डी मारियाको ह्याट्रिकमा पिएसजीको जीत



पेरीस,फ्रेन्च क्लब पिएसजी फ्रेन्च कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनमा स्थान बनाउन सफल भएको छ। सोचाउक्सलाई ४-१ ले पराजित गर्दे अन्तिम ८ मा स्थान बनाउने क्रममा पिएसजीमा डी मारियाले पहिलो ह्याट्रिक गरे। स्टार स्ट्राइकर नेयमार अनुपस्थित रहेको खेलमा डी मारियाले तीन र काभिनीले एक गोल गरेका थिए।

पिएसजीलाई सुरुवाती अग्रता दिलाउने क्रममा पहिलो मिनेटमै मारियाले गोल गरेका थिए। तर १३औँ मिनेटमै सोचाउक्सका मार्टिनाले खेल बराबरीमा ल्याए। त्यसपछि भने पिएसजी खेलमा पूर्ण रूपमा हावी भयो। पहिलो हाफमै अग्रता बनाउने क्रममा २७औँ मिनेटमा काभिनीले पिएसजीका लागि गोल गरेका थिए। त्यसपछि डी मारियाले दोस्रो हाफमा थप २ गोल गरे।

उनले ५८अौँ र ६२औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। अर्जेन्टिनी स्टार डी मारियाले सन् २०१० पछि पहिलो पटक ह्याट्रिक गर्न सफल भए। पोर्चुगिज क्लब बेनिफिकाका लागि लैसोइसविरुद्ध मारियाले पछिल्लो पटक ह्याट्रिक गरेका थिए।

प्रतिक्रिया दिनुहोस्