत ६ रनमा पबेलियन फर्किदा नेपालको स्कोर ५६ रन थियो । त्यसपछि शरद र रोहितले सातौ विकेटका लागि ३७ रनको साझेदारी गरे ।

सातौ‌ं विकेटका रुपमा शरद आउट हुँदा नेपालको स्कोर ९३ रन पुगेको थियो । आठौं विकेटका रुपमा रोहित १७ रन बनाउँदै आउट भए । रोहितले सिनियर टोलीमा आज डेब्यू गरेका हुन् । त्यसपछि क्रिजमा अाएका सोमपाल कामी र वसन्त रेग्मीले नेपाललार्इ जिताए ।

यसअघि टस जितेर पहिले बलिङ रोजेको नेपालले नामिविया ३४ ओभर २ बलमा १ सय ३८ रनमा अलआउट गरेको थियो थियो । नामिवियालाई १ सय ३८ रनमा समेट्न नेपालका सन्दिप लामिछानेले ४ विकेट लिए । यस्तै सोमपाल कामीले ३ तथा कप्तान पारस खड्का, शरद भेषावकर र वसन्त रेग्मीले १/१ विकेट लिए ।

नेपालले दोस्रो खेल भोलि ओमानसँग खेल्नेछ । आइपिएल क्रिकेटमा छनोट भएपछिको पहिलो खेल खेलेका सन्दिपले ८ ओभर २ बल बलिङ गर्दै मात्र १८ रन दिएर ४ विकेट लिए । उनले २ मेडन ओभर फालेका थिए । पारसले ४ ओभर बलिङ गर्दै १६ रन दिएर १ विकेट लिए । उनले पनि २ मेडन ओभर बलिङ गरे ।

नेपालले भोलि ओमनसँग खेल्नेछ ।

प्रतियोगितामा आज युएई र क्यानडा विजयी भएका छन् । नेपाल, नामिविया, केन्या, ओमान, युएइ र क्यानडासहित ६ देश सहभागी डिभिजन टु को शीर्ष २ स्थानमा रहने टोलीले जिम्वाबेमा हुने विश्वकप छनौट खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्