कान्छीको प्रवद्र्धनसँगै सम्मान, माझी बस्ती पूरा गर्न म्युजिकल नाइट



विदुर गिरी
रिलिजको संघारमा रहेको फिल्म कान्छीको निर्माण संस्था तथा नायिका एवं निर्मात्री श्वेता खड्का र उनका नायक तथा निर्माता पति स्व. श्रीकृष्ण श्रेष्ठको नाममा स्थापित श्वेता–श्री फाउन्डेसनले कान्छीको प्रवद्र्धन र फाउन्डेसनको सक्रियतामा निर्माणाधीन सिन्धुलाल्चोकको माझी बस्तीको सहयोगार्थ राजधानीमा मंगलबार राति भव्य कार्यक्रम आयोजना गर्यो।

दरबारमार्गस्थित होटल अन्नपूर्णको पुल साइटमा सम्पन्न कान्छी म्युजिकल नाइट २०१८ नाम दिइएको कार्यक्रममा कलाकर्मीलाई सम्मान गर्दै विभिन्न सांगीतिक तथा नृत्य प्रस्तुति प्रस्तुत गरिएको थियो। ढिलो गरी आरम्भ भएको कार्यक्रममा कान्छीका गीत भिडियोको कोरियोग्राफीसमेत गरेका नृत्य निर्देशक वसन्त श्रेष्ठलाई ५१ हजार रुपियाँसहित लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरियो। उनलाई ५ दशकदेखि रंगमञ्च तथा फिल्मको नृत्य विधामार्फत यस क्षेत्रको उन्नयनमा योगदान पुर्याबापत सम्मान गरिएको हो। फाउन्डेसनकी अध्यक्ष श्वेता खड्काले आगामी हरेक वर्ष एक फिल्मकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिने बताइन्।


सञ्चारकर्मी नरेश भट्टराई र मिस नेपाल २००५ सुगरिका केसीद्वारा सञ्चालित कार्यक्रममा हास्य अभिनेतृ वसुन्धरा भुसाल र रक्षा नेपालकी प्रमुख सामाजिक अभियान्ता मेनुका थापालाई पनि विशेष सम्मान गरियो। अभिनेतृ भुसाल सम्मान ग्रहण गर्दा भावुक हुँदै मञ्चमै रोइन्। सोही अवसरमा फिल्म सम्पादक भूपेन्द्र अधिकारी र माझी बस्ती निर्माणमा सक्रियरूपमा लागि परेका यज्ञराज कार्कीलाई प्रोत्साहन पुरस्कार दिइयो भने संगीतकार राजनराज शिवाकोटीलाई मोटरसाइकल प्रदान गरियो। संगीतकार शिवाकोटीले संगीत दिएको कान्छीको चरी चट्ट बोलको गीतले एक करोडभन्दा बढी भ्युज पाएकाले उनलाई उपहारस्वरूप मोटरसाइकल प्रदान गरिएको श्वेताले जानकारी दिइन्।

फिल्मका निर्देशक आकाश अधिकारीले स्वागत मन्तव्य व्यक्त गरिएको कार्यक्रममा नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठको सम्झनामा नायिका अशिष्मा नकर्मी, जेविका कार्की, नायक विनोद न्यौपाने र कोरियोग्राफर दीपेन्द्र तिमल्सिनाले श्रीकृष्णकै फिल्मका विभिन्न हिट गीतमा आफ्नो नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाए। अभिनेता तथा निर्देशक आकाश अधिकारी र नायिका मरिष्का पोखरेलले समेत नृत्य प्रस्तुत गरेर वाहवाही बटुले। श्वेताको नृत्य प्रस्तुति उस्तै आकर्षक रह्यो। हास्य व्यंग्य कलाकार जितु नेपाल र सन्दीप क्षत्रीले विभिन्न समसामयिक विषयमा व्यंग्य प्रहार गर्दै मनोरञ्जन दिलाए।

जितुले भ्युवर्स बढाउने लोभमा युट्युब च्यानलले हुँदै नभएको विषयलाई लिएर शीर्षक बनाई अनाधिकृतरूपमा भिडियो सामग्री अपलोड गर्ने कार्यप्रति तीखो व्यंग्य गरेर सबैको ताली पाए। उनले सानोतिनो भूमिकाका लागि सुटिङस्पटमै गएर कलाकार खोज्ने र फिल्ममा अस्वाभाविक देखिने पक्षप्रति पनि कटाक्ष गरे। उता सन्दीपले समीक्षाको नाममा नेपाली फिल्मका सानो कुरामा पनि कारण खोज्ने समीक्षकहरुले हिन्दी फिल्मका ठूल्ठूला कमजोरीप्रति पनि आँखा चिम्लने प्रवृत्तिप्रति कडा व्यंग्य गरे। स्टान्डअप कमेडीका लागि माहिर सन्दीपले विभिन्न कलाकारको क्यारिकेचरसमेत गरेर दर्शक हसाए। हास्य व्यंग्य कवि शैलेन्द्र सिम्खडाले पनि विभिन्न विषयमा व्यंग्य गर्दै कविता वाचन गरेर माहोल तताए।

उता चिसो मौसमलाई तताउँदै धर्मेन्द्र सेवन, युवराज चौलागाईं र माण्डवी त्रिपाठीले कान्छीको गीत गाए। कार्यक्रममा श्वेताले सहभागी सबैलाई धन्यवाद दिँदै माझी बस्ती निर्माणमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनप्रति कृतज्ञता प्रकट गरिन्। सो अवसरमा सिन्धुपालचोकमा निर्माणाधीन माझी बस्तीका बारे तयार पारिएको भिडियोसमेत सार्वजनिक गरिएको थियो भने कान्छीको नयाँ गीतको प्रिमियरसमेत गरिएको थियो। फिल्म कान्छी आगामी फागुन ४ गतेदेखि अल नेपाल रिलिज हुँदै छ। फिल्ममा श्वेता खड्का, दयाहाङ राई, आशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिया, प्रज्वल सुजल गिरी, विनोद न्यौपाने, भूमिका श्रेष्ठ, रमेश अधिकारी, जयनन्द लामा, नीर शाहलगायतले अभिनय गरेका छन् भने लेखन यम थापा, संगीत अर्जुन पोखरेल र राजनराज शिवाकोटी, नृत्य वसन्त श्रेष्ठ, द्वन्द्व हिमाल केसी, छायांकन पुरुषोत्तम प्रधान, सम्पादन बनिष शाह र भूपेन्द्र अधिकारीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्