स्थानीय तहमा शिक्षाका कर्मचारी कहिले ?



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीका ७ ओटा स्थानीय तहमा शिक्षाका कर्मचारी अझै खटाइएका छैनन् । अधिकृत स्तरको शिक्षाको कर्मचारी स्थानीय तहमा खटाउनुपर्ने व्यवस्था भएपनि अहिले शिक्षाका कर्मचारी खटाउन नसकिएको जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शंकरदत्त जोशीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो“स्थानीय तहमा शिक्षा मन्त्रालय आँफैले कर्मचारी खटाउने भएपनि बैतडीमा भने कर्मचारीको अभाव रहेको छ” दशरथचन्द नगरपालिका,पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिका बाहेकका स्थानीय तहमा शिक्षाको अधिकृत स्तरको कर्मचारी छैनन् । खटाएका कर्मचारीहरुले पनि जिल्ला शिक्षा कार्यालयबाटै काम गरिरहेका छन् ।

गाउँपालिकाका शिक्षाको अधिकृत स्तरको कर्मचारी नहुँदा शिक्षा निती नियम बनाउन र कार्यक्रम अघि बढाउन गाह्रो भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो“ शिक्षकहरुलाई तलब खुवाउन बाहेक शिक्षाको क्षेत्रमा अरु काम गर्न सकिएको छैन  । ”

जनप्रतिनिधिहरुले बनाएका नीतिहरुलाई कार्यान्यवन गर्नका लागि दक्ष कर्मचारी हुनुपर्ने भएपनि अहिले गाउँपालिकाले कर्मचारीको अभाव झेलीरहेको उहाँले भनाई रहेको छ । शिक्षाका कर्मचारी नहुँदा निजीश्रोतका विद्यालयको व्यवस्थापन लगायतका कुराहरुमा समस्या भएको पुरचौंडी नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले जानकारी दिनुभयो ।

जिल्लामा धेरै विद्यालय निजीश्रोतको भरमा सञ्चालन भईरहेका छन् । ती विद्यालयहरुको व्यवस्थापनमा समेत समस्या भएको छ ।
बैतडीमा ४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानिय तह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्