पेट्रोलियम पाइपलाइन निर्माणले गति लियो



नेपाल समाचारपत्र
काठमाडौ
नेपाल–भारत पेट्रोलियम पाइपलाइन निर्माणको आयोजनाले गति लिएको छ। पाइपलाइनमा चाहिने पाइप नेपाल भित्रिन थालेपछि आयोजनाले गति लिने भएको हो। साथै वातावरण मन्त्रालयबाट क्षेत्र निर्धारण प्रतिवेदन र कार्यसूची स्वीकृत भइसकेकाले आयोजनाले गति लिएको हो।

मन्त्रालयको स्वीकृत गरेको कार्यसूचीका आधारमा प्रस्तावक आयल निगमले वातावरण प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार गरेर आपूर्ति मन्त्रालयमामार्फत वातावरण मन्त्रालयले फेरि अध्ययन गरेर निर्माणकार्य गर्नको लागि निगमलाई स्वीकृत प्रदान गर्नेछ। ‘अब हामीले पहिलो चरणको काम पूरा गरेर सम्बन्धित मन्त्रालयमा पत्र पठाएका छौं। अब जति छिटो दोस्रो (ईआईए) चरणको प्रतिवेदन आउँछ त्यति छिटो निगमले फिल्डमा गएर काम गर्न अनुमति पाउँछ,ु मन्त्रालयका उपसचिव ज्वाला श्रेष्ठले जानकारी दिनुभयो। गत शुक्रबारनै मन्त्रालयबाट सम्बन्धित निकायलाई पत्र गइसकेको श्रेष्ठले जानकारी दिनुभयो।

हाल करिब ११ मिटर लम्बाई रहेको १० दशमलव ७५ इन्च मोटाइको स्टिल एमएस पाइपलाइन भारतबाट आइरहेका छन्।पहिलो चरणमा ९ गाडी दोस्रो चरणमा १३ ट्रक पाइप आएको थियो। १ ट्रकमा ३३ देखि ३५ वटा पाइप आइरहेको छ। यसका अलवा निर्माणका लागि चँहिने मेसिनहरू क्रेनलगायतका निर्माण उपकरण ल्याएको रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन आयोजनाका मेकानिकल इन्जिनियर सरोजप्रसाद पौडेलले बताउनुभयो।

काम शुरू भएको आगामी ३६ महिनामा भारतको मोतीहारीबाट निगमको अमलेखगन्ज डिपोमा पुर्याएर जोडिने पौडेलले जानकारी दिनुभयो। वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन हेरेर र सो रुटमा पर्ने रुख कटानको अनुमति दिन समेत बँँकी रहेको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले अनुदानमा बनाइदिन लागेको रक्सौलदेखि अमलेखगन्जसम्मको पेट्रोलियम पाइपलाइन पूर्वाधार निर्माण सामग्री राख्नको लागि वीरगञ्जमा रहेको चिनी कारखानाको २ विगाहा जग्गा भाडामा लिएको छ। मासिक २ लाख ३० हजारमा भाडा तिर्ने गरी नेपाल आयल निगमले सो जग्गा भाडामा लिएको हो।

सन् २०१५ को अगस्ट २४ मा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच सो परियोजना निर्माण गर्ने सहमति भएको थियो। सहमतिमा काम शुरू भएको २ वर्षभित्र सक्ने सहमति भए पनि नाकाबन्दीले गर्दा आयोजनाले गति लिन सकेको थिएन भने आयोजनामा दुवै पक्षको नीतिगत निर्णयमा ढिलाइ हँुदा निर्माण प्रक्रिया ढिलो शुरू भएको थियो। निगमका अनुसार सन् २०१६ को जुलाईबाट मात्र आयोजनाको काम शुरू भएको थियो। पहिले रक्सौल–वीरगन्ज–अमलेखगन्ज पाइपलाइन परियोजना ३६ दशमलव २ किलोमिटरको दूरीमा रहेको भए पनि हाल भने मोतीहारीदेखि अमलेखगन्जसम्म विस्तार गर्ने लागिएको हो। भारतले पटनादेखि मोतीहारी साढे ३३ किलोमिटर र मोतीहारीदेखि रक्सौल ४३ किलोमिटर र रक्सोलदेखि अमलेखगन्ज ३६ दशमलव २ एकै चरणमा भारत सरकारले बनाउन लागेको हो।

पहिलो चरणको यो आयोजना निर्माणसँगै एलपीजी ग्यासको पाइपलाइन निर्माणमा समेत आईओसी सकरात्मक रहेको निगमले बताएको छ। निर्माण सम्पन्नपछि साथै पाइपलाइनलाई अलेखगन्जबाट विस्तार गरी चितवनसम्म पुर्याउने सरकारको लक्ष्य रहेको छ, यसमा भारत सरकारसमेत सकरात्मक रहेको छ।

कुल २ अर्ब ७५ करोड भारतीय रुपियाँमा परियोजना निर्माण हुन लागेको हो। त्यसमध्ये आईओसीको २ अर्ब र नेपालको ७५ करोड भारतीय रुपियाँ खर्च हुने छ। यसमध्ये ७५ प्रतिशत लगानी आईओसी र बाँकी २५ प्रतिशत लगानी नेपाल आयल निगमले गर्नेछ।

पाइपलाइनबाट प्रतिघण्टा १ सय ९१ किलोलिटर पेट्रोलियम रक्सौलबाट अमलेखगन्जसम्म आउने छ। त्रिभुवन राजपथको किनारैकिनार जमिनमुनि बिछ्याइने छ। पाइपलाइन निर्माण भएपछि ढुवानी खर्चमा निगमको वार्षिक प्रत्यक्ष र अप्रत्यक्ष रूपमा खर्च भइरहेको करिब १ अर्ब रुपियाँ बचत हुने निगमका निमित्त प्रमुख सुशील भट्टराईले जानकारी दिनुभयो।
नेपाल र भारत पेट्रोलियम पाइपलाइन निर्माणको स्थलगत अध्ययनका र अवलोकनको लागि भारतीय आयल कर्पोरेसन आईओसीको टोली गत मंसिरमा नेपाल आएको थियो । निर्माणाधीन पाइपलाइन निर्माणको प्रगति विवरणबारे अध्ययन गर्न आईओसीका निर्देशक अनिश अग्रवालसहितको टोली नेपाल आएको थियो।

प्रतिक्रिया दिनुहोस्