प्रदेश २ बाहेक सबै प्रदेशमा मतदान जारी (फोटोसहित)



प्रदेश–४ को पोखरास्थित लोकसेवा आयोेगको क्षेत्रीय निर्देशनालयमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा बुधबार भएको मतदानमा परिचयपत्र देखाउँदै लामबद्ध मतदाता । तस्वीर: नारायण न्यौपाने, पोखरा, रासस

नेपाल समाचारपत्र, काठमाडौँ ।

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बुधबार बिहान १० बजेबाट सात प्रदेशमध्ये ६ वटा प्रदेशमा शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान जारी छ ।

प्रदेश नम्बर २ मा भने आठै पदमा निर्विरोध निर्विचित भएकाले मतदान गर्नु नपर्ने निर्वाचन आयोगले जनाएको छ । कूल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भएकाले अब ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा छन् ।

बाँकी ६ वटा प्रदेशमा भने निर्वाचन जारी छ । प्रदेश नं १ को विराटनगर स्थित वीरेन्द्रसभा गृहमा, प्रदेश नं ३ को ललितपुर महानगरपालिका वडा नं ४को कार्यालयमा र प्रदेश नम्बर ४ को कास्की जिल्लाको पोखरास्थित लोकसेवा आयोगको पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भवन केन्द्रमा मतदान जारी रहेको विभिन्न प्रदेशका निर्वाचन कार्यालयहरुले जनाएका छन् ।

प्रदेश नम्बर ५ को दाङ जिल्लाको घोराहीस्थित कर्मचारी मिलन केन्द्र रहेको भवन, प्रदेश नम्बर ६ को सुर्खेत जिल्लाको वीरेन्द्रनगरपालिकास्थित जिल्ला निर्वाचन कार्यालय भवन परिसर र प्रदेश नम्बर ७ मा डोटी जिल्लाको दीपायल सिलगढी नगरपालिकाको पदम पब्लिक मुक्तिनारायण मावि भवन केन्द्रमा मतदान भैरहेको जानकारी प्राप्त भएको छ ।

प्रदेश–४ को पोखरास्थित लोकसेवा आयोेगको क्षेत्रीय निर्देशनालयमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा बुधबार मतदान गर्दै मतदाता ।

प्रतिक्रिया दिनुहोस्