बैंकको सीसीडी रेसियो नाघ्ने अवस्थामा



नेपाल समाचारपत्र
काठमाडौं
बैंकहरुले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक अवधिको अपरिस्कृत वित्तीय विवरणअनुसार ६ वटा बैंकको कर्जा निक्षेप अनुपात (सीसीडी) रेसियो ७९ प्रतिशतभन्दा माथि देखिएको छ। यस हिसाबमा ती बैंक थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका हुन्।

राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरूले कुल निक्षेपको ८० प्रतिशतभन्दा बढी रकम ऋण प्रवाह गर्न मिल्दैन। यस अर्थमा बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार ती बैंक ठूलो मात्रको ऋण प्रवाह गर्न असक्षम देखिन्छ।

चालू आवको वित्तीय विवरणअनुसार ७९ प्रतिशतभन्दा बढी सीसीडी रेसियो हुने बैंकमा नेपाल बंगलादेश बैंक, बैंक अफ काठमाण्डू, माछापुच्छ्रे« बैंक, कृषि विकास बैंक, हिमालयन बैंक र मेगा बैंक नेपाल रहेका छन्। त्यस्तै अन्य ७ बैंकको सीसीडी रेसियो पनि ७८ प्रतिशतभन्दा उकालो रहेको छ। तीमध्ये सानिमा र स्ट्यान्डर्ड चार्टर्ड बैंकको पनि सीसीडी रेसियो ७९ प्रतिशतको नजिक छ।

यस अवधिमा सबैभन्दा धेरै सीसीडी रेसियो कृषि विकास बैंकको रहेको छ। बैंकले ७९ दशमलव ५९ प्रतिशत सीसीडी रेसियो पुर्याउँदा माछापुच्छ्रे« बैंकको पनि रेसियो ७९ दशमलव ५७ प्रतिशत रहेको छ। त्यसैगरी नेपाल मेगा बैंक नेपालको ७९ दशमलव ३७, हिमालयन बैंकको ७९ दशमलव ३, बैंक अफ काठमान्डुको ७९ दशमलव २४ र बंगलादेश बैंकको ७९ दशमलव १३ सीसीडी रेसियो रहेको छ।

यी बैंकलाई क्रमशः ७८ दशमलव ९९ र ७८ दशमलव ९७ प्रतिशत सीसीडी रेसियोसहित सानिमा र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पछ्याएका छन्।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधि समाप्तिसम्म सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा सीसीडी रेसियो कम रहेको छ। बैंकको सीसीडी रेसियो ६९ दशमलव १२ प्रतिशत रहँदा सरकारी स्वामित्वको अर्को बैंक नेपाल बैंकको सीसीडी रेसियो ६९ दशमलव ८४ प्रतिशत रहेको छ।

यसैबीच नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको ५ महिनाको आर्थिक तथा वित्तीय स्थितिमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी १६ दशमलव १ प्रतिशतले विस्तार भएको उललेख छ। यसअवधिमा निक्षेप परिचालन १२ दशमलव ७ प्रतिशतले बढेको छ। निक्षेपको तुलनामा बैंक तथा वित्तीय संस्थाले ३ दशमलव ४ प्रतिशत मात्र कर्जा लगानी बढाएको राष्ट्र बैंकले जनाएको छ। बैंकिङ प्रणालीमा तरलता कम भएपछि राष्ट्र बैंकले दुई साताको बीचमा ३० अर्ब रुपियाँ बजारमा पठाइ सकेको छ। तर, राष्ट्र बैंकले तरलता पठाए पनि लगानीयोग्य रकमको खभावमा बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन बढाइरहेका छन्।

बैंकहरुको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार यस अवधिमा सबैभन्दा धेरै निक्षेप संकलन गर्ने बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ। बैंकले यस अवधिमा १ खर्ब ४९ अर्ब रुपियाँ निक्षेप संकलन गर्दा नेपाल इन्भेस्टमेन्ट बैंकले पनि १ खर्ब २९ अर्ब रुपियाँ निक्षेप संकलन गरेको छ।

यसैगरी नबिल बैंक र एनआईसी एसिया बैंकले पनि क्रमशः १ खर्ब २१ अर्ब र १ खर्ब २० अर्ब रुपियाँ निक्षेप संकलन गरेका छन्। यसअवधिमा नेपाल इन्भेस्टमेन्ट बैंकले १ खर्ब १३ अर्ब रुपियाँ कर्जा प्रवाह गरेकामा राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एसिया बैंकको कर्जा प्रवाह पनि १ खर्ब १० अर्ब र १ खर्ब २ अर्ब रहेका छन्। नबिल बैंकको कर्जा प्रवाह पनि १ खर्ब रुपियाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्