विश्वभर नै शेयर बजारमा गिरावट



नेपाल समाचारपत्र
काठमाडौं
विश्व बजारमा देखिएको शेयर गिरावटको प्रभाव एसियाली बजारमा पनि देखिएको छ। अधिकांश मुलुकका शेयर बजार परिसूचक र मूल्य घटेको अवस्थामा नेपाली बजार पनि सम्हालिन नसकेको हो।
मंगलबार अन्य मुलुकका शेयर बजारझैं ओरालो लाग्दा नेपाली बजार परिसूचक पनि ६ अंकले ओरालो लागेको छ।

मंगलबार पनि नेप्से १४ सयभन्दा तल झरेदेखि पटक–पटक बढ्ने प्रयासमा रहे पनि त्यो सम्भव हुन सकेन। यस दिन बजार १ हजार ४ सय दशमलव शून्य ५ अंकबाट शुरू भएर १ हजार ३ सय ९४ दशमलव शून्य ३ अंकका सीमित भएको हो।

नेप्से परिसूचकसँगै मंगलबार पनि कारोबार रकममा पनि गिरावट आएको छ। सोमबार बजारमा ३० करोड ७८ लाख रुपियाँको शेयर किनबेच भएकोमा मंगलबार १ सय ५२ कम्पनीका २४ करोड २० लाख ९६ हजार १४६ रुपियाँको शेयर किनबेच भएका छन्। यस दिन ‘कु वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव १७ प्रतिशतले घटेर २ सय ९४ दशमलव ६२ अंकमा पुगेको छ।

मंगलबार कारोबारमा आएका सबै समूहको परिसूचक ओरालो लागे। जसमा बीमा समूह सबैभन्दा बढी ३० दशमलव १८ अंकले घट्यो। त्यसैगरी जलविद्युत् समूह २२ दशमलव ५४ अंक, लघुवित्त समूह ७ दशमलव ५५ अंक तथा होटल समूह ६ दशमलव ८७ अंकले घट्दा ट्रेडिङ, बैंकिङ र विकास बैंक समूह पनि क्रमशः ५ दशमलव ८२ अंक, ५ दशमलव ७९ अंक र ३ दशमलव ९३ अंकले ओरालो लागे। यस दिन अन्य समूह शून्य दशमलव २८ अंक र वित्त समूह पनि शुन्य दशमलव १८ अंकले घट्यो।

यस दिन सानिमा माई हाइड्रोपावरको शेयर सर्वाधिक मूल्यमा किनबेच भए। कम्पनीको १ करोड ६३ लाख रुपियाँको शेयर खरिद बिक्री हुँदा सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ४ दशमलव ५८ प्रतिशत कमाए।

केही समयदेखि विश्व शेयर बजार सिथिल देखिएको थियो। तर, अघिल्लो दिनदेखि एकाएक आएको गिरावटका कारण नेप्से पनि कारोबार शुरू भएको केही समयदेखि नै ओरालो लाग्न थालेको जानकारहरुले जनाएका छन्।

सी–आस्बाबारे प्रष्ट हुन बोर्डको आग्रह
काठमाडौं, (नेस)
नेपाल धितोपत्र बोर्डले सी–आस्बा प्रणालीमार्फत् सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्ने आवेदन प्रक्रिया अनलाइनमार्फत् मात्र नभएको जनाएको छ। बोर्डले मंगलबार एक विज्ञप्ति जारी गर्दै सी–आस्बा प्रणाली लागू गर्न लगानीकर्ताले आवेदन दिँदा अनलाईनमार्फत् मात्र गर्नुपर्ने भनि भ्रम पर्न गएको बताएको छ।

यस विषयमा धितोपत्र बोर्डको ध्यानाकर्षण भएको बताउँदै बोर्डले सी–आस्बा प्रणालीमार्फत् आवेदन दिँदा ‘सी–आस्बा रजिस्ट्रेसन नम्बर लिई अनलाईन फर्म भर्नेु तथा ‘सी–आस्बा फारम भर्नेु दुईमध्ये एक प्रक्रियाबाट आवेदन दिन सक्ने व्यवस्था रहेको जनाएको छ।

बोर्डले सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा लगानीकर्ताको बैंक तथा वित्तीय संस्थामा रहेको खातामा आवेदन बराबरको रकम रोक्का राखी धितोपत्र बाँडफाँडपछि आवेदनको बाँडफाँडमा परेको धितोपत्र बराबरको रकम मात्र खाताबाट खिच्ने व्यवस्थाका लागि आस्बा प्रणाली लागू गरिएको जनाएको छ। त्यसैगरी कम्प्युटरकृत प्रणालीमार्फत् आवेदन दिने कार्यलाई थप व्यवस्थित तथा छिटो छरितो बनाउने उद्देश्यले आस्बा प्रणाली लागू गर्न सीडीएस एन्ड क्लियरिङले शेयर निष्काशनको सेवा सञ्चालन गरेको बोर्डएको दाबी छ। त्यसैका लागि बोर्डले धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रिकृत विद्युतीय सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिका, २०७४ स्वीकृत गरेको विज्ञप्तिमा उल्लेख छ।

यसअघि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाले आ–आफ्नो सफ्टवेयरबाट छुट्टा छुट्टैरूपमा आस्बामार्फत् आवेदन गर्ने व्यवस्था रहेको थियो। हाल सीडीएससीबाट एकीकृत सफ्टवेयर तयार गरी सी–आस्बा प्रणालीमार्फत् आवेदन दिने व्यवस्था गरिएको हो।

नयाँ व्यवस्था बमोजिम लगानीकर्ताले आवेदन गर्दा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट अनिवार्य रूपमा सी–आस्बा रजिस्ट्रेसन नम्बर लिनुपर्ने व्यवस्था छ। उक्त नम्बर लिई लगानीकर्ता स्वयम्ले अनलाईनमार्फत् आवेदन दिन सक्ने वा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा गएर सी–आस्बा फारम भरी आवेदन बरावरको रकम रोक्का राखी यस प्रणालीमार्फत्् आवेदन गर्न सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्