काठमाडौंमा हाउस पुलिङको तयारी



काठमाडौं, (नेस)
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं उपत्यकाका घनाबस्तीमा बहुस्वामित्वका र बहुतले घर बनाई संयुक्त आवास प्रणालीको विकास गर्ने योजना अघि सारेको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालको नेतृत्वमा बुधवार बसेको प्राधिकरण, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित प्रतिनिधिको बैठकले भूकम्पपछि काठमाडौं उपत्यकामा क्षतिग्रस्त घर पुनर्निर्माण हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै हाउस पुलिङ प्रणालीको माध्यबाट बस्ती विकास गर्ने निर्णय गरेको हो।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भूसालले भन्नुभयो–‘पछिल्लो भूकम्पले काठमाडौं उपत्यकामा १ लाख बढी घर भत्किए पनि करिब ८० प्रतिशत घरको पुनर्निर्माण शुरू नभएको सन्दर्भमा संयुक्त आवास सम्बन्धमा के गर्न सकिन्छ भन्नेबारे काठमाडौं र ललितपुर महानगरपालिका मेयरसहितको बैठकबाट हाउस पुलिङ प्रणालीमा जाने निर्णय गरिएको हो।’

बैठकले त्यससम्बन्धमा अध्ययन गर्न प्राधिकरणका सहसचिव राजुमान मानन्धरको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदलसमेत गठन गरेको छ।

कार्यदललाई काठमाडौं उपत्यकाको घना बस्तीमा संयुक्त आवास प्रणालीको अवधारणालाई कसरी विकास गर्न सकिन्छ भन्नेबारे अध्ययन गरी १५ दिनभित्रमा प्रतिवेदन पेस गर्न भनिएको छ। काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र शहरी विकास मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदललाई परामर्शदाताका रूपमा भवन विभागका पूर्वमहानिर्देशक सूर्यभक्त साङगाक्षेले सहयोग गर्नुहुनेछ।

कार्यदलले काठमाडौं उपत्यकाभित्र हाउस पुलिङको माध्यमबाट कुन कुन ठाउँमा नमुना बस्ती बसाल्न सकिन्छ, भन्नेबारे अध्ययन गरी प्रतिवेदन पेस गर्ने प्रमुख कार्यकारी अधिकृत भूसालले जानकारी दिनुभयो। बैठकमा काठमाडौं उपत्यकामा हाउस पुलिङ प्रणालीको विकास सम्बन्धमा परामर्शदाताका रूपमा आमन्त्रण गरिएका भवन विभागका पूर्वमहानिर्देशक सूर्यभक्त साङगाक्षे कार्यपत्रसमेत प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्