राहदानी लिनेहरु २० वर्षमूनिका धेरै



प्रताप बानियाँ, म्याग्दी । लाहुरेको जिल्लाको नामले चिनिने र पछिल्लो समय रेमिट्यान्स धेरै भित्रिने जिल्लाको उपमा पाएको उच्च पहाडी जिल्ला म्याग्दीमा राहदानी लिनेमा अधिकांश २० वर्षमूनिका रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार राहदानी बनाउनेहरुमा कलेज पढ्ने उमेर समूहका विद्यार्थी, युवायुवती र युवापुस्ता धेरै रहेको पाइएको छ ।

अधिकांश युवायुवती, कलेज अध्ययन गर्ने विद्यार्थीहरु, युवापुस्ता लगायतले विदेश जान, भाषा सिक्न, अध्ययन गर्नका लागि, रोजगारको खोजीमा र विदेश भ्रमण गर्नलाई राहदानी लिने गरेको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बताउनुभयो । राहदानी लिनेहरुमध्ये २० वर्षभन्दा कम उमेरका करिब ७० प्रतिशतको हाराहारीमा रहेको उहाँले जानकारी दिनुभएको छ ।

म्याग्दी जिल्ला भूगोलका हिसाबले भौगोलिक विकटता, दुर्गम क्षेत्र रहेको र झन्झटिलो हुनेहुँदा नागरिकता बनाएर हात पर्नासाथ तुरुन्तै राहदानीका लागि फाराम भर्ने गरेको सहायक प्रजिअ आचार्यको भनाई छ ।

नागरिकताको साथसाथै राहदानी बनाउनेहरु धेरै रहेको उहाँले बताउनुभयो । रोजगारका लागि विदेश जानलाई, अध्ययन गर्न र विभिन्न किसिमका भाषाहरु सिक्नलाई पनि विदेश जाने भन्दै सानै उमेरमा नागरिकतासँगै राहदानी लिने गरिएको छ ।

चालु आर्थिक वर्ष २०७४÷७५ को पहिलो छ महिनाको अवधिमा २ हजार ८१ ओटा राहदानी सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । गत साउन महिनादेखि पुस मसान्तसम्म द्रुत सेवातर्फ ६ सय २९ र साधारणतर्फ एकहजार ३ सय ८९ ओटा राहदानी सिफारिस गरिएको सहायक प्रजिअ आचार्यले बताउनुभएको छ । यसैगरी ९ सय ६८ ओटा राहदानीहरु वितरण गरिएको कार्यालयको तथ्याङ्क रहेको छ ।


सामान्य राहदानीका लागि जिल्ला प्रशासन कार्यालयमा ५ हजार रुपैयाँ राजश्व बुझाउनुपर्ने हुन्छ भने द्रुत सेवाको राहदानी परराष्ट मन्त्रालयले जारी गर्ने हुँदा राजधानी पुग्नुपर्छ । द्रुत सेवाको राहदानीको राजश्व भने केन्द्रमा नै बुझाउनुपर्ने प्रावधान रहेको छ । पछिल्लो व्यवस्था अनुसार १५ हजार रुपैयाँ राजश्व तिरेको खण्डमा सोही दिन, १२ हजार तिरेमा दुई दिनमा र १० हजार रुपैयाँ तिरेपछि ३ दिन भित्रमा राहदानी लिन पाइन्छ ।


त्यस्तै नागरिकतातर्फ वंशजको आधारमा २ हजार ४ सय ५० ओटा नागरिकता वितरण गरिएको छ । तीमध्ये २ वटा वैवाहिक अङ्गिकृतको नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । चालु वर्षको छ महिनाको अवधिमा संस्था दर्तातर्फ १५ ओटा रहेका छन्भने १०४ ओटा संस्था नवीकरण भएका छन् । हातहतियारतर्फ १९ ओटा नवीकरण भएका छन् । त्यस्तै विभिन्न प्रकृतिका मुद्दा दर्ता ३१ ओटा भए पनि ५ ओटा फस्र्यौट भैसकेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्