ग्रामिणको जोखिम यात्रा



धनवीर दाहाल, रुकुम ।

सडक निमार्ण कार्य सुरु भएको आठ बर्ष बिति सक्दा पनि रुकुम पश्चिमको बैरागीठाँटी बजार देखी पेउघा नुवाकोट हुँदै सल्यान तथा सुर्खेत छिन्चु सम्म जोड्ने सडक निमार्ण पुरा नहुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।

बिशेष गरी सो सडकको रुकुम खण्ड अन्र्तगत पेउघा, नुवाकोट लगाएको बिकट बस्तीहरुमा कच्ची सडक बनाएको आठ बर्ष बिति सकेको छ । तर सो सडकको स्तर उन्नती नहुँदा अत्यन्तै जोखिम मोलेर गाडी सञ्चालन भइरहेका छन् । आफुहरुलाई दैनिक रुपमा जोखिम मोल्नुपर्ने बाध्यता भएको गाडी चालकहरुले बताएका छन् ।

सडक निमार्ण भएपछि खुसी भएका स्थानीयहरु यतिबेला सडक जिर्ण हुँदा कसैको ध्यान नगएको भन्दै उत्तिकै दुखी छन् । पटक पटक सरोकारवाला निकायलाई आग्रह गर्दा पनि सुनुवाई नभएको स्थानीयको गुनासो छ । “धेरै पटक आग्रह गरिसकिएको छ तर कसैको ध्यान गएको छैन ” स्थानीय पदम के.सीले भने “यो सडक बनाएको ८ बर्ष भइसकेको छ तर स्तरउन्नतीको त कुरै छाडौं बिग्रेको मर्मत सम्म हुन सकेको छैन ।”

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटबाट प्रदेश नं ६ को राजधानी सुर्खेत पुग्न मध्यपहाडी लोगमार्ग भन्दा १५ किलोमिटर चाँडो पुगिने भएकोले पनि यो सडकलाई स्थानीय, प्रदेश र संघिय सरकारले चासो लिएर स्तर उन्नती गर्नुपर्ने माग स्थानीयको छ । स्थानीय धनराज खड्काले ठेकेदारको लार्पवाही र सडक बिभागले कुनै वास्था नगर्दा समस्या उत्पन्न भएको बताए ।

अत्यन्तै नाजुक अवस्था रहेको यो सडकमा साना गाडीहरु तथा मोटरसाइकलहरु जोखिम मोलेर आवत जावत गरिरहेका छन् । सडक फराकिलो बनाइ तत्कालका लागी भएपनि ग्राबिल गर्न सके राहत हुने स्थानीय लालबहादुर खत्रीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्