रसुवागढी र साञ्जेनको आईपी आउँदै, चिलिमेदेखि त्रिशूली हबलाई तीव्रता दिँदै छौंः घिसिङ



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले चिलिमे हवदेखि त्रिशूली हवसम्मको राष्ट्रिय प्रसारणलाइन निर्माणका लागि तीव्रता दिइएको बताउनुभयो। रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको साधारण शेयर निश्कासनसम्बन्धी पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो।

उक्त निर्माण सम्पन्न हुने बेलासम्ममा प्रसारणलाइन निर्माणको काम पनि सम्पन्न हुने पनि उहाँले बताउनुभयो। कम्पनी मोडलमा आयोजना निर्माण गर्दा प्रभावकारी नतिजा देखिएको भन्दै १२ सय मेगावाटको बूढीगण्डकी आयोजना पनि चिलिमे मोडलमा निर्माण गर्न सकिने बताउनुभयो। आयोजना निर्माणको विषयमा प्राधिकरणले आवश्यक अनुगमन गरिरहेको तथा सोहीअनुसार प्रगति समीक्षा गरिएको बताउनुभयो।

रसुवा जिल्लामा निर्माणाधीन १ सय ११ मेगावाट रसुवागढी र ५७ दशमलव ३ मेगावाट साञ्जेन जलविद्युत् आयोजनाको शेयर खुला गरिएको छ।

रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत् कम्पनीले माघ २८ गतेबाट आह्वानपत्र निस्कासन गर्ने तयारी गरेका छन्। दुईवटै कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई शेयर जारी गर्न लागिएको हो।

रसुवागढी जलविद्युत् आयोजनाको निर्माणका लागि चिलिमे जलविद्युत् कम्पनीले पहिलो चरणमा वित्तीय व्यवस्थापन गर्न कम्पनीको स्वपुँजीअन्तर्गत सर्वसाधारणलाई छुट्याइएको ४९ प्रतिशत शेयर निस्कासन गर्ने तयारी गरेको छ। जसमध्ये सञ्चय कोषका सञ्चयकर्ताका लागि १९ दशमलव ५ प्रतिशत शयेर जारी हुन लागेको हो।

त्यसैगरी विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारीका लागि ३ दशमलव ५ प्रतिशत शेयर जारी गरिनेछ। ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीले कम्पनीको १ प्रतिशत शेयरमा लगानी गर्न पाउनेछन।
रसुवागडी आयोजनाका लागि सञ्चयकोषका सञ्चयकर्ताका लागि छुट्याएको सय रुपियाँ अंकित दरका १ करोड ३३ लाख ४२ हजार १५ कित्ता शेयरका फागुन ११ गतेदखि ३० गतेसम्म आवदेन दिन सकिनेछ। नेपाल विद्युत प्रँधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र रसुवा जिल्लाका सम्बन्धित स्थानिय तहका कर्मचारीका लागि २३ लाख ९४ हजार ७ सय ३५ कित्ता शेयर छुट्याईएको छ। कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि ६ लाख ८४ हजार २ सय १० कित्ता शेयर रहेको छ। लगानीकर्ताले चैत ५ गतेदेखि चैत १३ गतेसम्म आवेदन दिनसम्ने कम्पनीले जनाएको छ।

कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० कित्ता र अधिकतम् ५०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। त्यस्तै कर्मचारी सञ्चयकोषका कर्मचारीले न्यूनतम ५० कित्ता र अधिकतम् २ हजार ५ सय कित्ता शेयर खरिद गर्न सक्नेछन्।

कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित रसुवा जिल्लाका स्थानियलाई छुट्याएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १ सय कित्ता र अन्तिम चरणमा सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशत अर्थात १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता शेयर निश्कासन गर्न लागिएको हो।

साञ्जेन जलविद्युत कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १९ दशमलव ५ प्रतिशत, कम्पनीका संस्थापक संस्थाका कर्मचारीका लागि ३ दशमलव ५ प्रतिशत तथा कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि १ प्रतिशत शेयर छुट्टयाइएको छ। कम्पनीले ४९ प्रतिशत साधारण शेयरमध्ये सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई छुट्याइएको २४ प्रतिशत अर्थात ८७ करोड ६० लाख रुपियाँ बराबरको शेयर पहिलो चरणमा निश्कासन गर्न लागिएको हो। दोस्रो चरणमा आयोजना प्रभावित रसुवाबासीलाई छुट्याएको १० प्रतिशत शेयर र अन्तिम चरणमा मुलुकभरका सर्वसाधारणका लागि छुट्याएको १५ प्रतिशत शेयर निश्कासन गरिने कम्पनीले जनाएको छ। कम्पनीको प्रतिशेयर मूल्य सय रुपियाँ रहेको छ।

सञ्चयकर्ताहरूका लागि छुट्याएको ७१ करोड १७ लाख ५० हजार रुपियाँ बराबरको शेयरका लागि सञ्चयकर्ताले फागुन ३० गतेसम्म आवेदन दिन सक्नेछन। यस्तो शेयर न्यूनतम ५० कित्ता अधिकतम् ३ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

अहिलेसम्म माथिल्लो साञ्जेनको ६८ प्रतिशत र तल्लो साञ्जेनको ५८ प्रतिशत काम सकिएको छ। माथिल्लो साञ्जेनबाट अप्रिल २०१९ बाट विद्युत् उत्पादनको लक्ष्य राखिएको छ। तल्लो सान्जेनको भने नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्नु पर्ने चिलिमे हव–त्रिशूली ३ बी २ सय २० केभी प्रसारणलाइनसँग समन्वय गरी काम अगाडि बढाउनुपर्ने रहेकाले उक्त प्रसारणलाइन निर्माण हुने अवधि जुन—जुलाई २०१९ सक्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ। माथिल्लो साञ्जेनबाट वार्षिक रूपमा ८ करोड २४ लाख र तल्लो साञ्जेनबाट २४ करोड १८ लाख युनिट विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ।

रसुवागढी जलविद्युत् कम्पनीले ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋण रकमबाट आयोजना निर्माणका लागि वित्तीय व्यवस्था गरेको छ। २०७६ साल पुस १५ गतेबाट व्यावसायिक विद्युत् उत्पादन लक्ष्य राखेको कम्पनीले आयोजनाको लागत विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) बमोजिम १३ अर्व ६८ करोड ४२ लाख रुपियाँ रहेको छ। कम्पनीले उक्त लागत बढ्नसक्ने जनाएको छ। निर्माणको ६० प्रतिशत काम सकेको आयोजनाबाट वार्षिक रूपमा ६१ करोड ३० लाख युनिट विद्युत् उत्पादन हुनेछ। प्राधिकरणले कम्पनीसँग हिउँदमा ८ रुपियाँ ४० पैसा र वर्षातमा ४ रुपियाँ ८० पैसा प्रतियुनिटका दरले विद्युत खरिद गर्ने सम्झौता गरेको छ।

प्रतिक्रिया दिनुहोस्