विवादमा रुमलिएको एन्फा चुनाव



फिरोज राजोपाध्याय, काठमाडौं

अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय समितिको आगामी चैत्र १४ गते साधारण सभामा हुने निर्वाचनको लागि एन्फासँग आवद्ध संघमा चुनावको सरगर्मी लागिरहेको छ। कतै चुनाव सम्पन्न भइसकेको छ भने कतै विवादले एन्फालाई समस्यामा पारिरहेको छ। साधारण सभामा एन्फाअन्तर्गत विभिन्न संघ गरी कुल ७७ संघबाट मतदान गर्न पाउनेछन्। यसमध्ये सबैभन्दा जिल्लाबाट ४५ फुटबल संघले मतदान गर्न पाउने प्रावधान रहेको छ। यसै गरी ए डिभिजनबाट १४ वटा क्लबले मतदान गर्नेछन्। जसमा तीन विभागीय टोली पनि रहेका छन्।

यसै गरी बी डिभिजनबाट ९ र सी डिभिजनबाट ५ क्लबले चुनावमा भाग लिन पाउनेछन्। यस्तै रेफ्री, प्रशिक्षक, खेलाडी र महिला फुटबल संघबाट एक–एक मत दिने पाउने प्रावधान छ। प्रमुख मतदाता भनेको जिल्ला फुटबल संघ नै हो। जसले जिल्ला फुटबल संघलाई खुसी पार्न सकियो उही नै एन्फा अध्यक्ष पदमा जित्ने धेरै सम्भावना हुन्छ। तर जिल्ला फुटबल संघको चुनाव पनि विवादमै अल्झेको छ।४५ जिल्ला फुटबल संघमध्ये तीन जिल्लामा विवाद रहेको छ। यी तीन जिल्ला हुन् नवलपरासी, मकवानपुर र भक्तपुर। त्यसो त मकवानपुर फुटबल संघमा माघ ५ गते चुनाव सम्पन्न गरिएको थियो। पहिले स्थगित गरिएको चुनाव एकाएक भएको थियो। यो चुनावलाई एन्फाले मान्यता नदिँदा त्यहाँ विवादले स्थान पाएको छ। एन्फाको दाबी के भने सो चुनाव एन्फाको रोहबरमा नभएको भन्दै चुनाव भएको भोलिपल्ट नै एक विज्ञप्ति जारी गरेर चुनावलाई मान्यता नदिएको हो।

यसले चुनाव भइसकेको स्थितिमा पनि चुनाव फेरि गर्नुपर्ने स्थिति निकालेको छ।

उता भक्तपुर जिल्ला फुटबल संघ र नवलपरासी जिल्ला फुटबल संघको मुद्दा अदालतमा चलिरहेको हुँदा यसबारे केही भन्न नसकिने एन्फाका प्रवक्ता सञ्जीव मिश्रले बताए। सबै जिल्लामा माघ ५ गतेभित्र चुनाव सकाउनुपर्ने थियो। भक्तपुर जिल्ला फुटबल संघको चुनाव हुन लाग्दा केही सहभागी नगराएका क्लबले भक्तपुर जिल्ला अदालतमा रिट दायर गरेपछि त्यहाँको चुनावमा प्रत्यक्ष असर परेको छ। यदि चुनाव हुन नसके के प्रावधान रहन्छ? भनेर नेपाल समाचारपत्रले सोध्दा मिश्रले बताए– ‘यदि चुनाव हुन नसकेमा संस्थाले छलफल गरेर मात्र निर्णय लिनेछ। चुनावमा भाग लिन पाउने हो कि होइन भनेर।’

दुई प्रत्यासी मैदानमा
चुनाव नजिकिँदै जाँदा अहिलेसम्म अहिलेसम्म दुई प्रत्यासीले मात्रै एन्फा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। एक पूर्वराष्ट्रिय फुटबलर तथा प्रशिक्षक कृष्ण थापा र अर्को एन्फाका पूर्व सीईओ इन्द्रमान तुलाधरले उम्मेद्वारी घोषणा गरेका छन्। संस्थागत पक्षबाट भने चुनावका लागि को उठाउने भन्नेमै छलफल गरिरहेको छ। हालका एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले चुनाव नलड्ने वा लड्ने भन्ने द्विविधामा छन्। यदि उनी नउठेमा पनि संस्थागत पक्षबाट मणि कुँवर उठ्ने भने पक्का छ। कुँवर हाल एन्फा उपाध्यक्ष पदमा छन्।

यसै गरी गत चुनावमा एन्फा अध्यक्ष पदमा पराजित भएका कर्मा छिरिङ शेर्पाले पनि चुनाव लड्न छलफल गरिरहेको बताए। उनले नेपाल समाचारपत्रलाई भने– ‘चुनाव लड्न अहिले नै तय भइसकेको छैन। केही दिनमा छलफल गरेर मात्रै चुनाव लड्ने घोषणा गर्नेछु। यसमा विचार धेरै गर्नुपर्ने भएको छ।’

रेफ्री चुनाव पनि विवादमा
अखिल नेपाल खेलाडी संघको चुनाव स्थगित भएपछि रेफ्री समितिको निर्वाचनलाई पनि विवादले घेरिएको छ। बुद्धिबहादुर गुरुङको अध्यक्षतामा मंगलबार रेफ्री समितिको निर्वाचन भएको थियो। तर बुधबार पाटन पुनरावेदनमा रिट परेपछि रेफ्रीको चुनाव पनि अन्योलमा परेको छ। पाटन उच्च अदालतले निर्वाचित पदाधिकारीहरूलाई सपथ नगराउन र पद बहाली नगराउन हिजो एन्फाको नाममा अन्तरिम आदेश जारी गर्यो। एन्फालाई विपक्षी बनाएर रेफ्री संघका अध्यक्ष सुरेन्द्र सिख्राकार, किरण गिरी र प्रदेश अमात्यले रिट दायर गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्